• The Public Today
  • साझा र विवेकशील पार्टीबीच दोस्रोपटक एकता


    काठमाडौं, मंसिर २४ गते । साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार औपचारिक रुपमा पुनः एकता घोषणा भएको छ।

    दुई वर्षअघि फुटेका दुबै दलबीच बुधबार पुनः एकता घोषणा भएको हो। एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्।

    एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ। पार्टीको पहिलो वरियतामा अध्यक्ष मिश्र र दोस्रो वरियतामा संयोजकमा पाण्डे रहने छन्।

    एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गर्दै आएको तराजु नै राख्ने सहमति भएको छ। नयाँ पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीका ६५–६५ जना गरी १३० जना सदस्य रहने छन्।

    २०७४ साउन ११ गते पहिलोपल्ट साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो। सोही वर्ष भएको आम निर्वाचनमा उनीहरुले विवेकशील–साझा पार्टीका नामबाट चुनाव लडेका थिए।

    तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो।

    यसबीच विवेकशीलको नेतृत्वमा पाण्डे निर्वाचित भएपछि यी दुई दलबीच पुनः एकिकरणको प्रक्रिया सुरु भएको थियो।

    गत असारयता दुबै पार्टीले एकताका लागि कार्यदल गठन गरेका थिए। सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा अहिले पार्टीबीच एकता घोषणा भएको हो।

    कार्यदलले दुई संयोजक रहने गरि प्रतिवेदन दिए पनि त्यसको चर्को विरोधपश्चात एक अध्यक्ष र एक संयोजक रहने गरी पार्टी एक भएका हुन।

    दुबैमा असन्तुष्टि
    पुनः एकतामा जाने विषयमा भने विवेकशील पार्टीभित्र असहमति रहदै आएको थियो। सोही असमतिकाबीच विवेकशीलले बहुमतका आधारमा एकतामा जाने निर्णय गरेको हो।

    असमति राख्नेहरुमा विवेकशिलका पूर्व संयोजक उज्ज्वल थापा, प्रभावशाली नेता गोविन्द नारायण, उपाध्यक्ष अजिता राईलगायत थिए।

    उनीहरुले विवेकशीललाई नै अघि बढाउनुपर्ने माग राखेका थिए। तर बहुमतले साझासँग एकता गर्ने निर्णय गरेपछि उनीहरु एकता प्रक्रियामा सहभागी भएनन।

    यता साझा पार्टीका तत्कालिन प्रवक्ता डा. सुर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले पनि विवेकशीलसँग एकता अघि बढाउने भएपछि साझाबाट राजीनामा दिएका छन।

    उनीहरुले पार्टीका सबै संरचना भंग गर्दै पुन: शून्यबाट अघि बढ्नुपर्ने माग राखेका थिए।

    तर साझाका बहुमत सदस्यले भने अहिलेको संरचना कायम राख्दै पार्टी एकता गर्दै जानुपर्नेमा मत जाहेर गरेपछि असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी छोडेका हुन।-नेपालखबर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस