• The Public Today
  • सर्वदलीय बैठककाे निष्कर्ष : ‘संविधान विराेधी, अलाेकतान्त्रिक कदम विरुद्ध एक भएर अघि बढ्छाैँ’


    काठमाण्डाै, पुस ६ गते : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद् विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ ।

    कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद् विघटन संविधान विपरीत भएको भन्दै संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको हो । बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार प्रतिनिधि सभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको निष्कर्ष बैठकले निकालेकाे बताउनुभयो ।

    संसद् विघटनको निर्णयविरुद्ध तीन वटै पार्टीले एकताबद्ध भएर अगाडि बढ्ने समझदारी पनि भएको उहाँले बताउनुभयो । मङ्गलबार (भाेलि) तीन वटै दलले केन्द्रीय कमिटी बैठक बोलाएको उल्लेख गर्दै उहाँले बैठकपछि फेरि छलफल गरी आउँदा कार्यक्रम घोषणा गरिने बताउनुभयो । आउँदा दिनमा सरकारको यो कदम विरुद्ध कसरी अगाडि बढ्ने भन्ने कुरामा सहमति भएको उहाँकाे भनाइ छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् विघटनको घोषणा गरेपछि त्यसको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् विघटनको घोषणा गर्दै नयाँ चुनावकाे मिति तय गर्नुभएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस