प्रधानमन्त्रीलाई देश र जनताको हैन पदकै चिन्ता छ: बिना मगर

File Photo

काठमाडौं, पुस २० गते : निवर्तमान खानेपानी मन्त्री बिना मगरले प्रधानमन्त्री केपी ओलीले पद लोलुपताकै कारण संसद विघटन गराएको बताएकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी बेलौरी नगरकमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्दै मगरले प्रधानमन्त्रीले जनताका लागि भन्दा पनि पदकै लागि संसद विघटन गराएको बताएकी हुन् । “प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन । मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ । मात्र उहाँलाई पदको चिन्ता रहेछ ।”

भेलालाई सम्बोधन गर्दै भनिन्, “जनतामाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गराउनुभयो । यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै लामो समय छैन ।”

“मैले सुन्ने गरेको छु प्रधानमन्त्रीका नजिकका मान्छेहरुले संघीयता खारेज गर्नुप(यो भनेर वकालत गरिरहेका छन् । जनताको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरुलाई प्रधानमन्त्रीका मान्छेहरुले कुल्चने दुस्साहस गर्दैछन् ।” उनले भनिन्, “यस्तालाई जनताले चाँडै पराजित गर्ने छन् ।”