• The Public Today
  • बधाई छ फुलगेन..!


    • गोपाल बराल

    कोर मधेशको मान्छे । आफ्नो भनाइ स्पष्ट पार्न अझ खुलाएर भनौं, आफू पर्वते मूलको भएपनि टोेलछिमेकका (भङ्गाहा–४ रामनगर, महोत्तरी) साथी सङ्गाती सबै ठेट मधेशी । म चार/पाँच कक्षामा पढ्दा बेलालाई सम्झन्छु । मेरा साथी थिए , नागेश्वर महतो , कामेश्वर महतो र अन्य थुप्रै मधेशी । जसमा थारु, साह र अन्य जाति समुदायका थिए । यहाँ मैले नाम नै उल्लेख गरेका कामेश्वर, नागेश्वर दुबै कोइरी जाति समुदायका हुन् । समयक्रमले यी साथी मबाट खोसिई सकेका छन् ।

    यति भूमिका बाँधेर म सन्दर्भ कोट्याउन खोज्दैछु, सञ्चारकर्मी फुलगेन महतोको विवाह प्रसङ्ग जोड्न । धनुषाको बटेश्वर गाउँपालिका–१ का कोइरी जाति समुदायका फुलगेन स्नातक गरेका लोभलाग्दा युवा हुन् । रेडियो नेपालको बर्दिबास (महोत्तरी) प्रशारण केन्द्रमा मगही भाषाका समचार र अन्य सामग्री पस्कने फुलगेन कामको क्षेत्रले मेरा सहकर्मी हुन् । यद्यपि उनी र मेराबीच काका भतिजको सामाजिक नाता कायम छ , अर्थात उनी मेरा प्रिय भतिज पनि हुन् ।

    भर्खरै फुलगेनले विवाह गरे । विवाह त फुलगेनले मात्र गरेर पुग्दैन , कृष्णीले पनि गरिन् । कृष्णी अर्थात् फुलगेनकी नवविवाहिता दुलही । बटेश्वर–३ का धनिकलाल महतोकी छोरी, जो स्नातक पुरा गर्ने तरखरमा छिन् । यद्यपि मैलेभने चर्चाको केन्द्रमा घुमीफिरी फुलगेनलाई उभ्याउँदैछु । मलाई लाग्छ, एउटा स्नातक गरेको मधेशी कोइरीको छोरा आफ्ना परिवारजनलाई राजी गराएर दहेजरहित आदर्श विवाह गर्दछ भने उ यति चर्चाको हकदार बन्छ । मधेशमा दुलहापक्ष दहेज पाउने÷ लिने र दुलहीपक्ष दहेज दिनेमा पर्ने भएकाले यहाँ आदर्श विवाहको कुरा उप्काइँदा फुलगेनको त्याग र निष्ठा मुखरित भएको हो । विवाहको चर्चा चलाइँदैमा १०/१५ लाखको नगद तिलक र विवाहमा पाइने अन्य लाखौं मूल्यका समानको लामो लिष्ट कन्यापक्षका अभिभावकले सहजै उठाउनसक्ने सम्भावनाका फुलगेनले यो आडम्वर सहजै त्यागे । त्यसैले फुलगेन अहिले मिथिलामा सम्झना गर्नु पर्ने युवा भएका छन् । फुलगेनको आँटलाई बधाई छ । फुलगेनको निष्ठालाई सलाम छ ।

    मैले माथि आफ्नो परिवेश कोट्याउँदा कोइरी साथीको जिकिर गरेको छु । म ४० वर्ष अघि पुग्दा सम्झन्छु, त्यतिखेर साइकल चढ्ने मामुली कुरा थिएन । साइकल चढ्न दुई किसिमका मान्छे समर्थ थिए । पहिलो पुगीसरी आएका धनाढ्य बाबुका छोरा , जो धेरै कम देखिन्थे साइकल चढ्ने । अर्को कोइरी समुदायको नवविवाहित किशोर (किशोर , यस अर्थमा कि त्यतिखेर १३ र १९ वर्षबीच विवाह भइसक्थ्यो कोइरी जातिमा) । कोइरीका छोराको बिहे भएपछि ससुरालबाट साइकल पाउने पक्का हुन्थ्यो । हामी पाँच कक्षामा पढ्दापढ्दै कामेश्वर, नागेश्वर दुबैको बिहे भयो । दुबै रेल्ले साइकल चढेर गाउँबस्ती डुल्ने भए । साइकल पाइसकेपछि पढ्नु पनि किन प¥यो र ? दुबै गृहस्थीमा लागे । यहाँ मैले ‘साइकल पाएपछि पढ्नु किन प¥यो र ?’ भन्ने कुरा चाँही कतिपय परिवारमा राम्रो दहेजको मागकै लागि छोरोको कक्षा देखाउने त्यतिखेरको थिति सम्झन खोजेको हुँ ।

    समय बदलिएसँगै विवाहका माग पनि बदलिदै गए । साइकलको ठाउँ अहिले मोटरसाइकलले लियो । नगद मागको कुरा त शिक्षित मधेशी परिवारमा आम कुराजस्तै बन्यो । जो कन्यापक्षको घरखेत बेचाउने कुरामा अलिकता पनि अप्ठ्यारो मान्दैन । म मधेशमै हुर्की बढेकाले यहाँको सामाजिक सम्बन्धमा बाँधिनु , गाँसिनु स्वभाविक नै भयो । वैवाहिक सम्बन्धका प्रस्ताव लिएर निकै ठाउँ गएको छु, कन्यापक्षको भएर । हो, यसै ठाउँमा पाहाडी÷ मधेशीमा अलि भिन्नता पाउँछु । पाहाडी परिवारमा पुगेर सम्बन्धको प्रस्ताव राखेपछि ‘ल, ठिकै छ नि त, केटाकेटी आमनेसामने हउन् , उनीहरु राजी हउन् अनि थप कुरा बढाउँला’ भन्ने कुरा आउँछ । तर, मधेशी परिवारमा प्रस्ताव लिएर जाँदा प्रारम्भमै ‘कतेक खर्च करतै ?’ भन्ने कुरा आउँछ । मागकै रुपमा नभएपनि पछिल्ला केही दशकयता पाहाडी परिवारका विहापनि निकै भड्किला बन्दै गएका छन् । खासगरि गरगहनाको प्रदर्शन र भोजभतेरमा भड्किलोपन बढेको देखिन्छ ।

    वैवाहिक समारोहका भोजभतेर त मधेशी परम्परामा घटेको देखिन्छ । तीन दशकअघिसम्म बिहामा जन्तीलाई चार छाक ख्वाउने चलन अब एकछाकमा आई सकेको छ । तर, जसरी छोराछोरी दुबैलाई पढाउने जागरण मधेशमा बढ्दो छ, यस दृष्टिमा दहेजभने झनझन कुरुप बन्दै गएको देखिन्छ । यो परिवेशबीच दहेजरहित आदर्श विवाह कुनै निष्ठावान व्यक्ति वा परिवारले आँट र त्याग नै गरेर निर्णय लिने कुरा हो । हो, अहिले फुलगेनले त्यही आँट देखाए । फुलगेनका पिता रामउद्गार महतो स्नातक गरेको छोराको बिहे विनादहेज गर्न राजी भए । यो दृष्टान्त हो मधेशमा । यो विद्रोह हो मधेशमा । यसर्थ फुलगेनको आँटलाई सलाम र उनको त्यागलाई सलाम मैले भनेको हुँ ।

    अब फुलगेन हाम्रा आदर्श बनेका छन् । सुसभ्य मैथिल संस्कृतिको जगेर्नाका उन्नायक पनि । थुप्रै मैथिल युवा फुलगेनलाई अनुकरण गर्नेमा देखिउन् । फुलगेनको यो कामको सर्वत्र सकारात्मक चर्चा होस । हो, फुलगेनले खास काम नै गरेका हुन्–, उनीसँगैका हाम्रो अहिलेको पुस्ताले यो नयाँ संस्कृति बसाउन् । मिथिला प्राचीन उर्वर संस्कृतिको थलो रहेको हाम्रो इतिहास साक्षी छ, हामी खास खर्थमा त्यो मिथिला (मैथिल) संस्कृतिका सम्वाहक बन्न सकौं । दहेजजस्तो सामाजिक कुरिति अब हाम्रो केही दशक पहिलेको अतित थियो भन्ने कुरा नयाँ पुस्ताले स्थापित गर्दै अघि बढ्न सकोस् । फुलगेन दम्पतिलाई बधाई..! फुलगेन दम्पतिलाई शुभकामना…!!


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस