• The Public Today
  • ऐन, नियम निर्माणमा महत्वपूर्ण उपलब्धि : मन्त्री तुम्बाहाङ्फे


    कठमाडौं, पुस १२ गते : नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहँदा अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेकी छन् ।

    आइतबार कानुन मन्त्रालयबाट बिदाइ हुनेक्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको दाबी गरेकी हुन् ।मौलिक हकसँग जोडिएका विषयमा आफूले पद बहाली गर्दा हस्ताक्षर गरेअनुसार नै अधिकांश ऐन र नियमावली निर्माणमा सफलता प्राप्त गरेको उनले बताइन् ।

    मौलिक हकसँग जोडिएका १६ वटा ऐन बनाएकोमा १४ वटाको नियमावली बनाइसकेको र दुईवटा बन्नेक्रममा रहेको जानकारी दिइन् ।यस्तै, १२ वटा मस्यौदाका लागि सैद्धान्तिक सहमति दिएको पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् ।

    त्यसबाहेक २५ वटा विधेयक तथा अध्यादेशको मस्यौदा तर्जुमा गर्न पनि सैद्धान्तिक सहमति दिइएको उनले जानकारी दिइन् ।नेपालको संविधानमा निशान छापमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश भएको नक्सा प्रकाशित गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउनु पनि आफ्नो उपलब्धि भएको उनको भनाइ छ ।

    तेजाब आक्रमणसँग जोडिएको अध्यादेश ल्याउन सफल हुँदा देशका सबै नागरिक खुसी भएको मन्त्री तुम्बाहाङ्फेले बताइन् ।जबर्जस्ती करणी, यौनजन्य हिंसालगायतका घटनामा कसुरदार ठहरिने अवस्थासम्म पुग्न नदिई मेलमिलाप गराउने प्रचलनलाई अन्त्य गर्न मेलमिलाप गराउने व्यक्तिलाई समेत कानुनी कारबाही गर्ने व्यवस्था गर्न सफल भएको पनि उनले बताइन् ।त्यसबाहेक संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनेगरी ऐन, नियमहरु निर्माण गरिएको पनि उनले बताइन् ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस