• The Public Today
  • सानीभेरीमा पुल


    जाजरकोट, मंसिर २७ गते : मध्यपहाडी लोकमार्ग हुँदै प्रदेश राजधानी सुर्खेत जोड्न रुकुम पश्चिम सानीभेरी नदीमा मोटरेबल पुल निर्माण गरिएको छ । सानीभेरी गाउँपालिका–८ को मध्यपहाडी लोकमार्ग र ३ नम्बरको गरायला जोड्ने गरी बनेको यो पुलबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतसँगै देशका अधिकांश ठाउँमा जान सकिने छ ।

    पुल निर्माण भएपछि सल्यान घुमेर सुर्खेत जानुपर्ने बाध्यता टरेको छ । पुल निर्माणपछि प्रदेश राजधानी पुग्न झण्डै १६८ किलोमिटर दूरी मात्रै पार गर्नुपर्ने छ । यो पुल नबन्दा सल्यान भएर ३४० किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता थियो ।

    उक्त पुल पाँच वर्षअघि नै बन्नुपर्ने हो तर निर्माण कम्पनीको लापरबाहीले तीन पटकसम्म म्याद थपेर बल्ल पुल निर्माणको काम सकिएको हो । पुलले प्रदेश राजधानी सुर्खेतका साथै सानीभेरी गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडा समेत जोडेको छ । आठबीसकोट नगरपालिका र डोल्पा जोड्ने सडकका लागि पनि यो पुल महत्वपूर्ण मानिएको छ । सिम्लीबाट यो पुल तरेर गरायलाबाट रिम्ना जाजरकोट हुँदै सुर्खेत जान सजिलो हुन्छ भने उत्तरपट्टीका वडा सानीभेरी गाउँपालिकासँग सजिलै जोडिएका छन् ।

    पुल निर्माणको जिम्मा बीक्यु विल्डर्स, काठमाडौँले लिएको थियो । पुलमा सवारी साधन गुड्न थालिसकेका छन् । रु सात करोड ८२ लाखको लगानीमा पुल निर्माणको काम सकिएको सडक डिभिजन कार्यालय, चौरजहारीले जनाएको छ । रासस


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस