• The Public Today
  • जसपा र कांग्रेसबीच २ बुँदे समझदारी, संसद्‌ अधिवेशन चाँडो बोलाउन दबाब


    काठमाडौं, पुस ४ गते : जनता समाजवादी पार्टी (जसपा) का नेताहरु प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।प्रधानमन्‍त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले लगातार संविधान उल्लंघन गरेको भन्दै विपक्षी पार्टीहरु एक ठाउँमा उभिनुपर्ने सन्देशसहित जसपाका नेताहरु देउवानिवास बूढानीलकण्ठ पुगेका हुन् ।

    कांग्रेस सभापति देउवालाई भेट्न जसपाका कार्यकारी अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो गएका थिए । बैठकले संसद्‌को अधिवेशन चाँडो बोलाउन दबाब दिने सहमतिसमेत गरेको छ ।

    स्रोतका अनुसार भेटमा जसपाका नेताहरूले प्रधानमन्त्री केपी ओलीले अध्यादेशका भरमा देश चलाउन खोजेको भन्दै त्यसविरुद्ध प्रतिपक्षी दलको साझा धारणा बनाउन जोड दिए थिए । ओलीले पुस १७ भित्र संसद् बैठक नबोलाए आउसक्ने परिस्थितिबारे पनि छलफल भएको बताइएको छ । ओलीले संसद नबोलाउने अवस्था देखिए विशेष महाधिवेशनका लागि समावेदनका लागि पनि तयारी अवस्थामा रहनुपर्नेमा जसपा शीर्ष नेताहरूले कांग्रेसलाई अग्रसरता लिन आग्रह गरेका थिए ।

    जवाफमा देउवाले त्यसो गर्दा निश्चित प्रयोजनका लागि मात्र अधिवेशन हुने र त्यसपछि अन्त्य गर्न मिल्ने हुँदा सरकारलाई थप ६ महिना संसद् छलेर अध्यादेशबाट शासन गर्ने सम्भावना हुने भन्दै नियामित अधिवेनकै लागि दबाब दिनुपर्ने बताएका थिए । जसपा नेताहरूले भने नियमित अधिवेशन बोलाए समस्या नहुने भन्दै संविधान नै धरापमा पार्ने अध्यादेश ल्याएको भन्दै प्रतिपक्षका तर्फबाट संविधानको रक्षाका लागि सामूहिक प्रयास गर्नुपर्ने बताएका थिए ।

    “चाँडो संसद् बोलाउन दबाब दिने र संसद्‌मा पनि सहकार्य गर्ने समझदारी भएको छ,” देउवाका स्वकीय सचिव भानु देउवाले बाह्रखरीसँग भने ।”संविधानको कमा फुलस्टप पनि संशोधन हुँदैन भन्नेले एकपछि अर्को गर्दै संविधानमाथि आक्रमण गर्दै छन्, यसलाई रोक्ने हामी प्रतिपक्षको धर्म हो,” जसपाका कार्यकारी अध्यक्ष ठाकुरले भने, “त्यसका लागि संसद् सुरु हुनुपर्‍यो र संविधानलाई मास्‍न नदिन हामी प्रतिपक्षबीच सहकार्य गर्नुपर्यो भनेर हामीले भेट गरेका हौं ।”

    उसो त, सभापति देउवाले कांग्रेस एक्लैको संख्याले विशेष महाधिवेशन माग गर्न शक्ति नपुगेको भन्दै नियमित अधिवेशन समयमै बोलाउन माग गरेका थिए । त्यसको भोलिपल्टै जसपा नेताहरू बूढानीलकण्ठ पुगेका हुन् ।

    जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसबीच भएको समझदारी :
    १. संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने ।

    २. लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक संकटलगायत जनसरोकारका विषयमा संसद्‌मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस