संख्याभन्दा गुणस्तर बढी महत्त्वपूर्ण : तापसी पन्‍नु

द पब्लिक टुडे
गौशाला, पुस ६ गते ।
हलमा खासै चल्न नपाएपनि ‘थप्पड’ समीक्षकदेखि हरेक दर्शकको मन, मस्तिष्कमा बस्न सफल चलचित्र बन्यो । अभिनेत्री तापसी पन्नु यो महामारीको बन्दाबन्दीका बीच पनि ‘थप्पड’का कारण चर्चामा रहिन् ।

जीवन्त अभिनय, फरक–फरक भूमिका र त्यसलाई न्यायपूर्वक निभाउन सक्ने खुबीका कारण तापसीलाई चिनिन्छ । उनी अनिश्चित भविष्यबारे चिन्ता लिनुभन्दा वर्तमानमा रमाउनुपर्छ भन्ने सोच राख्छिन् ।

आफ्नो यही सोचलाई कोरोना महामारीले मलजल गरेको विश्वास राख्ने तापसीसँग यस वर्षको उपलब्धि, आगामी वर्षको योजना र पछिल्लो समय धेरै प्रयोगमा आएको ‘ओटीटी’ प्लेटफर्मबारे बलिउड हंगामाले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

वर्ष २०२० निःसन्देह हामीले देखेको सबैभन्दा खराब वर्ष हो, तपाईंको यो वर्ष कस्तो रह्‍यो ?
पक्कै पनि वर्ष २०२० हाम्रो लागि सबैभन्दा खराब वर्ष रह्‍यो । यो विश्वव्यापी रुपमा सत्य थियो । त्यसबाहेक यो पनि सत्य हो कि हामीले यस वर्ष बाँच्न सक्नु भनेकै सकारात्मक महसुस गर्नु हो । योभन्दा पनि खराब हुनसक्थ्यो । तर, त्यसो भएन । त्यसैले म यस वर्षलाई आधा भरिएको गिलासको रुपमा हेर्छु ।

२०२० मा सिक्नुभएको सबैभन्दा ठूलो पाठ ?
यस वर्ष मैले सिकेको सबैभन्दा ठूलो पाठ भनेकै वर्तमानलाई महत्त्व दिनु हो । भविष्यका लागि योजना बनाउनुको सट्टा हामीले उपहारको रुपमा पाएको हरेक पल बाँच्नु हो । किनभने, तपाईंले भविष्यका लागि जतिसुकै योजना बनाए पनि भविष्य अनिश्चित छ । त्यसैले यस पलमा तपाईं आफ्नो जिन्दगी पूर्ण रुपमा बाँच्नुहोस् ।

भविष्यका लागि धेरै लगानी नगर्नुहोस् । मलाई सधैँ लाग्थ्यो, भविष्यका लागि योजना र लक्ष्य बनाउनु बेकार हो । यस वर्षले मेरो वर्तमानमा बाँच्नुपर्छ भन्ने सोचलाई पुनःस्थापित गरिदिएको छ ।

त्यसो भए २०२१ का लागि कुनै योजना छैन ?
मेरो अधिनमा नभएको केही कुरामा पनि छैन । म यो निश्चित गर्न चाहन्छु कि म मेरो व्यावसायिक र व्यक्तिगत जीवनका हरेक पल सर्वश्रेष्ठ बनाउँछु ।

‘थप्पड’ तपाईंका लागि जित साबित भयो ? 
पक्कै । थप्पड मेरो लागि वर्षको राम्रो सुरुवात थियो । म निकै खुसी थिएँ । किनकि, मैले काम गर्नुपर्ने राम्रा प्रोजेक्टहरु पनि थिए । तर, यो महामारीले मेरा सबै योजना छोट्ट्याइदियो । थप्पडको हल रिलिजको समय पनि छोट्ट्याइदियो । तर पनि म वर्षौंसम्म याद रहने चलचित्रको अंश हुन पाएकामा गर्व महसुस गरिरहेको छु ।

‘थप्पड’ यस वर्षको सबैभन्दा धेरै चर्चामा आएको चलचित्र थियो । चलचित्रहरु आउँछन् र जान्छन् । तर, केही चलचित्र मात्रै पर्दामा लागेको समयभन्दा पनि पछिसम्म चर्चामा रहन्छन् । थप्पड तीमध्ये एक हो । मेरो लागि मेरो चलचित्रको संख्‍याभन्दा गुणस्तर बढी महत्त्वपूर्ण छ ।

आगामी वर्ष तपाईं के कुरामा विशेष जोड दिनुहुनेछ ?
आगामी वर्ष म चलचित्रको चयन र आफ्नो पफर्मेन्सको गुणस्तर अझै वृद्धि होस् भन्ने कुरामा विशेष ध्यान दिनेछु । आशा गर्दछु कि दर्शकले पनि त्यही महसुस गर्नेछन् । हरेक वर्ष म बन्द खाम (इनभोल्प) लाई अलि बढी धक्का दिने प्रयास गर्छु । म मेरा हरेक चलचित्रबाट नयाँ कुरा सिक्छु । र, म त्यो ज्ञानलाई मेरोपछिको चलचित्रमा कार्यान्वयन गर्ने प्रयास गर्दछु । यसले मलाई एक कलाकारको रुपमा बढ्न मद्दत मिलेको छ ।

आफूलाई निर्खानका लागि मैले छान्ने चलचित्रमा दर्शकको विश्वास हेर्न चाहन्छु । मैले जे छाने पनि उहाँहरुको पैसा र समय दुवै खेर गएन भन्ने सोचून् भन्ने चाहन्छु ।

तपाईं वर्ष २०२० मा वृद्धि भएको ओटीटी प्लेटफर्मबारे के भन्न चाहनुहुन्छ ?
त्यहाँ दर्शकको प्रोफाइलमा एक निश्चित बदलाव छ । सिनेमा हलमा चलचित्र हेर्न जाने दर्शकहरु घरमा चलचित्र हेर्नेभन्दा फरक छन् । हलको ‘बी’ र ‘सी’ सेन्टरका लागि बनेका चलचित्रहरु ओटीटीमा रिलिज हुँदा पक्कै पनि उस्तै प्रतिक्रिया पाउँदैनन् । ओटीटीमा आउने चलचित्रहरु विषयप्रदायक हुन थालेका छन् । यो एक रमाइलो सिफ्ट हो । यदि, ओटीटीको प्रभुत्व निरन्तर भयो भने नयाँ स्टार हाइरारकि पैदा हुनेछ ।

के तपाईं आफ्नो फोन (मोबाइल) मा चलचित्र हेर्न रुचाउनुहुन्छ ?
म सकेसम्म छिटोभन्दा छिटो हलमा जान चाहन्छु । म यो नयाँ ‘सामान्य’ छाडेर पुरानो ‘सामान्य’मा फर्किन प्रतीक्षारत् छु । म यो महामारीभन्दा अघिको ‘सामान्य’ याद गरिरहेको छु । यद्यपि, ओटीटी प्लेटफर्मले धेरै प्रतिभाशाली कलाकारहरुलाई मौका दिएको छ, जसलाई हामीले अन्यत्र कतै पनि देखेका थिएनौँ । ओटीटीले नयाँ प्रतिभालाई हुर्कन मद्दत गरिरहेको छ ।

२०२० का तपाईंको मनपर्ने पफर्मेन्सहरु कुन हुन् ?
हरेक वर्षजस्तै धेरै उत्कृष्ट प्रस्तुतिहरु छन् । मैले ओटीटीमा देखेका केही मलाई मनपरेका छन् । म पक्षपाती हुनसक्छु । तर, मैले अंग्रेजी मिडियममा इरफान सर (खान) लाई हेरेर धेरै रोएँ । जसले गर्दा मैले धेरैबेर हेर्न सकिनँ । अकस्मात् बिछोड सधैँ अपत्यारिलो नै हुन्छ । जब ऋषि सर (कपुर) बित्नुभएको खबर आयो, मैले विश्वास नै गर्न सकिनँ । मलाई लागिरहेको थियो कि लकडाउनपछि म घरबाहिर निस्केपछि उहाँलाई भेट्नेछु ।

त्यो समयमा मैले सबैसँग भर्चुअल भेटघाट मात्रै गरिरहेको थिएँ । त्यसैले मलाई लागिरह्‍यो कि उहाँ घरमै हुनुहुन्छ । मैले ऋषि सरसँग दुईवटा चलचित्रमा काम गरेको छु । तर, मैले कहिले पनि सुशान्तसिंह राजपुतलाई भेटेको थिइनँ र इरफान सरसँग काम गरेको थिइनँ ।

यदि, तपाईंसँग इच्छा (विस) छ भने त्यो के हुनेछ ?
चलचित्रका कलाकारको जीवनमात्र नभई सामान्य जीवन बाँच्नु । म मेरो करियरजस्तै सन्तोषजनक जिन्दगी बिताउन चाहन्छु । म मेरो परिवार, साथीहरु र बिदाको लागि समय निकाल्थेँ । अहिलेसम्म म मेरो व्यावसायिक र व्यक्तिगत जीवनबीच सही सन्तुलन गर्न सक्षम भइरहेको छु । मैले यी दुईलाई एकार्काबीच यति टाढा राखेको छु कि एकार्कालाई कहिल्यै हस्तक्षेप नगरोस् ।

तपाईंको २०२१ का योजनाहरु के-के छन् ?
मैले अघि भनेजस्तै म आगामी दिनहरुका लागि कुनै पनि योजना बनाउदिनँ । यति भनिरहँदा म नयाँ प्रोजेक्टमा हात हाल्नुअघि मैले गर्ने भनेर वाचा गरिसकेका कामहरु सकाउन चाहन्छु । केही उत्कृष्ट प्रोजेक्टमा मैले रमाइलो भूमिका पाउँदै छु । मेरो विश्वास गर्नोस्, ती सबै यति राम्रा छन् कि मैले ती कुनैलाई पनि नकार्न सकिनँ ।

म यति विविध चलचित्रमा देखिँदै छु कि विश्वास गर्नोस्, तीमध्ये कुनै पनि दोहोरिने छैनन् । म मेरो डायरीमा सकेसम्म धेरैभन्दा धेरै काम समावेश गर्न चाहन्छु । मलाई थाहा छ, जब म मेरो करियरलाई फर्केर हेर्छु, तब म गर्व महसुस गर्नेछु ।