• The Public Today
  • उखु किसानको आन्दोलनमा विवेकशील साझाको ऐक्यबद्धता


    काठमाडौं, मंसिर २८ गते : विवेकशील साझा पार्टीले सरकारसँग उखु किसानहरूको समस्या तत्काल समाधान गरी किसानहरूको पक्षमा निर्णय गर्न ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले आन्दोलन गर्न काठमाडौं आएका उखु किसानहरुको संघर्षमा ऐक्यवद्धता पनि जनाएको छ ।

    “उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम उठाउन गरिरहेको संघर्षमा विवेकशील साझा पार्टी पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ । आफ्नो पसिना र परिश्रमको प्रतिफल पाउनसमेत सयौँ किलोमिटर टाढा संघीय राजधानी आएर प्रदर्शन गर्नुपर्ने दुःखदायी परिस्थितिका लागि मूलतः सरकार जिम्मेवार छ,” विज्ञप्तिमा भनिएको छ । गत वर्ष पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेपनि त्यसको पूर्ण कार्यान्वयन नगर्नु र उखु किसान पुनः आन्दोलनका लागि काठमाडौं आएको थाह पाएर सरकारले चिनी उद्योगी खोज्न थाल्नु खेदजनक भएको जनाइएको छ ।

    विवेकशील साझा पार्टीले सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा आशंका उब्जिएको बताएको छ । कृषकहरूको उत्थानका लागि कृषि उपजहरूको उपयुक्त न्यूनतम समर्थन मूल्य तोकी खरिद र तत्काल भुक्तानीसमेतको ग्यारेन्टी सरकारले गर्नुपर्ने पनि माग गरिएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस