• The Public Today
  • अध्यादेश फिर्ता लिन ओली तयार, विशेष अधिवेशनका लागि निवेदन दर्ता नहुने


    काठमाण्डौ, पुस १ गते : प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र विशेष अधिवेशनका लागि पनि निवेदन दर्ता नगर्ने सहमति भएपछि उहाँ बैठकमा सहभागी हुनुभएको हो ।

    बुधबार मात्रै दुई पटक दुई अध्यक्षको छलफल भएपछि यस्तो सहमति भएको नेकपा स्रोतले जनाएको छ । बुधबारकाे स्थायी कमिटी बैठकमा छलफल गरेर अध्यादेश फिर्ता गर्न माग गर्ने नेताहरूले तयारी गरेपछि दुई अध्यक्षबीच यस्तो सहमति भएको हो । याे सहमतिसँगै ओली बैठकमा सहभागी भएपछि दुई अध्यक्षबीचको सम्बन्ध केही सुधार हुने अपेक्षा गरिएको छ ।

    यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भए पनि ओलीले अस्वीकार गरेपछि बैठक प्रभावित हुँदै आएको थियो । प्रचण्ड–माधव नेपाल समूहका केही नेता विशेष अधिवेशनका लागि ८० जना सांसदको हस्ताक्षर बुझाउन राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस