• The Public Today
  • संसद विघटनविरूद्ध ढल्केवरमा जसपाको मसाल जुलुश, प्रहरीद्वारा हस्तक्षेप


     ढल्केवर, पुस ११ गते । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषाको ढल्केवरमा मसाल जुलुश निकालेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक ढंगले संघीयतालाई नै असफल बनाउने उद्देश्यले संसद विघटन गरेको भन्दै जसपाले शनिवार ढल्केवरमा मसाल जुलुश निकालेको हो । जसपाले निकालेको मसाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपपछि जुलुशमा सहभागी नेता तथा कार्यकर्ताहरू आक्रोशित बनेका थिए । केहिबेर प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएको थियो ।

    पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार जसपाले ढल्केवरमा निकालेको जुलुशमा सहभागीहरूले प्रधानमन्त्री, राष्ट्रपति र प्रहरी दमनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

    ढल्केवरस्थित इलाका प्रहरी कार्यालय अगाडीबाट निकालिएको मसाल जुलुश ढल्केवर चाैकको विभिन्न भागमा परिक्रमा गर्दै शहिद स्मार्क पार्क अगाडी पुगेर कोणसभामा परिणत भएका थिए ।

    कोणसभालाइ सम्बोधन गर्दै जसपा नेपालका नेता चन्देश्वर महतोले प्रधानमन्त्रीले संविधान मिचेर गरेको प्रतिनिधीसभा विघटनको कार्य राष्ट्रघाती रहेकोले प्रतिनिधी सभा पुनर्स्थापना गर्नुपर्ने माग गरे । उनले प्रतिनिधीसभा पुनर्स्थापना नभए आफुहरु शसक्त आन्दोलन गर्ने पनि चेतावनी दिए । नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवि भण्डारीको राजीनामा समेत माग गरे ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस