• The Public Today
  • १८ किलो अफिमसहित तीनजना पक्राउ


    रुकुमपूर्व, पुस १७ गते । रुकुमपूर्वमा १८ किलो लागुऔषध अफिमसहित तीनजना पक्राउ परेका छन् । १८ किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।

    पक्राउ पर्नेमा भूमे गाउँपालिका ३, झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४, अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे–३, झुङ्लाबाङ घर भई वडा नम्बर–२, खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिद्धि बज्राचार्यले बताए ।

    ताराप्रसाद र मन्सरामलाई यही पुस १४ गते सिस्ने–६ को छिप्रीदहस्थित होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख बज्राचार्यले बताए ।

    उनीहरु दुईजनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा ताराप्रसादसँग अफिम कारोबारमा संलग्न भएका अर्का हिक्मतलाई पनि पाँच किलो ५०० ग्राम अफिमसहित पक्राउ गरिएको हो । उनलाई भने बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यही पुस १४ गते पक्राउ परेका ताराप्रसाद र मन्सरामलाई अदालतमा पेस गरी १५ दिनको म्याद थप भई अनुसन्धान जारी राखिएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस