• The Public Today
  • चिनी मिल बन्द गरेर काठमाडौंमा लुके सञ्चालक, ठगी मुद्दा दायर गर्ने तयारी !


    • अजय अनुरागी

    जनकपुरधाम, पुस १ गते । चिनी मिललाई बिक्री गरेको उखुको मूल्य नपाएको भन्दै सर्लाहीका किसानहरू काठमाडौं पुगेर आन्दोलन गरिरहेका छन् । अर्कातर्फ बाँकी बक्यौता राखेका चिनी मिलका सञ्चालकहरू लामो समयदेखि उद्योग बन्द गरेर जिल्लामा सम्पर्कविहीन छन् ।

    किसानको आन्दोलन चलिरहेकै बेला गृहमन्त्री रामबहादुर थापा बादलको अगुवाइमा मंगलवार मन्त्रालयमा बसेको बैठकले किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।

    २ नम्बर प्रदेशको सर्लाही र रौतहट जिल्लामा सञ्चालित चिनीमिलका सञ्चालकहरूले किसानको उखुको रकम लामो समयदेखि बक्यौता राखेका छन् ।

    किसानलाई दिनुपर्ने भुक्तानीका लागि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित उद्योग सञ्चालकलाई पटक–पटक ताकेता गरे पनि बक्यौता राखेका उद्योग सञ्चालकले वास्ता गरेका छैनन् ।

    बाध्य भएर किसानहरूका तर्फबाट आएको ठगीको दर्ता गर्ने र उद्योगीहरूलाई पक्राउ गर्ने तयारीमा स्थानीय प्रशासन जुटेको छ ।

    रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले किसानहरूको ३५ करोड रुपैयाँका हाराहारीमा बक्यौता तिर्न बाँकी रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    ‘किसानहरूको आन्दोलन चलिरहेका बेला आज बिहान नै केही किसानसँग समन्वय गरेर मिलका सञ्चालकविरुद्ध ठगीको जाहेरी लिएर आउन भनेको छु,’ सीडीओ यादवले भने, ‘सबै किसानहरूको जाहेरी संयुक्त रूपमा लिन सम्भव देखिएन, त्यसैले रौतहट, बारा र सर्लाही जिल्लाका केही किसानहरूको संयुक्त जाहेरी लिएर ठगी मुद्दा दर्ता गर्ने तयारी गरेका छौं ।’

    किसानहरूका तर्फबाट जाहेरी दर्ता भएपछि अदालतबाट पक्राउ पूर्जी लिने र मिल सञ्चालकलाई पक्राउ गरिने उनले बताए । उक्त मिलका कुल तीनजना शेयरधनी छन् ।

    हितेश गोल्छा, विशाल अग्रवाल र अनुज अग्रवाल गरी कुल तीनजना सञ्चालकले संयुक्तरूपमा लगानी गरेर उद्योग सञ्चालन गर्दै आएको भएपनि मुख्य व्यक्ति भने विशाल अग्रवाल रहेको उनले बताए । 

    उनीहरूको बसाई काठमाडौंमा नै रहेकाले पक्राउ पनि त्यहीँबाट गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

    ‘यसअघि छलफलका लागि बोलाउँदा उनीहरूले मिल बन्द गरेर बेचेर भुक्तानी गर्ने र त्यसका लागि सरकारले अनुमति दिनुपर्ने भन्दै आएका थिए,’ सीडीओ यादवले लोकान्तरसँग भने, ‘तर, किसानहरूले नै मिल बन्द गर्न दिन्नांै, बरु किस्ताकिस्तामा भए पनि भुक्तानी दिए आफूहरूलाई मान्य हुन्छ भनेर जग्गा बेच्न दिएका छैनन् ।’

    मिल सञ्चालन गर्नका लागि आफूहरूले सस्तो मूल्यमा जग्गा बेचेर मिलका मालिकको नाममा स्वामित्व हस्तान्तरण गरेको र मिलका कारण किसानको उत्पादन बिक्री हुनुका साथै रोजगारीको अवसर समेत उत्पन्न भएका कारण मिल बेच्न नहुने भनेर किसानले भन्दै आएको उनले बताए । 

    त्यसैगरी सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलका अनुसार अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रालि धनकौलले किसानहरूको १७ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी राखेको छ ।

    कुन–कुन किसानको कति रकम बाँकी छ सबै विवरण उपलब्ध गराउन लिखित रूपमा नै हिसाब–किताब माग्दा मिल सञ्चालकले पूर्णरूपमा विवरण हालसम्म उपलब्ध नगराएको उनी बताउँछन् । 

    ‘छलफलका लागि बोलाउँदा मिलका सञ्चालक आफू कहिल्यै पनि उपस्थित भएनन्, उनका प्रतिनिधि भने आउने गरेका थिए,’ सीडीओ पौडेलले लोकान्तरसँग भने, ‘दुई आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को विवरण ल्याएर दिए, तर २०७६/०७७ र चालू आर्थिक वर्ष २०७७/०७८ को विवरण भने उपलब्ध गराएका छैनन् ।’

    पुरानो विवरण भएको कम्प्युटरको सर्भरको मानिस नआएकाले उपलब्ध हुन नसकेको भनेर बताउँदै आएको उनले जानकारी दिए ।

    मिलका सञ्चालक राकेश अग्रवाल भने लामो समयदेखि मिल बन्द गरेर काठमाडौं नै बस्दै आएका छन् ।

    ‘सरकारले पक्राउ गर्नुपर्ने निर्णय गरेको भए पनि हामीलाई हालसम्म परिपत्र आएको छैन,’ उनले भने, ‘पक्राउ गर्नुपरे उता काठमाडौंबाट नै प्रहरीले पक्राउ गर्ला ।’


    क्याटेगोरी : अर्थ, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस