• The Public Today
  • सर्लाही : सालको गोलियासहित दुई तस्कर पक्राउ


    द पब्लिक टुडे
    सर्लाही, मंसिर २६ गते ।
    सर्लाहीको बेग्लाबेग्लै स्थानबाट तस्करीको काठसहित दुई जनालाई पक्राउ परेको छ ।

    सागरनाथ वन विकास परियोजनाबाट खटिएको गस्ती टोलीले बिहीबार २७ दशमलव ७० क्यूविक फिट बराबरको ८ वटा सालको गोलियासहित दुई जना तस्करलाई पक्राउ गर्न सफल भएको हो ।

    वनका कर्मचारीहरुको गस्ती टोलीले सागरनाथ क्षेत्रबाट सालको काँचो गोलिया तस्करी गरिरहेका दुईजनालाई पक्राउ गरेका सागरनाथ वन विकास परियोजनाबाट सहायक वन अधिकृत शिवेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

    अनुसन्धान जारी रहेकाले तस्करको नाम भने खुलाइएको छैन । उनीहरूलाई लालबन्दीस्थित डिभिजन वन कार्यालयको हिरासतमा ल्याएर राखिएको छ । वन गस्ती टोलीले ५ थान साइकल, १ थान आरा र १ थान बन्चरोसमेत बरामद गरेको छ । तस्करीमा संलग्न केही व्‍यक्तसहरू भने भागेका छन् ।

    यस्तै, डिभिजन वन कार्यालय र सव-डिभिजन वन कार्यालय जानकीनगरबाट खटिएको वन कर्मचारीहरूको संयुक्त गस्ती टोलीले हरिवन नगरपालिकाको घुर्कौली क्षेत्रबाट ४६ क्यूविक फिट बराबरको ८ थान नै सालको गोलिया बरामद गरेको छ ।

    बुधबार राति १० बजेतिर सुराकी पाएर गएको वन गस्ती टोलीले घेरा हालेर पक्राउ गर्न खोजे पनि तस्कर काठ र साइकल छाडेर भाग्न सफल भएका छन् । काठ ओसार्न प्रयोग भएको ५ थान साइकल बरामद भएको छ ।

    सर्लाहीमा सागरनाथ वन विकास परियोजनाअन्तर्गत पर्ने सागरनाथ, जानकीनगर, घुर्कौली, बागमती लगायतका क्षेत्र तथा घारीबथान, लालबन्दी लगायतका स्थानमा रहेका वन क्षेत्रबाट काठ तस्करी हुने गरेको छ । अहिलेको जस्तो हुस्सु लाग्ने मौसममा काठ तस्करी अझ बढ्ने गरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस