• The Public Today
  • वन कार्यालयकोे कठोर कदम: कर्मचारी रुदैं, भू–माफिया फरार !


    • राजकरण महतो

    बर्दिबास, पुस ११ गते । वनका कर्मचारीहरुको आँखाबाट टपटप आँसु खसिरहेको छ । जीवनमा कठोर निर्णय लिनु पर्दा हामिकको आँखा पनि रसाएको छ । न हाकिम बोलिरहेका छन् न त कर्मचारीहरु नै । डिभिजन वन कार्यालय महोत्तरीमा एक प्रकारले शोक छाएको देखिन्छ । वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले वनको जग्गा अतिक्रमण गर्ने र रुख कटानी गर्ने विरुद्ध जसरी कारवाही चलाउँथें त्यसैगरि उनले आफ्नै कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडी बढाएर आफुलाई वनको चौकिदारको रुपमा उभियाएका छन् ।

    वन मास्ने तस्कर विरुद्ध अरु घटनामा कारवाही चलाएको सुनिन्थ्यो, समाचार पढिन्थ्यो । तर, महोत्तरीको बर्दिबास–१ स्थित रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण र वन कटानी प्रकरणमा डिभिजन वन कार्यालय जलेश्वरले लापरवाही गर्ने वन कर्मचारी र भू–माफिया विरुद्ध एउटै कलमबाट कठोर निर्णय लिइएको छ । महोत्तरीमा वन कार्यालयले अहिलेसम्मकै एकै पटकमा आफ्नो ७ कर्मचारीहरुमाथि यस्तो कठोर कदम चालेको बताइएको छ ।

    रमतेल डाँडा वन प्रकरणमा सहायक १ जना वन अधिकृत, १ जना फोरेष्टर र ५ जना वन रक्षक गरि ७ जना वन कर्मचारीलाई डिभिजन वन कार्यालय महोत्तरीले कारवाहीमा तानेको हो । सामुदायिक वनको जग्गामा आँखा लगाएका भू–माफियालाई नियन्त्रणमा लिन पक्राउ पूर्जी जारी गरिएको छ ।

    वन कटानी प्रकरणमा मुच्छिएका बर्दिबास सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादवको टोलीमाथि निजामती सेवा ऐन तथा नियामवली अनुसार कारवाही थालिएको छ । कारवाहीको दायिरामा तानिनेहरुमा बर्दिबास सव–डिभिजन वन कार्यालयका फोरेष्टर सन्तोष कुमार साह, वन रक्षक राजकिशोर झा, अजय कुमार यादव, राकेश यादव, दिलिप महतो र नारायण ढुङ्गेल छन् ।

    लालपुर्जा देखाएर वनको जग्गा कब्जा गर्न दुससाहस गरेका बर्दिबास–१ का लिलामणी आचार्य र कृष्ण प्रसाद गौतमलाई नियन्त्रणमा लिन पक्राउ पूर्जी जारि गरिएको छ । वनको जग्गा जग्गाधनीको हो भनेर रुख कटान सहिछाँप गरेर भू–माफियालाई प्रत्यक्ष सहयोग गर्ने एक दर्जन व्यक्ति विरुद्ध अनुसन्धान सुरु गरिएको छ ।

    वन कार्यालयले कारवाही प्रक्रिया अघि बढाएपछि भू–माफिया वृत्तमा खेलाबेला मचेको छ । वनको जग्गा अतिक्रमण गरेर रुख निल्ने भू–माफियाहरुको भागाभाग भएको छ ।कोही फेसबुक ब्लक गरेका छन् भने कोही मोवाईल स्वीचअफ गरेर लुकेका छन् । कारवाहीबाट बच्नका लागि आरोपीहरु नेताहरुको दैलोमा धाइरहेका छन् । वन जस्तो सार्वजनिक सम्पत्ति मासेर कब्जा गर्न कुचेष्टा गरेका जग्गा दलालहरुको पक्षमा कोही पनि बोल्न आँट गरिरहेका छैन । वन फँडानी गरेर राष्ट्रको सम्पत्ति कब्जा गर्ने विरुद्धमा स्थानीय स्तरमा जनआक्रोस छ ।

    हात्तिमारा र भब्ब्सीको खोलाको दोभानमा पर्ने २५ नम्बर बहादुरगंज ३(क) कित्ता नं.२ को १ विघा २ कठ्ठा ११ धुरको लालपुजा वन कार्यालयमा पेश गर्दै त्यहाँ भएको ३ सय ८५ जना रुख कटान गर्न २३ असोज २०७७ मा वनसंग जग्गाधनीले आदेश मागेका थिए ।त्यसपछि वन, नापी, मालपोत कार्यालयको गएको स्थलत टोलीले जग्गाधनीले देखाएको जग्गाको नापी, रुखको अवस्था बारे मुचुलका गरेका थिए । नापी कार्यालय बर्दिबासका सर्भेक्षक तथा अमिन राम दरश राउतले जग्गाधनीको जग्गा वन क्षेत्रमा ठहराएका थिए । २८ कात्र्तिक २०७७ मा सहायक वन अधिकृत लक्ष्मण यादवको नेतृत्वको जग्गाको स्थलगत जाँचबुझ्न टोली गएका थिए ।

    अमिन राउतले सहरजमिन मुचुलकामा भनेका छन्,‘निवेदकको माग बमोजिम स्थलगत जाँच बुझ् गर्दा रुख जग्गाधनीको हो ।जग्गाधनीकै नम्बरी र त्यसमा लगाएको रुख हो ।’ नापी वनको जग्गामा जग्गाधनीको चारकिल्ला छुट्याएपछि सरोकारवलाहरुले वनको जग्गा ठीक साँचो जग्गाधनीले नम्बरी हो भन्दै मुचुलकामा सहिछाँप गरेका थिए ।

    रातारात सामुदायिक वन वन क्षेत्रमा रहेको रुख कटान गरेर जग्गाधनी फलाको खाँबा हालेर चार किल्ला घेरेपछि स्थानीयले थाहा पाएका थिए । फँडानी भएको क्षेत्र वनको जग्गा भएको भन्दै गाउँलले कटान भएको काठ उठाएन दिएन । वनको जग्गा अतिक्रमणमा परेको भन्दै स्थानीयले अख्यिार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा उजुरी हालका थिए । त्यसपछि वन कटानी गरेर सार्वजनिक जग्गा भू–माफियाले चलखेल गरेर हड्पन खोजेको डिभिजन वन कार्यालयले सुईको पाएको थियो ।

    वन अतिक्रमणको घटनाको प्रारम्भिक जाँचबुझका लागि डिभिजन वन कार्यालय महोत्तरीले साहयक वन अधिकृत बेचन ठाकुरको संयोजकत्वमा तीन सदस्य टोली गठन गरेर खटाएको छ । सो टोलीमा सहायक वन अधिकृत भिमबहादुर खड्का र फोरेष्टर सरोज चौधरी छन् । प्रारम्भिक जाँच बुझ टोलीले शुक्रबार बिहानैबाट कटना भएको वन क्षेत्रमा पुगेर काम थालेको छ ।

    बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेलका अनुसार, नगरपालिकाको अमिनबाट कटानी भएको वन क्षेत्र नापी गर्दा जग्गाधनीले ३ विघा १८ कठ्टा वन क्षेत्रको रुख कटानी गरेर चारकिल्ला घेरेका छन् । १ बिघा २ कट्टा ११ धुरको लालपुर्जा देखाएर ५ सय बढी रुख कटान गरिएको देखिन्छ ।


    क्याटेगोरी : अन्तरवार्ता, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज
    ट्याग : #जनचासो

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस