• The Public Today
  • मानव बेचबिखनमा ४६ प्रतिशत मधेसी समुदाय प्रभावित


    द पब्लिक टुडे
    बर्दिवास, पुस २ गते ।
    मानव बेचबिखन तथा ओसारपसारमा मधेसी समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । जातीयताका आाधारमा विश्लेषण गर्दा मधेसी समुदायबाट ४६ प्रतिशत विदेशीभूमिमा मानव बेचबिखन हुने गरेको छ ।

    सञ्चार माध्यममा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी प्रकाशित सामाग्रीहरु २०७६ माथि गरिएको विश्लेषणात्मक प्रतिवेदनमाथि बुधवार भएको छलफलमा यसबारे जानकारी दिइएको हो ।
    पत्रकार विजय पौडेलले ०७६ वैशाखदेखि चैतसम्म सञ्चारमाध्याममा संप्रेषण भएका समाचार र समाचारमूलक सामग्रीमाथि अध्ययन गरी विश्लेषणात्मक प्रतिवेदन तयार पारेका थिए ।

    समाजमा भइरहेका मानव बेचबिखन तथा ओसारपसार एवं मानव तस्करीका घटना र कारणहरुबारे जानकारी दिन, वैदेशिक रोजगारीका क्रममा हुने मानव बेचबिखन, यौन शोषण, श्रमशोषणको अवस्था र आयामहरुबारे जानकारी दिन, प्रभावितको जातीयता, लिंग, उमेर, स्थायी बसोबास मानव बेचबिखन तथा ओसारपसारको प्रकार र उदेश्यबारे जानकारी दिन प्रतिवेदन तयार पारिएको हो ।

    द्वितीय तथ्यांक ९सेकेन्डरी डेटा० मा निर्भर प्रतिवेदनमा मानव बेचबिखनसम्बन्धी ०७६ सालभरि ३५९ वटा समाचार संप्रेषण भएका थिए । जसमा छापामाध्यमका मूलधारका पत्रपत्रिका र म्यागाजिनमा प्रकाशित समाचारमाथि मात्र अध्ययन गरिएको थियो । यस्तै, अध्ययनले ० देखि १७ वर्ष उमेरसमूह सबैभन्दा बढी बेचबिखनमा पर्ने गरेको देखाएको छ ।

    सर्लाहीमा सबैभन्दा बढी बेचिएको भेटिएको छ भने आन्तरिक रुपमा हुने गरेको बेचबिखन ११ प्रतिशत छ । बेचिनुका कारणबारे अध्ययन गर्दा ४० प्रतिशत गरिबी र ३६ प्रतिशत रोजगारी र राम्रो आम्दानी हुने एजेन्टको फन्दामा परेको देखिएको छ । यसैगरी दलाल या अपराधीका प्रकारमा ४९ प्रतिशत म्यानपावर कम्पनी तथा एजेन्टबाट बेचिएका छन् भने मानव बेचबिखन तथा ओसारपसारको उद्देश्यमा ५५ प्रतिशत यौनशोषण नै रहेको देखिन्छ । अध्ययनले वैदेशिक रोजगारीलाई छुट्टै सूचकमा राखेर अध्ययन गरेको छ । जसअन्तर्गत २१७ वटा समाचार सम्प्रेषण भएका छन् । प्रतिवेदनमा निश्कर्ष र सुझाव पनि समेटिएको छ ।

    अध्ययन पूर्ण नभएको र यसमा आजको छलफलमा आएका सुझावलाई समेत समेटेर छिट्टै नै प्रतिवेदन सार्वजनिक गरिने आयोजक महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल ९एटविन० ले जनाएको छ । ०६९ देखि पत्रपत्रिकामा प्रकाशित मानव बेचबिखनसम्बन्धी समाचारको तथ्यांक राख्दै आएको एटविनले आगामी वर्ष अनलाइन मिडियालाई पनि समेट्ने जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस