• The Public Today
  • गौशालामा सप्ताहव्यापी योग शिविरको आयोजना हुने


    पुनम कुमारी सिंह
    गौशाला, पुस २७ गते ।
    महोत्तरीको गौशालामा पहिलोपटक सप्ताहव्यापी योग शिविरको आयोजना हुने भएको छ । अगामी माघ १ गतेदेखि सप्ताहव्यापी रुपमा योग शिविर आयोजना गर्ने गौशाला नगरपालिका कार्यालयले जनाएको छ ।

    गौशाला नगरपालिका नगरप्रमुख शिवनाथ महतोको अध्यक्षता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको उपस्थितीमा आईतवार भएको अन्तरक्रिया कार्यक्रमबाट शिविर आयोजना हुने भएको छ ।

    नगरस्तरीय रुपमा गौशालाबजार केन्द्रित गरि प्रत्येक दिन विहानी पख शिविर आयोजना गरिने नगरप्रमुख महतोले बताए । योग गर्नाले मानवजीवनमा अनेकौ फाईदा हुने भएकोले शिविरको आयोजना गर्ने निर्णय गरेको नगरप्रमुख महतोले बताए ।

    कार्यक्रमका प्रमुख अतिथी पूर्व शिक्षा, विज्ञात तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले नगरलाई योगयुक्त क्षेत्र घोषणा हुने किसिमको लक्ष्य लिएर अभियान संचालन गर्नका लागि आग्रह गरे । योग ध्यान गर्नाले दुर्घटना बाहेक उपचारको लागि अस्पताल जानुपर्ने अवस्थाको अन्त्य हुने भएकोले यसले आर्थिकको साथै स्वास्थ्यको लागि पनि फाईदाजनक हुने उनले बताए ।

    कार्यक्रममा प्रदेशसभा सदस्य भरतप्रसाद साहले व्यवस्थित रुपमा योग शिविर आयोजना गर्नका लागि आग्रह गरे ।

    कार्यक्रममा गौशाला नगरपालिकाका उपमेयर आशा लामा, नगरका सबै वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत लगायत बुद्धिजीविहरुको उपस्थिती रहेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस