• The Public Today
  • पीपीआर रोगबाट मरे पाँच सय च्याङ्ग्रा


    म्याग्दी/मुस्ताङ, पुस ९ गते । उपल्लो मुस्ताङमा पछिल्लो दुई महिनायता फैलिएको पीपीआर रोगबाट ५०० भन्दा बढी च्याङग्रा मरेका छन् ।

    लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका कृषकले पालेका च्याङ्ग्रामा पिपिआर रोगको समस्या देखिएको मुस्ताङसमेत कार्यक्षेत्र भएको बेनीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

    केन्द्रका प्रमुख नारायण कुसुमले दुईवटा पालिकामा ५०० भन्दा बढी च्याङ्ग्रा मरेका जानकारी दिए । “कात्तिकको दोस्रो हप्तादेखि महामारीका रुपमा फैलिएको पीपीआरआरले ठूलो क्षति पुर्याएको छ,” उनले भने, “कृषकबाट ७०० को सङ्ख्यामा च्याङ्ग्रा मरेको जानकारी आए पनि स्थलगत अध्ययन र निरीक्षणका क्रममा ५०० भन्दा बढी मरेको पाइयो ।”

    उनका अनुसार मरेका च्याङ्ग्राको स्वाब प्रयोगशालामा परीक्षण गर्दा पीपीआरआर रोग भएको पुष्टि भएको छ । समयमै सूचना नआउँदा रोग नियन्त्रणमा ढिलाइ भएको कुसुमको भनाइ छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मत्स्य तथा पशुपक्षी विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका तीनजना पशु चिकित्सकसहितको प्राविधिक टोलीले प्रभावित क्षेत्रमा पुगेर रोग नियन्त्रणका लागि अभियान सञ्चालन गरेर फर्किएका छन् ।

    बुधबार बेनी फर्किएको टोलीले स्थानीय तह र पशु सेवा शाखासँग समन्वय गरेर भेडाच्याङ्ग्रालाई पीपीआर रोगविरुद्ध खोप लगाएको जनाएको छ । बिरामी भेडाच्याङ्ग्राको उपचारका साथै कृषकलाई पिपिआर रोग न्यूनीकरणका उपायबारे गोठमै पुगेर परामर्श दिइएको थियो । लोमान्थाङमा फैलिएको पीपीआर नियन्त्रणमा आइसकेको केन्द्रका प्रमुख कुसुमले बताए ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस