• The Public Today
  • एसइई परीक्षा जेठमा गर्ने तयारी


    काठमाडौं, पुस १६ गते : सरकारले यस वर्षको एसइई परीक्षा आगामी जेठमा सञ्चालन गर्ने तयारी गरेको छ।

    राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा एसइई परीक्षा सञ्चालन गर्ने तयारी अघि वढाएको हो। कोरोना संक्रमणको कारण गत वर्ष एसइई परीक्षा नै सञ्चालन भएको थिएन। त्यसअघिका वर्षमा भने चैत महिनामा परीक्षा हुँदै आएको थियो। यस वर्ष भने एसइई परीक्षा सञ्चालन गर्ने तयारी भएको हो।

    बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार आगामी जेठसम्म एसइई परीक्षा हुने सम्भावना छ। ‘चैत/वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘असार/साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिन्छ। त्यही अनुसार हामी तयारी गरिरहेका छौँ।’

    यस वर्ष शैक्षिक सत्र कहिलेबाट सुुरु हुन्छ, अझै स्पस्ट भएको छैन। विगतमा वैशाखमा शैक्षिक सत्र सुुरु भएर चैतमा सकिने व्यवस्था थियो। कोरोना संक्रमणका कारण विद्यायय खुल्न नसक्दा यस वर्ष शैक्षिक सत्र कहिलेबाट सुरु गर्ने भन्नेमा समेत सरकार अलमलमा छ।

    एसइई परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि रजिस्ट्रेसन फाराम खुला गरिसकेको छ। बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस