• The Public Today
  • काेराेनाकाे नि:शुल्क परीक्षणमा पनि ‘कमाइ धन्दा’, नक्कली बिरामीलाई अस्पतालबाटै सिफारिश !


    • अजय अनुरागी

    जनकपुरधाम, मंसिर २४ गते । कुनै बेला कोरोना रोगको परीक्षण गराउनका लागि पीसीआर जाँच गराउने किट तथा अन्य सामग्रीहरूको व्यापक अभाव रहेको २ नम्बर प्रदेशमा अहिले भने त्यसको व्यापक दुरुपयोग भइरहेको छ ।

    कोरोना रोगको लक्षण देखिएका तथा संक्रमित बिरामी पहिचान भएको वा संक्रमित बिरामीको सम्पर्कमा आएका व्यक्तिलाई मात्र सरकारले पीसीआर परीक्षण निःशुल्क गर्ने भनेर भनेको भए पनि अहिले आएर जथाभावी परीक्षण हुँदा त्यसको दुरुपयोग बढेको छ । कोरोना परीक्षण निःशुल्क नै हुने गरेका कारण बिरामी नभएका मानिसहरूले परीक्षण गराएर दुरुपयोग गर्दै आएका छन् । 

    विदेश जानुपर्ने उद्देश्य भएका कारण सिरहा बिसनपुर १ का २३ वर्षीय कृष्ण यादवलाई कोरोना परीक्षण गरिदिनका लागि प्रादेशिक अस्पताल जनकपुरले मंसिर २२ गते प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई सिफारिश गरेको थियो ।

    सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ९ घर भएका २१ वर्षीय अभिषेक चौधरी कलुवारलाई कक्षामा उपस्थित हुन (क्लास एटेन्ड) पीसीआर नेगेटिभ रिपोर्ट आवश्यक रहेकाले पीसीआर परीक्षण गर्न सोही मितिमा सिफारिश गरेको थियो । 

    सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय जीतेन्द्रप्रकाश सिंहलाई कलेजमा क्लास  लिनुपर्ने भएकाले कोरोना परीक्षणका लागि सिफारिश गरिएको थियो ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का १२ वर्षीय सचिन साहलाई विद्यालयमा भर्ना गर्नका लागि पीसीआर परीक्षण गर्न भन्दै अस्पतालले मंसिर २२ गते सिफारिश गरेको थियो । 

    महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय सुशान्त कर्णलाई कलेज जानुपर्ने भएको भन्दै २२ गते सिफारिश गरिएको थियो । सिरहा ७ का २४ वर्षीय मोहम्मद फाहिम सिद्दीकी विद्यार्थी भएका कारण पीसीआर गर्न भन्दै अस्पतालले सिफारिश गरेको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ का २१ वर्षीय रामसुन्दर साहलाई वैदेशिक रोजगारीमा जानुपर्ने भएकाले पीसीआर सिफारिश गरेको थियो । 

    यी त केही उदाहरण मात्र हुन्, प्रादेशिक अस्पताल जनकपुरले बिरामीको प्रेस्किप्सनमा पीसीआर परीक्षणका लागि सिफारिश गर्ने गरेका छन् । ५० रुपैयाँको ओपीडी टीकट काट्न लगाएर प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकहरुले नक्कली बिरामीलाई समेत पीसीआर परीक्षण गर्न लगाएर सरकारी साधनको दुरुपयोग गर्दै आएका छन् । 

    अस्पताल स्रोतका अनुसार दशैंदेखि नै सोर्सको आधारमा, पावर तथा पहुँचका आधारमा लक्षण नै नदेखिएका मानिसहरूलाई कोरोना परीक्षणको शंका लागेको भनेर प्रेस्किप्सन पठाउने गरेको छ । शुरूमा पैरवीका आधारमा सिफारिश गर्ने अस्पतालका चिकित्सकले पछि गएर अनधिकृत रूपमा रकम कमाउने उद्देश्यले समेत सिफारिश गर्ने गरेको अस्पतालमा कार्यरत एक कर्मचारी बताउँछन् ।

    ‘२ नम्बर प्रदेशमा बाहिर कुनै पनि निजी प्रयोगशालामा कोरोनाको परीक्षण हुँदैन, काठमाडौंमा मात्र हुन्छ र त्यसका लागि २ हजार रुपैयाँ कम्तिमा पनि तिर्नुपर्ने हुन्छ ,’ ती कर्मचारीले लोकान्तरलाई भने, ‘तर, यहाँ चिकित्सकमार्फत सक्रिय भएका दलाललाई १ हजार रुपैयाँ दिँदा सजिलै सिफारिश गरिदिने गर्छन् ।’

    अहिले आएर सरकारी परीक्षण कमाइ खाने धन्दा नै बनेको उनले बताए । प्रदेश सरकारले कोरोना परीक्षण गर्नका लागि कुनै शुल्क भने लिने गरेको छैन । 

    प्रत्येक दिन २५ देखि ५० जनासम्म मानिसहरू आफूलाई कोरोना परीक्षणका लागि सिफारिश गरिदिनुस् भनेर नक्कली बिरामी बनेर आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आइसोलेसन संयोजक डा. जामुनप्रसाद सिंह पनि स्वीकार गर्छन् । 

    ‘आफूलाई सर्दी, खोकी भएको, स्वास फेर्न अलि–अलि समस्या भयो भनेर ओपीडीको टिकट काटेर आउने गर्छन्, पीसीआर जाँच गरिदिनुपर्‍यो भनेर भन्ने गर्छन्,’ सिंहले भने, ‘तपाईंलाई कोरोना छैन, सिजनल रुघाखोकी होला औषधि लेखिदिन्छु भनेर भनेपछि आफू विद्यार्थी भएको विदेश जानु पर्ने, कोही कामका लागि विदेश जानुपर्ने भनेर भन्ने गर्छन् ।’

    त्यसपछि आफूले विद्यार्थी, वैदेशिक रोजगारीमा जानुपर्नेहरूको मागअनुसार कोरोना परीक्षणका लागि सिफारिश गर्ने गरेको उनले स्वीकार गरे ।

    उक्त सिफारिश गर्दा अतिरिक्त रुपैयाँ लिने गरेको कुरा भने गलत रहेको उनले बताए ।

    यसरी सिफारिश गर्ने काम प्रादेशिक अस्पतालले मात्र गरेको छैन । जनकपुरका अधिकांश निजी अस्पतालदेखि क्लिनिकका चिकित्सकहरूले समेत कोभिड इन्भेस्टिगेसन भनेर सिफारिश पठाउने गरेको प्रयोगशालाकी स्याम्पल कलेक्सन इञ्चार्ज सुलेखा साहले बताइन् ।

    दशैंदेखि छठसम्म दिनमा १ सय स्याम्पलको विभिन्न ठाउँबाट सिफारिश आउने गरेकोमा त्यसपछि औसत ७० वटा स्याम्पलको सिफारिश आउने गरेको उनले बताइन् । 

    ५ देखि १० वटासम्म विभिन्न कार्यालय, संघ–संस्थाको सिफारिश हुन्छ भने १० वटासम्म थुनुवा बन्दीहरूको सिफारिश हुन्छ । बाँकी १० जना पहिले कोभिड पोजेटिभ भएका तथा उनीहरूको सम्पर्कमा आएका व्यक्ति हुन्छन् भने बाँकी ४० वटा स्याम्पलको सिफारिश सरकारी अस्पतालदेखि निजी अस्पतालको नै हुने गरेको उनले बताइन् । 

    यसरी नक्कली बिरामीको पनि कोरोना परीक्षण गरेर किटहरूको दुरुपयोग भइरहेको कुरा आफूलाई जानकारी नै नभएको सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीले बताए । 

    ‘कोरोना रोगको लक्षण देखिएमा मात्र सिफारिश गर्नुपर्छ भनेर हामीहरूले विभिन्न अस्पताललाई परिपत्र नै जारी गरेका छौं,’ उनले लोकान्तरसँग भने, ‘एउटा परीक्षणमा सरकारको २ हजार रुपैयाँभन्दा बढी खर्च भइरहेको छ, यस्तो अवस्थामा विद्यार्थीदेखि वैदेशिक रोजगारीमा जानेहरूकै लागि परीक्षण गरिरहेको छ भने त्यो दुरुपयोग हो ।’

    कोरोना संक्रमणको लक्षण देखिए बाहेकको परीक्षण नगर्न भन्दै अब कडाई गरिने उनले बताए । 

    भोलि आगामी दिनमा कोरोनाको लहर बढ्यो भने त्यति बेला धेरैभन्दा धेरै मानिसहरू संक्रमित हुन सक्ने तथा त्यस पछि परीक्षण गर्नका लागि किट नै नहुने अवस्था आउन नदिन पनि त्यस्तो नक्कली बिरामीको परीक्षण रोक्न आवश्यक रहेको उनले स्वीकार गरे ।  

    प्रदेश जनस्वास्थ्य प्रयोगशालाका स्टोरकिपर कर्मशीलप्रसाद गोपका अनुसार ७ हजार भीटीएम तथा २५०० आरएनए एक्स्ट्राक्सन स्टकमा मौज्दात छ । रियल टाइम पीसीआर रिएजेन्ट उपलब्ध रहेको उनले बताए । 

    ‘अहिले कुल ४ हजार मानिसहरूको कोरोना परीक्षण गर्न सक्ने सामानहरू मौज्दातमा छन्,’ गोपले भने, ‘बाँकी ५० लाख रुपैयाँका सामानहरू खरिद गर्नका लागि प्रक्रिया अघि बढिसकेको छ ।’

    उक्त प्रयोगशालामा मंसिर १७ गतेसम्म कुल २८ हजार ५८७ वटा स्याम्पलको परीक्षण भएकोमा ५ हजार ६३० वटा पोजेटिभ तथा २२ हजार ९५७ वटा नेगेटिभ रिपोर्ट आएको छ । 

    २ नम्बर प्रदेशमा मंसिर २२ गतेसम्म १५८ पुरुष र ३७ महिला गरी कुल १९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

    प्रदेश सरकार मातहत रहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले उपलब्ध गराएको तथ्यांकअनुसार सप्तरीमा ३७, सिरहामा २४, धनुषामा २१, महोत्तरीमा १८, सर्लाहीमा १३, रौतहटमा १०, बारामा २० र पर्सामा ५१ जनाको मृत्यु भएको छ । हालसम्म प्रदेशमा कुल १ लाख ४० हजार ६३७ जनाको पीसीआर परीक्षण गरिएकोमा कुल १६ हजार ८४३ जनामा कोरोना पोजेटिभ पाइएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस