• The Public Today
  • नयाँ रुपान्तरित कोरोनाभाइरसबारे बुझ्दै डब्लूएचओ


    बीबीसी : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नयाँ रुपान्तरित कोरोनाभाइरसको उत्पत्तिबारे बुझ्न बेलायतसँग निकट सम्पर्कमा रहेको जनाएको छ । यसअघि, बेलायती अधिकारीहरुले नयाँ रुपान्तरित भाइरसबारे बताएका थिए ।

    नयाँ रुपान्तरित भाइरस सुरुआती भाइरसभन्दा धेरै तीव्रगतिमा फैलन सक्ने बताइएको छ । तर, त्योभन्दा खतरनाकचाहिँ नभएको विश्वास गरिएको छ ।लन्डनसहित दक्षिणपूर्वी इंग्ल्यान्डले अहिले तीव्ररुपमा फैलिरहेको संक्रमण नियन्त्रण गर्न पहिलेभन्दा कडास्तरका नियमहरु जारी गराएको छ । यो नयाँ रुपान्तरित भाइरसले खोपविरुद्ध फरक प्रतिक्रिया जनाउन सक्नेसम्बन्धी कुनै प्रमाण छैन ।

    यही नयाँ भाइरसको खबरपश्चात् नेदरल्यान्ड्सले आइतबारदेखि बेलायतबाट आउने यात्रीवाहक विमानमाथि प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध अहिलेका लागि जनवरी १ सम्म लागु हुने डच सरकारले जानकारी दिएको छ ।

    नेदरल्यान्ड्समा अघिल्लो महिना एक संक्रमितको नमुना परीक्षण गराउँदा बेलायतमा फेला परेको त्यही रुपान्तरित भाइरस भेटिएपछि नै सरकारले यस्तो निर्णय लिएको बताइएको छ ।बेलायतबाट यससम्बन्धी थप स्पष्टीकरणको अपेक्षा गरिरहेको भन्दै नेदरल्यान्ड्सले यो नयाँ भाइरसलाई नेदरल्यान्ड्समा सकेसम्म फैलन नदिन प्रयत्नरत् रहको बताएको हो ।

    यसका साथै डच सरकारले यसबाट उत्पन्न जोखिमलाई सीमित गराउन आफूले आगामी दिनहरुमा युरोपेली युनियनका अरु मुलुकहरुसँग सक्दो सहकार्य गर्ने पनि जनाएको छ ।नयाँ रुपान्तरित भाइरसका बारेमा अहिलेसम्म के थाहा छ ? यससम्बन्धी आफूहरु बेलायती अधिकारीसँग नजिकको सम्पर्कमा रहेको डब्लूएचओले ट्वीट गर्दै जानकारी दिएको हो ।

    डब्लूएचओका अनुसार बेलायतले यो नयाँ भाइरसबारे हाल जारी अध्ययन–अनुसन्धानबाट प्राप्त सबै जानकारीहरु प्रदान गरिरहेको छ । डब्लूएचओले यसका विशेषता र प्रभावबारे अझ धेरै कुरा थाहा भएपछि सदस्य राष्ट्रहरुमाझ सार्वजनिक गर्ने बताएको छ ।यससम्बन्धी अनिश्चितता कायमै भए पनि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पुरानो भाइरसको तुलनामा नयाँ रुपान्तरित भाइरस ७० प्रतिशत बढी संक्रामक रहेको हुन सक्ने बताएका हुन् ।

    तर, यसले मृत्युदर बढाउने या हालका उपचार र खोपले यसमाथि काम नगर्नेजस्ता कुराको चाहिँ कुनै प्रमाण नभएको बेलायती अधिकारीहरुको भनाइ छ ।इंग्ल्यान्डका प्रमुख मेडिकल अधिकारी प्रोफेसर क्रिस ह्वीटी भन्छन्, “मेरो विचारमा यसले अवस्था धेरै खराब बनाउनेछ । तर, अहिले खोप सर्वत्र प्रयोमा आउन लागेको हुँदा हामी सकारात्मक पनि छौँ । अहिलेका लागि खोपले यसप्रति पनि उत्तिकै प्रभावकारीरुपमा काम गर्ने भन्ने हाम्रो बुझाइ छ ।”


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस