• The Public Today
  • असइ विक र जवान साउँद हत्यामा संलग्‍न मुख्य अभियुक्त राना पक्राउ


    काठमाडौं, पौष १३ गते : कैलालीको धनगढी उपमहानगरपालिका १०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज (प्रहरी सहायक निरीक्षक) असई गोविन्द विक र जवान रामबहादुर साउँद हत्यामा संलग्‍न भनिएका मुख्य अभियुक्त पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १०, चकमलीका करिब ३५ वर्षीय सुकबहादुर राना भनिने अमर राना छन् । उनलाई कैलालीको फुलबारीबाट पक्राउ गरिएको हो ।

    असई विक र जावन साउँदको कात्तिक १ गते गस्तीमा गएको बेला तस्कर समूहले हत्या गरेको थियो । असई विकको शव घटना भएको भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको र त्यसको दुई दिनपछि प्रहरी जवान साउँदको शव पनि मोहना नदीमै फेला परेको थियो । हत्यामा संलग्‍न ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । राना भने फरार थिए ।

    राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैध रुपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । राना स्थानीय व्यापारीसँग मिलेर त्यो सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको थियो ।

    पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए । त्यही मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वमा रहेको टोलीले प्रहरीको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस