नेकपाको विवादले देश अस्तव्यस्त : महन्थ ठाकुर

द पब्लिक टुडे
गौशाला, मंसिर २९ गते : 
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्तरिक विवादका कारण नेकपाले मुलुकलाई बन्धक बनाएको आरोप लगाउनु भएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको मनरा सिस्वा नपा १० मधवामा पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्नु हुँदै अध्यक्ष ठाकुरले मुलुक कोरोना महामारीका कारण अस्तव्यस्त बनेको अवस्थामा समेत आन्तरिक किचलोका कारण नेकपा नेतृत्वको सरकारले मुलुकलाई सही दिसा दिन नसकेको बताए ।

‘अहिले शिक्षा, स्वास्थ्य, व्यवसाय सबै धाराशायी बनिसकेको छ । नेकपाले यसमा ध्यान दिनुपर्नेमा आन्तरिक विवादमै मस्त छ’ अध्यक्ष ठाकुरले भने, ‘उनीहरुकै विवादले देश बन्धक बनिसकेको छ ।’

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार प्रदेश २ सरकारसँग सौताको व्यवहार गरिरहेको आरोप लगाए । ‘बजेटको बाँटफाँटलगायतको विषयमा संघीय सरकार सौताको व्यवहार गर्दै आएको छ’ उनले भने ।

प्रदेश सरकार सीमित स्रोत साधनका बीच विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउँदै राउतले अधिकार सहितको संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार संघ सरकारमाथि एक पछि अर्को मुद्दा दिँदै कानूनी लडाईं लडिरहेको बताए ।

मनरा सिस्वा नपाका प्रमुख संजय सिंहको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, अल्का झा, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

तीन करोड ५५ लाखको लागतमा १५ महिना भित्र उक्त पोखरीको सौन्दर्यीकरण कार्य सम्पन्न हुने मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले बताए