• The Public Today
  • वीरगंज भन्सारद्वारा ६ महिनामा ७३ अर्ब ५५ करोड ४४ लाख राजस्व असुली


    ध्रुव अधिकारी
    वीरगंज,माघ ५ गते :
    मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित वीरगंज भन्सार कार्यालयले चालु आर्थिक २०७७/०७८ को ६ महिनामा ७३ अर्ब ५५ करोड ४४ लाख १२ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

    भन्सार विभागले तोकेको लक्ष्यको ८६ दशमलव २ प्रतिशत राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको कारण आयात निर्यात प्रभावित भएको अवस्थामा विभागले तोकेको लक्ष्य वीरगंज भन्सारले पछ्याउँदै गएको प्रमुख भन्सार प्रशासक आचार्यले बताउनु भयो ।

    वीरगंज भन्सार कार्यालयलाई राजस्व विभागले ६ महिनामा ८५ अर्ब ५१ करोड, ३४ लाख १९ हजार राजस्व असुलीको लक्ष्य तोकेको थियो । लक्ष्य भन्दा झन्डै १२ अर्ब कम राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

    वीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७७/०७८ को ६ महिनामा पैठारी महसुल तर्फ २८ अर्ब १० करोड ३ लाख २४ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर तर्फ २५ अर्ब ४४ करोड ५६ लाख ८१ हजार असुली गरेको छ । त्यसै गरी अन्त शुल्क तर्फ ८ अर्ब ६६ करोड ९० लाख ८० हजार असुली गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक आचार्यले बताउनु भयो ।

    त्यसै गरी वीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ ६ अर्ब ६६ करोड ६८ लाख ४७ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ ६ अर्ब ५८ करोड ४९ लाख ४ हजार असुली गरेको छ । यसै गरी वीरगंज भन्सार कार्यालयले सडक सुधार दस्तुर तर्फ ३ अर्ब ८३ करोड ३३ लाख ६२ हजार राजस्व असुली गरेको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    कोरोना महामारीका कारण आयात, आवागमन, उत्पादन र आपूर्तिमा परेको असरका कारण भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको प्रमुख भन्सार प्रशासक आचार्यले बताउनु भयो । उहाँले असहज अवस्थामा पनि ६ महिनामा ७३ अर्ब भन्दा बढीको राजस्व उठ्नुलाई उपलब्धि नै मान्नु पर्ने बताउनु भयो ।

    विशेष गरी वीरगंज भन्सारको राजस्वमा महत्त्वपूर्ण योगदान दिने पेट्रोलियम पदार्थ र सवारी साधनको आयातमा गिरावट आएको कारण यसको प्रभाव राजस्व असुलीमा परेको आचार्यले बताउनुभयो ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस