• The Public Today
  • संसद पुर्नस्थापना नभए चुनावका लागि तयार हुनुपर्छ : निधि


    काठमाडौं, पुस १० गते : सर्वोच्च अदालतले विघटित संसद् पुर्नस्थापना नगरे कांग्रेस चुनावका लागि तयार हुनुपर्ने नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन्।

    कांग्रेसको केन्द्रिय समितिको बैठकमा बिहीबार बोल्दै उपसभापति निधिले कांग्रेस चुनावमा भाग्‍न नहुने बताएका हुन्। उनले भने, ‘संसद्को विघटन गलत कदम हो । यसलाई सर्वोच्चले पुर्नस्थापना गरिदियो भने अहिलेको राजनीतिक संक्रमण र अन्योलको सबैभन्दा उत्तम उपचार हुन्छ। यदि पुर्नस्थापना भएन भने कांग्रेस निर्वाचनमा जान तयार हुनुपर्छ। चुनाव भाग्‍नु हुँदैन।’

    उनले सडकबाट संसद् पुर्नस्थापना गर्ने आन्दोलनमा कांग्रेस लाग्‍न नहुने र यसले गलत सन्देश दिने बताए। उनले भने, हामीकहाँ अदालतबाट संसद पुर्नस्थापना भएको नजिर छ। हिजो सडकबाट पनि संसद पुर्नस्थापित भयो। त्यो विशिष्ट राजनीतिक परिस्थिति थियो। अहिले त्यो अवस्था होइन। सडकबाट संसद पुर्नस्थापना गर्ने अभियानमा कांग्रेसजस्तो जिम्मेवार र लोकतान्त्रिक शक्ति लाग्‍नु हुँदैन।

    निधिले अदालतबाटहोस् वा निर्वाचनबाट होस् जतिसक्दो चाँडो गुमेको संसद प्राप्ति गर्ने दिशामा कांग्रेस लाग्‍नुपर्ने बताए। उनले भने, ‘यतिबेला कांग्रेसको भूमिका मुलुक र जनता मात्र होइन, आन्तराष्ट्रिय समुदायले पनि हेरिरहेको छ। यस्तोबेला हामीले जिम्मेबार भूमिका निर्वाह गर्नुपर्छ। उत्तेजना र आवेगभन्दा पनि सुझबुझ र संयमका साथ अघि बढ्नुपर्छ।’

    संसद पुर्नस्थापना पनि भएन र चुनाव पनि हुन नसक्‍ने अवस्था आएमा डरलाग्दो राजनीतिक शून्यता सिर्जना हुने र त्यसले संविधान तथा राज्य प्रणाली नै संकटमा पर्ने चिन्ता व्यक्त गर्दै भने, ‘त्यस्तो अवस्थामा संविधानमा पनि कोल्याप्स हुनसक्छ। तर त्यो अवस्था आउन नदिन कांग्रेसले निकै सतर्कता र संयमका साथ अघि बढ्नुपर्छ।’उनले भने, ‘हामीले यस्तो भूमिका निर्वाह नगरौं, जसका कारण संसद पनि पुर्नस्थापना नहोस् अनि चुनाव पनि हुन नसकोस्।’

    पुर्नस्थापना र निर्वाचन पक्ष भनेर कांग्रेस विभाजित हुन नहुने बताए। उनले भने, ‘यस्तो विभाजन र विवादले कांग्रेसलाई फेरि कमजोर बनाउँछ। कांग्रेसलाई फेरि एउटा चुनौती र अवसर आएको छ। त्यहीअनुसार एकजुट भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ।’

    अब कांग्रेसको प्राथमिकता महाधिवेशनभन्दा नयाँ राजनीतिक घटनाक्रमअनुसारको भूमिका भएको बताउँदै भने, अब संसद पुर्नस्थापना भएन भने चुनावमा जानुपर्छ। पहिले एकजुट भएर चुनावमा जुट्‍नुपर्छ र त्यसपछि महाधिवेशनको तयारीमा लाग्‍नुपर्छ। चुनावको मुखमा महाधिवेशन भनेर अल्झिनु वा विवाद गर्नु उचित हुँदैन।’


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस