• The Public Today
  • बर्दिबास र गौशालाका १७५३ दलित बालबालिकालाई पोषिलो पिठो र पौष्टिक आहार वितरण


    द पब्लिक टुडे समाचारदाता
    बर्दिवास, पुस १० गते ।
    महोत्तरीको बर्दिबास नगरपालिका र गौशाला नगरपालिकाका १ हजार ७ सय ५३ बालबालिकालाई पोषिलो पिठो र पौष्ठिक आहार बितरण गरिएको छ ।

    बर्दिबास र गौशाला नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग एवम सामुदायिक परिवार कल्याण संघको समन्वयमा कोभिड–१९ बाट बच्नका लागि ६ महिनादेखि माथि र ५ वर्ष मुनिका बालपोषण भत्ता पाउँदै गरेका १ हजार ७ सय ८४ दलित बालबालिकाहरुलाई सर्बोत्तम पोषिलो पिठो र पौष्ठिक आहार बितरण गरिएको हो ।

    दुबै नगरका २६ वटै वडाका ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई न्यूनपोषण हुनबाट बचाउन पूरक तथा थप आहारका लागि सेभ द चिल्ड्रेनको र सामुदायिक परिवार कल्याण संघको सहयोगमा पोषिलो पिठो र पौष्टिक आहारको व्यवस्था गरिएको हो । पोषिलो पिठा बितरण गर्दै बर्दिवास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले नगरभित्र रहेका सबै बालबालिकाहरु कुपोषणबाट प्रभावित हुन नदिन उनीहरुको स्वास्थ्यलाई दिर्घकालिन हितमा काम गर्ने योजना बनाएको बताए ।

    उक्त सर्बोत्तम पोषिलो पिठो र पौष्ठिक आहार पौष २ गते देखि १० सम्म वितरण गरिएको सामुदायिक परिवार कल्याण संघका कार्यकारी निर्देशक मिथलेश साहले जानकारी दिए । वितरण कार्यक्रम बर्दिबास नगरपालिकामा पौष २ गते वडा नं. १,२,३,४ र १४ मा त्यसैगरी क्रमशः पौष ३ गते वडा नं. ५, १० र ११, पौष ४ गते वडा नं. ८, पौष ५ गते वडा नं. ९, १२, १३ र षौष ६ गते वडा नं. ६ र ७ मा वितरण गरिएको थियो । त्यसैगरी गौशाला नगरपालिकामा पौष ७ मा वडा नं. ३,४ र ५, पौष ८ गते वडा नं. १ र ८, पौष ९ गते वडा नं.९, १०, ११ र १२ साथै पौष १० गते वडा नं. २, ६ र ७ मा वितरण गरिएको थियो ।

    सर्बोत्तम पोषिलो पिठो र पौष्ठिक आहार दलित बालबालिकाहरुलाई मात्र वितरण गरिए पनि आर्थिक हिसावले कमजोर भएका गैर दलित परिवारलाई पनि वितरण गरिनु पर्ने बर्दिबास नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सम्शेरसिह लामाले बताए । उक्त पोषिलो पिठो जन्मदर्ता भएका तर सामाजिक सुरक्षा भत्ता नपाएका बालबालिकालाई पनि वितरण गरिरहेको सामुदायिक परिवार कल्याण संघले जनाएको छ ।

    यस्तै दोश्रो चरणमा बर्दिबास र गौशाला नगरपालिका भित्रका हेल्थ पोष्ट वा अस्पतालले प्रमाणित गरेका कुपोपित बालबालिकाहरुलाई पनि सर्वोत्तम पोषिलो पिठो वितरण गरिने सामुदायिक परिवार कल्याण संघका कार्यक्रम संयोजक मोहन बुर्जा मगरले जानकारी दिए ।


    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस