• The Public Today
  • गाउँपालिकामा अस्पताल बनाउन स्थानीयले गरे जग्गादान


    डोटी, मंसिर २४ गते । डोटीको केआइसिंह गाउँपालिकामा १० शय्याको सामुदायिक अस्पताल बनाउन स्थानीयले निःशुल्क जग्गादान गरेका छन् ।

    गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गाउँपालिकाको नाममा सो जग्गा कागजी प्रक्रिया पूरा गरी मालपोत कार्यालयबाट अस्पतालका नाममा नामसारी गरिएको बताए ।

    गाउँपालिकामा अस्पताल निर्माण गर्न स्थानीयले ९ रोपनी जग्गादान गरेका छन् ।

    अस्पताल निर्माणका लागि स्व. गौरीलाल पाठकका छोरा विश्वनाथ पाठकले ३ रोपनी, स्व. खडकनाथ पाठकका छोरा मनिराम पाठक, रघुनाथ पाठक, प्रेमप्रसाद पाठक र श्यामप्रसाद पाठकले ३ रोपनी र स्व. कमलदेव पाठकका छोरा डिल्लीराज पाठकले पनि ३ रोपनी गरी दान गरेका हुन् ।

    अस्पताल निर्माण गरी यहाँका नागरिकलाई सेवा दिन बुवाको स्मृतिमा आफूहरूले जग्गादान गरेका गौरीलालका छोरा विश्वनाथले बताए ।

    उनले भने, ‘हामीले दान गरेको जग्गामा अस्पताल बने यहाँका गरीबले सेवा पाउने छन्, हामी खुशी भएर जग्गादान गरेका छौं ।’


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस