• The Public Today
  • दशकौंपछि बल्ल लालपूर्जाः गरिब दङ्ग


    • गोपालप्रसाद बराल

    महोत्तरी, पुस १२ गते । “याह जिनगीमें लालपूर्जा भेटगेल” (यसै जन्ममा लालपूर्जा पाइयो) आफ्नो घरबासको जग्गाको लालपूर्जा पाएपछि दङ्ग पर्नु भएकी महोत्तरीको गौशाला नगरपालिका–१० बटौवाकी ७० वर्षीया दुखनीदेवी महतोले भन्नुभयो, “हमर नाममे भेटके छल, तब ससुर आ घरवालाके केना भेटित ?” (मेरा नाउँमा बन्नु रहेछ, अनि मेरा ससुरा र पतिले के पाउँथे) ।

    शुक्रबार दुखनीसहित गौशाला नगरपालिकाका वडानम्वर–१०, ११ र १२ का १४० घरबासीले आफ्नो घडेरीको जग्गा धनी प्रमाणपूर्जा (लालपूर्जा) पाएका छन् । साविकको पञ्चायतीकालमा १ नम्वर बहादुरगञ्ज र २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनायता २०४९ को स्थानीय निर्वाचनमा लक्ष्मीनिंयाँ गाउँ बिकास समिति भनिएको ठाउँ हाल गौशाला नगरपालिकाको १०, ११ र १२ नम्वर वार्डमा समेटिएका छन् । वर्षौवर्षदेखि आफ्नो नाउँमा जग्गा पनि छभन्ने अनुभूति गर्न नपाएका गरिबका लागि शुक्रबार प्राप्त लालपूर्जा ठूलो खुशीको विषय बनेको छ ।

    “हजुर, बाबु जोहर अली लालपूर्जा हेर्ने धोकोमै जानुभयो, म पनि जीवनको अन्तिमकालमा टेकीसकें , जीवनमा यस्तो खुशी पहिलो पटक महसुस गर्दैछु” गौशाला–१० कै ७८ वर्षीय अव्दुल रहमान चुरौटेले खुशीका आँसु पुछ्दै भन्नुभयो, “अब हाम्रो घर आफ्नै नाउँको जग्गामा भयो ।” नापी कार्यालय महोत्तरीले दिएको लालपूर्जाको जग्गाधनी महलमा अव्दुल रहमान चुरौटे र उहाँकी पत्नी जमनेशा खातुनको नाम उल्लेख छ ।

    पुस्तौंपछि आफ्नो घर रहेको जग्गाको लालपूर्जा पाउँदा गौशाला–११ की गीता श्रेष्ठ, गौशाला–१० की ७३ वर्षीया माल्सरदेवी, जलिल शेष र सैपूmल खातुन पनि खुशीले दङ्ग पर्नु भएको छ । “बाजे, बाबु यसै ठाउँमा सिद्धिए, उनीहरुले लालपूर्जा हेर्न पाएनन्” सैपूmल खातुनले भन्नुभयो, “जे होस् , अहिले हामीले पायौं , अमूल्य कुरो पाएको जस्तो खुशी छ ।”

    “हामीले भोगको आधारमा गरेको नापीपछि वितरण गर्ने लालपूर्जामा घरमूली पति, पत्नी दुबैको नाउँ राख्ने गरेका छौं” नापी कार्यालय महोत्तरीका प्रमुख नापी अधिकृत राकेशकुमार रशिक भन्नुहुन्छ, “यसले महिलालाई मेरो पनि घरको सम्पतिमा स्वामित्व छ भन्ने स्वाभिमान दिदो रहेछ ।” मुख्य घरमूली पति वा पत्नीको मृत्यु भई सकेको रहेछभने दुबैमध्ये जो जिवित छन् , उनकै नाउँमा जग्गाधनी प्रमाणपूर्जा बनाइने गरिएको रशिकले बताउनुभयो । शुक्रबार लालपूर्जा वितरण गर्न नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख प्रशासकीय अधिकृत रशिक, मालपोत तथा भूमिसुधार कार्यालय महोत्तरीका प्रमुख दिपेन्द्रकुमार झासहितका अधिकारी घरबासीहरुकै बस्तीमा पुग्नु भएको थियो ।

    लालपूर्जा वितरण कार्यक्रममा गौशाला नगर प्रमुख शिवनाथ महतोले अब कोही जग्गाविहिन नरहने बताउनु भएको छ । “हामीले भूमि आयोगसँग सम्झौता गरी सकेका छौं” नगरप्रमुख महतोले भन्नुभयो, “यही आर्थिक वर्षभित्र सबै अव्यवस्थित बसोबासी र सुकुम्बासीको व्यवस्थापन गरी सक्नेछौं ।”

    गौशाला नगरपालिकाका १०, ११ र १२ नम्वर वडा बस्तीका १४० परिवारले शुक्रबार लालपूर्जा पाएका छन् । यिनमा मुस्लिम, कोइरी, नेवार र तत्मासहितका आर्थिक रुपले पिछडिएका समुदाय छन् । सबै परिवारलाई प्रदान गरिएको लालपूर्जाअनुसारको जग्गा जम्मा पाँच हेक्टर क्षेत्रफल रहेको नापी कार्यालय महोत्तरीले जनाएको छ ।

    नापी कार्यालय महोत्तरीले घरबासी जग्गा नापी गरेर खडा गरेको स्रेस्ताका आधारमा जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै आएको छ । यसअघि जिल्लामा कायम रहेका (२०६४ सालअघि) ७६ गाबिस (गाउँ बिकास समिति) र एक नगरपालिका क्षेत्रका सबै बस्तीमा घरबासी जग्गा नापी गरेर जग्गाधनी प्रमाणपूर्जा दिने गरिएको प्रमुख नापी अधिकृत रशिकले बताउनुभयो ।

    अहिले जारी आर्थिक वर्ष २०७७ ÷०७८ मा ११ वटा पहिलेका गाबिस क्षेत्रमा लालपूर्जा वितरण गरिने गरी काममा लागिएको नापी कार्यालय महोत्तरीले जनाएको छ । जसमा बलवा, किसाननगर, पशुपतिनगर, हाथीलेट, रामगोपालपुर, लोहारपट्टी, भटौलिया, इटहर्वाकट्टी, साँढा, धिरापुर र मनरा छन् । यसमध्ये बलवामा जारी पुस महिनाभित्रै लालपूर्जा वितरण गरिने प्रमुख नापी अधिकृत रशिकको भनाइ छ ।

    जिल्लाका बाँकी रहने पहिलेका गाबिस क्षेत्रमा आउने आर्थिक वर्षका लागि पनि लालपूर्जा वितरणको पूर्वतयारी अहिलेदेखि नै थालिएको छ । अब यो निरन्तर प्रकृयाबाट सबै बस्तीलाई समेटिने नापी कार्यालय महोत्तरीले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस