• The Public Today
  • कृषि विश्वविद्यालयमा डीन नियुक्त


    चितवन, पौष ५ गते : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ ।गत जेठ १ गतेदेखि रिक्त कृषि संकाय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन संकायमा डीन नियुक्त गरिएको हो ।

    विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मीका अनुसार छनोट समितिले सिफारिस गरेका नाममध्येबाट डीन नियुक्त गरिएको हो ।सोअनुसार कृषि संकायमा प्रा. जयप्रकाश दत्त र पशुविज्ञानमा प्रा. डा. होमबहादुर बस्नेतलाई नियुक्त गरिएको छ । कृषिमा प्रा. डा. अरविन्दकुमार श्रीवास्तव र प्रा. डा. अर्जुनकुमार श्रेष्ठसहित तीनजनाको नाम सिफारिस भएको थियो ।

    त्यस्तै, पशुविज्ञानमा प्रा. डा. सुमिला राई र प्रा. डा. भूमिनन्दन देवकोटासहित तीनजनाको नाम सिफारिस भएको थियो ।दुवै संकायमा सात सातजनाको आवेदन परेको थियो । तीमध्येबाट छनोट समितिले तीनजना सिफारिस गरेको हो ।

    प्रा. डा. रेग्मीले सिफारिस भएका नामबाट कार्यकारी परिषद्ले डीन नियुक्त गरेको जानकारी दिए ।त्यसैगरी, अनुसन्धान निर्देशकमा प्रा. डा. अर्जुनकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । श्रेष्ठ यसअघि सोही विश्वविद्यालयको योजना निर्देशक रहेका थिए ।

    अनुसन्धान निर्देशक प्रा. डा. नवराज देवकोटा गण्डकी प्रदेश सरकारको विश्वविद्यालयमा उपकुलपति भएपछि सो पद रिक्त रहेको थियो ।यसैगरी, विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रारमा नियुक्त गर्न आह्वान गरेअनुरुप ११ जनाको आवेदन परेको छ ।

    रेग्मीका अनुसार तीमध्येबाट तीनजनाको नाम कुलपति समक्ष सिफारिस गर्ने तयारी गरिएको छ । छनोट समितिले ११ जनामध्येबाट तीनजनाको नाम उपकुलपतिलाई सिफारिस गरेको बुझिएको छ । हाल नाम सार्वजनिक गर्न रेग्मीले अस्वीकार गरे ।सो विश्वविद्यालयमा रजिष्ट्रार पद गत माघ १२ गतेदेखि रिक्त छ । सोका कारण विश्वविद्यालयसभा समेत हुन सकेको छैन ।

    यता, नियिुक्त चित्तबुझ्दो नभएको जनाउँदै विश्वविद्यालयको नेपाल प्रगतिशील प्राध्यापक संगठनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । सो संगठनले एकलौटीरुपमा नियुक्ति गरेको जनाउँदै उपकुलपतिको राजीनामा माग गरेको छ । उपकुलपति रेग्मीले भने सबै प्रक्रिया पूरा गरेर आफूले नियुक्ति अघि बढाएको बताए । रासस


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस