• The Public Today
  • विप्लव समूहमाथि प्रहरीको ‘एक्सन’, जंगलमै छापा मारेर कार्यकर्ता नियन्त्रणमा


    काठमाडौं, पुस २ गते । जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा छापा मारेर प्रहरीले विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ ।

    खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसिरहेको अवस्थामा छापा मारेर प्रहरीले सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ लाई पक्राउ गरेको हो ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रातको समयमा छापा मारी भरुवा बन्दुक, राइफल तथा पेस्तोलका गोली, बारुद, छर्रालगायत बन्दोबस्तीका सामानसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।

    प्रहरीले उनको साथबाट विभिन्न कम्पनीका सिमसहितका मोबाइल, प्रयोगमा ल्याइएको खुला सिम १७ थान, प्रयोगमा ल्याउन बाँकी अर्थात् नखोलिएका १२ थान सिम, दुई वटा ट्यांकलगायतका बन्दोबस्तीका सामान बरामद गरिएको जनाएको छ । उनीमाथि हातहतियार, खरखजाना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । राजधानी दैनिकमा सूर्य तामाङले खबर लेखेका छन् । 


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस