• The Public Today
  • ठूलो आवाज निकाल्ने मोटरसाइकल कारवाहीमा


    काठमाडौँ, पुस ९ गते । ट्राफिक प्रहरीले उपत्यकामा ठूलो आवाज निकाल्ने ३४२ मोटरसाइकललाई कारवाही गरेको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनाको अवधिमा स्वरुप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकललाई विशेष निगरानी राखेर कारवाही गरेको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले ठूलो आवाज निकाल्ने मोटरसाइकलका कारण दुर्घटना बढ्नुका साथै अनावश्यक रुपमा सर्वसाधारणलाई आतङ्कित तुल्याउने गरेकाले पक्राउ गरेर कारवाही गरिएको जानकारी दिनुभयो । ठूलो आवाज निकाल्ने सवारी साधनले ध्वनी प्रदुषणसमेत गर्ने गरेको उहाँको भनाइ छ ।

    महाशाखाले जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाइ गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । प्रवक्ता अधिकारीले मोटरसाइकलले ध्वनी प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउने, जीकज्याक रुपमा चलाउने कार्य कानून विपरीत भएकाले कारवाही गरेको बताउनुभयो ।

    ठूलो आवाज निकाल्ने मोटरसाइकल उपत्यकाका जुनसुकै सडकमा गुडिरहेमा ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्न सबैलाई महाशाखाले आग्रह गरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस