• The Public Today
  • ट्रम्पका कोभिड खोप प्रमुखले वितरणमा गल्ती भएको स्वीकारे


    पुस ६ गते । अमेरिकामा कोभिड खोप वितरणको जिम्मा लिएका आर्मी जेनेरलले स्टेटहरुमा वाचा गरिए अनुसारका सङ्ख्यामा डोजहरु पुर्याउन नसकेको स्वीकार गरेका छन् । जेनेरल गस्तेभ पर्ना, वार्प सिड अपरेसनका प्रमुखले यसमा स्टेटका गर्भनरहरुसँग भएको असफल संवादका लागि आफूले व्यक्तिगत जिम्मा लिने बताएका हुन् ।

    अहिले अमेरिकाका एक दर्जन भन्दा धेरै स्टेटहरुले अपेक्षा गरिएको डोजको सङ्ख्यामा कटौति भएकाप्रति चिन्ता व्यक्त गरेका छन् । आपत्कालीन प्रयोगका लागि स्वीकृत भएपछि फाइजर–बायोएनटेकले निर्माण गरिरहेको खोपको डोज देशभर वितरण भइरहेको छ । अहिले अमेरिकाकै अर्को कम्पनी मोडेर्नाको खोप पनि स्वीकृत भएको छ ।

    अमेरिकामा १ करोड ७५ लाख भन्दा बढी संक्रमितहरु छन् भने ३ लाख १५ हजारको मृत्यु भइसकेको छ जुन विश्वकै सबैभन्दा उच्च संक्रमण दर हो । यस्तोमा जनेरल पर्नाले संचारकर्मीहरुसँगको टेलिफोन ब्रिफिङमा पटकपटक स्टेट गर्भनरहरुसँग माफी माँगेका हुन् । उनका अनुसार त्यति डोज तयार हुनेछ भन्ने आफ्नो विश्वासका आधारमा उनले सङ्ख्या सम्बन्धी आधिकारिक जानकारी दिएका थिए जसकारण नै यो उनको व्यक्तिगत गलती भएकामा उनले जोड दिएका हुन् ।

    उनी भन्छन् , “डोजको सङ्ख्याबारे पूर्वानुमान डाटा म आफैँले स्वीकृत गरेको हुँ । र यसमा फाइजरको अनि मोडेर्नाको खोपमा कुनै समस्या छैन । यो प्रक्रियामा पनि कुनै समस्या छैन । असफल म भएको हुँ र म यसको समाधान गरि सबैलाई अगाडि बढाउने प्रयास गरिहेको छु । ”

    अमेरिकी मिडियाहरुका अनुसार धेरै स्टेटहरुलाई अर्को हप्ता प्राप्त हुने डोज कम हुन्छ भनिएको छ । न्युयोर्क टाइम्सले यसमा १४ स्टेटहरुको नाम पनि सूचिकृत गरेको छ जसमा क्यालिफोर्निया, न्यु जर्सी र मिचिगन पनि समावेश छन् ।

    वासिङटन स्टेटका गभरनर जे इन्स्लीले बिहिबार यसबारे ट्वीट गर्दै भनेका हुन् , “यो ठूलो अवरोध हो र निराशाजनक खबर पनि हो । हामीले खोप कार्यक्रम सम्बन्धी योजना र यसको सफलता सुनिश्चित गर्न उचित डाटा र अनुमानजनक सङ्ख्या आवश्यक पर्दछ । ”
    यता मिचिगन गभरनर ग्रेट्चेन विट्मरले पनि यो प्रक्रिया ह्वाइटहाउसले अत्यन्तै सुस्त गतिमा अघि बढाइरहेको गुनासो गरेका हुन् ।

    अब कसरी वितरण हुनेछन् त खोप ?

    यस सम्बन्धी जेनेरल पर्नाले हाल उपलब्ध सबै खोपहरु कहिले वितरण गरिने भन्ने निश्चित थाहा नभएको बताएका छन् । स्वास्थ्य तथा मानव सेवा विभागले चाहिँ यसमा उत्पादित डोजको सङ्ख्या र वास्तवमै वितरणका लागि पूर्ण तयार भएका डोजको सङ्ख्या फरक परेकाले नै यस्तो भएको बताएको छ । उत्पादित डोजहरु डेलिभर गराउनु अगाडि तिनको स्टेरिलिटी लगायत विभिन्न परीक्षण गराउनुपर्ने हुन्छ ।

    जनरल पर्माका अनुसार केही समय अगाडि मात्र स्वीकृत भएको मोडेर्ना खोप आइतबारदेखि नै वितरण गर्न सुरु गरिनेछ र उनले जनवरीको पहिलो हप्तासम्ममा यस खोपको झन्डै २ करोड डोज विभिन्न स्टेटहरुमा पुर्याउने कुरामा आफू सहि ट्रयाकमा भएको बताएका हुन् । उनले यो प्रक्रिया चाहिँ बिना रोकावट सहजसँग सम्पन्न हुने आशा गरेको पनि बताएका छन् । अमेरिकी खोप कार्यक्रम अन्र्तगत अप्रिलसम्म १० करोड मानिसहरुकहाँ खोप पुर्याउने लक्ष्य रहेको बताइएको छ । हालसम्म १ लाख ३० हजार नागरिकहरुले कोरोनाको खोप प्राप्त गरिसकेका छन् जुन अमेरिकी इतिहासकै सबैभन्दा ठूलो खोप अभियान हो ।

    अमेरिकामा महामारी सुरु भएदेखि पाँच प्रतिशत जनसङ्ख्या कोरोनाबाट संक्रमित भइसकेका छन् । यसमा नोभेम्बरको मध्यदेखि साप्ताहिक मृत्यु औसत १ हजारबाट बढेर २५०० पुगेको छ । जसकारण अस्पतालहरु यतिबेला झन ठूलो दबाबमा परिरहेका छन् । जस्तै क्यालिफोर्नियामा अहिले बिरामीका लागि बेड खोज्न संघर्ष गर्नुपर्ने अवस्था छ । बीबीसी


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस