• The Public Today
  • ‘नेकपा र सूर्य चिह्न खोस्ने दिवास्वप्न नदेख्नुस्’: पोखरेल


    जयनारायण यादव

    बारा,पुष २७ गते : उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओली नेतृत्वको नेकपा पार्टी आधिकारिक हुने दाबी गर्नुभएको छ । बाराको कलैयामा साेमबार आयाेजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाको सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले नेकपा र सूर्य चिह्न खोस्ने दिवास्वप्न नदेख्न आग्रह गर्नुभयो ।

    उहाँले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पार्टीभित्र गुटबन्दी गरेर पार्टी अध्यक्षका साथै प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउन र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्रमा लागेका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न बाध्य हुनुपरेको तर्क गर्नुभयाे ।

    प्रचण्ड र माधवकुमार नेपालले पार्टी विभाजनको योजना लामो समयदेखि बनाएको आरोप लगाउँदै उपप्रधानमन्त्री पोखरेलले त्यसको प्रतिवाद गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेकपाकाे ओली समूहका अध्यक्ष केपी ओलीको नेतृत्वमा गाउँगाउँमा चुनावकाे तयारीमा जुट्न समेत कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले प्रचण्डलाई माओवादी पार्टी बेचुवा नेता भएको आरोप लगाउनुभयो । प्रचण्ड–नेपाल चरम अवसरवादी नेता भएको मन्त्री प्रभु साहको भनाइ छ ।

    त्यस्तै कानुनमन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्री बन्ने भए चुनावमा सहभागी हुन प्रचण्ड–नेपाललाई चुनौती दिनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका नेता सुन्दर कुर्मी नेकपाकाे ओली समूहमा प्रवेश गर्नुभएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस