• The Public Today
  • विवाह पञ्चमीको दोस्रो दिन : जनकपुरमा ‘फूलबारी लीला’ मनाइँदै


    शैलेन्द्र महतो

    जनकपुरधाम,मंसिर ३० गते : सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको दोस्रो दिन मंगलबार जनकपुरमा ‘फूलबारी लीला’ मनाइँदै छ। फूलबारी लीलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ, जहाँ राम र जानकीको पहिलो भेट भएको थियो।

    मंगलबार दिउँसो जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारी राम र लक्ष्मणलाई अवलोकन गराई फूलबारी लीला मनाउने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले जानकारी दिए। यस दिन राम र लक्ष्मणको स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ।

    त्रेता युगमा गुरु विश्वामित्रसहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ। त्यहिँ राम र जानकी एक–अर्काप्रति आकिर्षत भएको र सीताले आफूलाई रामजस्तै वर पाऊँ भनि कामना गरेको भन्ने मान्यता रहेको छ।

    यसअघि पहिलो दिन सोमबार राम र लक्ष्मणलाई नगरदर्शन गराइएको थियो। त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २९ गतेदेखि सुरु भएको रामजानी विवाहको काम पुस ५ गतेसम्म चल्ने छ।

    विवाह पञ्चमीको तेस्रो दिन भोलि पुस १ गते बुधबार धनुष यज्ञ, २ गते बिहीबार तिल्कोत्सव, ३ गते शुक्रबार राम र जानकीको मटकोर रहेको छ भने पुस ४ गते विवाहपञ्चमीको मुख्यदिन विवाह रहेको छ। पुस ५ गते रामकलेवा गरी विधिवत् रुपमा सीताराम विवाह पञ्चमी महोत्सव समापन हुनेछ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस