• The Public Today
  • भारतको लज्जास्पद हारमा टुट्यो ९६ वर्षको रेकर्ड


    एजेन्सी : अस्ट्रेलियाले एडिलेडमा खेलिएको डेनाइट टेस्ट क्रिकेटमा भारतलाई ८ विकेटले पराजित गरेको छ । भारतले आफ्नो दोस्रो पारीमा ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । भारतको टेस्ट क्रिकेटको इतिहासमा यो सबैभन्दा कम योगफल हो । यसअघि भारतले सन् १९७४ मा लर्र्डसमा इंग्ल्याण्डविरुद्ध ४२ रन बनाएको थियो ।

    यो इनिङमा भारतका कुनै पनि ब्याटसम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९६ वर्षअघि दक्षिण अफ्रिकाले यो रेकर्ड बनाएको थियो । सन् १९२४ जुन १४ मा दक्षिण अफ्रिकाको पहिलो पारी ३० मा समेटिएको थियो । यस पारी दक्षिण अफ्रिकाका चार खेलाडी शुन्यमा आउट भएका थिए भने कप्तान हार्बी टेलरले सर्वाधिक ७ रन बनाएका थिए ।

    यता, शनिबार भारतका ३ ब्याट्सम्यान शुन्यमा आउट भए भने मयंक अग्रवालले सर्वाधिक ९ रन बनाए ।

    यता, यस खेलमा हारसँगै कप्तान विराट कोहलीको एउटा कीर्तिमान पनि तोडिएको छ । टस जितेर कोहलीले कुनै पनि खेल हारेको यो पहिलो अवसर थियो । सन् २०१५ मा भारतीय टेस्ट टोलीको कप्तानी सम्हाले यताले २६ खेलमा टस जितेर २१ मा जीत ४ मा ड्र हासिल गरेका थिए । एडिलेडमा भने उनले हारको सामना गर्नुपर्यो ।

    भारतले पहिलो पारीमा २४४ रन बनाएको थियो भने अस्ट्रेलिया १९१ रनमा सिमित भएको थियो । तर, दोस्रो पारीमा भारत ३६ रनमा समेटिएपछि ९० रनको झिनो लक्ष्य पाएको अस्ट्रेलियाले मात्र दुई विकेटको क्षतिमा त्यसलाई पछ्यायो ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस