• The Public Today
  • धनुषामा सर्पदंश उपचार केन्द्र सञ्चालन


    द पब्लिक टुडे
    जनकपुरधाम, मंसिर २६ गते
    । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा २२ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।

    उपचार केन्द्रको एक कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले यो प्रदेश विषालु सर्पको बिगबिगी भएको प्रदेश भएकाले प्रदेशभित्रै एन्टिभेनम खोपको उत्पादनका लागि आफूहरु अघि बढिरहेको बताए ।

    सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै सर्पको डसाइबाट यस क्षेत्रका मानिसले अकालमै ज्यान गुमाउनु नपर्ने उनको भनाइ थियो ।

    क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले उपचार केन्द्रलाई हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए । ‘उपचार केन्द्र सञ्चालनका लागि यस पटक रु १५ लाख उपलब्ध गराएको छु,’ उनले भने, ‘प्रत्येक वर्ष रु १० लाखका दरले विनियोजन गर्दै जानेछु ।’ उनले सर्पदंशमा परेका बिरामीको निःशुल्क उपचार गर्ने बताए ।

    यूएनडीपीको १ करोड २० लाख लगानीमा निर्माण भएको भवनमा नगरपालिकाले १ करोड उपकरण, शय्या र व्यवस्थापनमा खर्च गरेको छ ।”

    सर्पदंशको उपचार भने नेपाली सेनाको श्रीनाथ गणले खटाएको चिकित्सकसहित र प्राविधिक टोलीले गर्ने नगरपालिकाले जनाएको छ ।

    उपचार केन्द्रमा सर्पले डसेका बिरामीहरुको निःशुल्क उपचार हुने केन्द्रले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस