भारतीय क्रिकेटर पार्थिव पटेलद्वारा सन्यास घोषणा

एजेन्सी : भारतका विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले खेलाडी जीवनबाट सन्यास लिएका छन् । सामाजिक सञ्जालमार्फत उनले सन्यास घोषणा गरेका हुन् । गुजरातका यी खेलाडी विगत १८ वर्ष अघिदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका थिए । यसक्रममा उनले भारतका लागि २५ टेस्ट, ३८ एकदिवसीय र दुई टी–२० इन्टरनेशनलमा प्रतिनिधित्व गरे ।

टेस्ट क्रिकेटमा उनले ३१ दशमलव १३ को औसतमा ९ सय ३४ रन स्कोर गरेका छन् । गुजरातका लागि १ सय ९४ फस्र्ट क्लास प्रतिस्पर्धा खेल्ने पार्थिवको घरेलु क्रिकेट रेकर्ड अझै जबर्जस्त छ । यस वर्षको सुरुवातमा रणजी ट्रफीमा गोवाविरुद्ध उनले २७ औं फस्र्ट क्लास शतक प्रहार गरेका थिए, उनले ११ हजारभन्दा धेरै रन फस्र्ट क्लास क्रिकेटमा प्रहार गरेका छन् । 

२००२ मा पहिलोपटक भारतीय टिमका लागि चुनिएका पार्थिव पटेलले १७ वर्ष १ सय ५३ दिनको उमेरमै अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।  तर पहिले दिनेश कार्तिक र त्यसपछि महेन्द्र सिंह धोनीको प्रवेशले उनले अन्तर्राष्ट्रिय क्रिकेटमा नियमित अवसर पाएनन् । प्राय खेलाडीहरुले रणजी ट्रफी हुँदै भारतीय टिममा बाटो बनाउँछन् । तर पटेलले टेस्ट डेब्यु गरेको दुई वर्ष दुई महिनापछि २००४ मा आफ्नो पहिलो फस्र्ट क्लास क्रिकेट खेलेका थिए । 

दक्षिण अफ्रिकाविरुद्ध २०१८ मा आफ्नो अन्तिम टेस्ट म्याच खेलेका पटेलले कहिल्यै टिममा आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । भर्खरै मात्र यसबारे जवाफ दिदैं पटेलले भनेका छन्, ‘म आफुलाई धोनी युुगमा खेलेकाले अभागी ठान्दिंन । मसँग उनीभन्दा पहिले प्रदर्शन गर्ने मौका थियो । धोनी यसकारण टिममा आए किनकी मैले केही सिरिजमा राम्रो खेल्न सकिन र मलाई टिमबाट हटाइयो । धोनीले अवसरको सदुुपयोग गरे, जसमा म असफल रहें ।’

भारतीय टिममा पार्थिवले नियमित अवसर नपाए पनि इन्डियन प्रिमियर लिगमा उनको एक अलग पहिचान छ । ३५ वर्षको उमेरसम्म आइपुुग्दा उनले ६ वटा अलग टोलीबाट खेलिसकेका छन् । २००८ देखि अहिलेसम्म आइपुुग्दा चेन्नई सुुपरकिंग्स, डेक्कन चार्जर्स, कोच्ची टस्कर्स केरल, मुुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्सबाट उनले खेलिसकेका छन् । २०१९ मा आरसिबीका उपकप्तान रहेका यी खेलाडीलाई यसपटक कुनै पनि खेल खेल्ने मौका मिलेन । २०१५ मा मुम्बई इन्डियन्सका लागि खेल्दै उनले ३ सय ३९ रन बनाए, त्यस वर्ष उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा चौथो नम्बरमा थिए ।