• The Public Today
  • बेलाको बोली !


    बिहिवार राजनीतिक, समसामायिक विषयमा कसले के बाेल्यो ? हेर्नुस् द पब्लिक टुडेले तयार पारेको बेलाको बोलीः

    अदालत प्रभावित नहोस्‘ – गगन थापा

    –‘अदालत यतिबेला परीक्षामा छ, यसप्रतिको आस्था र विश्वास रहोस् । बन्द कोठाभित्रको खासखुस र बाहिरको हल्लाले अदालत प्रभावित नहोस् ।’ प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले बुटवलमा गरेको सभामा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले भने, ‘अमेरिकामा डोनाल्ड ट्रम्पले नियुक्त गरेका न्यायाधीशहरुले उनले भने अनुसार फैसला नगरेर आफ्नो धर्म छाडेनन् । यहाँ पनि धर्म नछाडियोस्, संविधानमा टेकेर विवेक पु¥याएर न्याय गरियोस् ।’

    दिवास्वप्न पूरा हुन दिन्नौं‘ – जनार्दन शर्मा

    –‘एउटा गोप्य सूचना आएको, अस्ति भर्खरै बालुवाटारमा आगामी निर्वाचनबाट समानुपातिक समावेशी र संघीयता खारेज गर्ने छलफल भएछ,’ बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले भने, ‘समानुपातिक प्रतिनिधित्व खारेज गरेमात्रै आगामी चुनाव जित्छौं भनेर हिसाब किताब गर्नु ठूलो मुर्खता हो । यस्ता दिवास्वप्न हामी पूरा हुन दिने छैनौं ।’

    नेकपा टिपर हो, निहुँ नखोज्नुस्‘ – महेश बस्नेत

    –‘नेकपा टिपर हो । टिपरसँग कहिलेकाहीं कालो चश्मा लगाएको मोटरसाइकलले निहुँ खोज्छ अनि टिपरले वास्ता गरेन भने बाटोमै अचार बनाइदिन्छ’ सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजित पार्टी निकट युवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा ओली समूहका नेता महेश बस्नेतले भने, ‘नेकपा अहिलेको टिपर हो । निहुँ खोज्नेहरु मोटरसाइकल हो । निहुँ नखोज्नुस् ।’

    दुवैको मिलीमतोमा संसद विघटन‘ – चित्रबहादुर केसी

    –‘संयुक्त आन्दोलनमा नगई यो प्रतिगमन सच्चिनेवाला छैन । जननिर्वाचित संसदलाई कोठा भित्र बसेर विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक हो ।’ जनमोर्चा जिल्ला कार्यसमिति रुपन्देहीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘जनताले चुनेर पठाएका जनप्रतिनिधिको अगाडि नबसीकन प्रधानमन्त्रीले विद्या भण्डारीसित सल्लाह गरेर दुई जनाको मिलीमतोमा संसद विघटन गर्नुभयो ।’

    नयाँ सामाजिक सम्झौताको आवश्यकता छ‘ – चन्द्र किशोर

    –संविधान कार्यान्वयनको राजनीतिले वैधानिकता र राजनीतिक शक्ति दुवै गुमाउँदै गएको अवस्थामा एउटा नयाँ सामाजिक सम्झौताको आवश्यकता छ, जसलाई मूर्तरूप दिने काम तेस्रो जनआन्दोलनले गर्न सक्छ । सामाजिक संजाल फेसबुकमा बरिष्ठ पत्रकार चन्द्र किशोरले लेखेका छन्, ‘यथास्थितिका राजनीतिक, सामाजिक र संवैधानिक संरचनाहरू अनि समस्त नेपालीको अमूर्त भावनाबीच ठूलो दूरी छ । त्यसकारण सत्ता र शक्तिको केन्द्र काठमाडौं सधैंभरि सुदूर लाग्छ । भनिन्छ, अमूर्त भावना र मूर्त संरचनाबीचको असमञ्जसले नै इतिहासलाई धकेलिरहेको हुन्छ ।’


    क्याटेगोरी : अन्तरवार्ता, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस