मसान घाटमा बाँचेका जीवन !

  • राजकरण महतो

सोनी खोलाको किनार टेक्न ४५ बर्षीय केदार राउत कुर्मी दिउँसै डराउथें । मान्छे मर्दा मलामी भएर मात्रै उनी त्यहाँ जान्थें । त्यो खोला किनारलाई मसान घाटको रुपमा गाउँलेले लिन्थें । गाउँका कोही मर्दा त्यही खोलो किनारको बगरमा दाहसंस्कार गरिन्थ्यो । ‘शव जलाएको ठाउँमा जानु हुदैंन, त्यहाँ त भूत हुन्छ,’ बच्चामा उनलाई यहि भनेर घरपरिवार एवं गाउँलले डराएका थिए ।त्यही भएर उनी त्यहाँ जान दुई बर्ष अघिसम्म डर मान्थें ।तर, अहिले महोत्तरीको गौशाला–८ कुशमारीका केदारको दिनचर्या त्यही मसान घाटको बगरमा चल्दैं छ । टयांकरले सिचाई गरेर खोलाको ८ कठ्ठा बगरमा उनले करेसाबारी खेती लगाएका छन् ।विदेसमा पाएको सारा दुःख उनी खोलाको बगरमा भुल्दैंछन् ।

दिन होस् कि रात केदारलाई अब त्यो खोलो किनारमा जान रतिभर पनि डर लाग्दैंन । उनी झिसमिसे बिहानीमा उठ्छन् , कुटो–कोदालो लिएर खुसी हुदैं सोनी खोलाको किनारमा पुग्छन् ।जहाँ उनी करेसा खेती गरेका छन् । बगरमा उनको मेहिनेतले टमाटर, लौका, खुर्सानी, भन्टा लहलह झुलेको छ । प्याज, लसुन फष्टाउँदो छ ।

बिहान बेलुकाको खाजाखाजा उनी त्यही बसेर खान्छन् । आँखाले देखेसम्म पच्चासौं बिघा जग्गा खोलाको बाढीले निलेर सेताम्य बालुवा पिटिदिएको देखिन्छ । केदार मात्रै होइन् उनी जस्ता २ सय किसान सोनी खोलाको ७६ विघा बगर जमिनमा तरकारी खेती संगै आँप, लिच्ची, कागतीको ५ हजार बोट रोपेका छन् ।

‘झाडी नै झाडी थियो । दिनमै खोलाको किनार डरमर्दो लाग्थ्यो । सरसफाई गरि जोतकोर गरेर खेती लगाएका छौं । ५ हजारको लौका बिक्री गर्न सफल भए,’केदारले भने,‘ बालुवा नै बालुवा छ, त्यसमा हामी खेती लगाएका छौं । दुःख केही पनि छैन । अलि कति सिचाईको समस्या हुन्छ ।’

केदार सात बर्ष अघि परिवारको पेट पाल्न बिदेशीएका थिए । साँहुसंग एक लाख २० हजार रुपैंया कर्जा लिएर मलेसिया उडेका थिए । विरोनो भूमिमा तीन बर्ष उनले पसिना बगाए । तर, बचत त के कमाईले खाना खान पनि धौंउधौंउ भयो । आउने बेला रित्तै हात घर फर्किए ।

‘विदेश जाँदा साँहुसंग लिएको ऋण तिर्न सकिएन । त्यो ऋण बढेर साँढे पाँच लाख भयो । साँढे चार कठ्ठा जग्गा मात्रै थियो, त्यो जग्गा पनि बिक्री गरेर महाजनको साउ र ब्याज तिरे,’उनले भने ।

खुसीको खोजीमा विदेश गएका उनको गरिखाने थोरै जग्गा खोसियो । उनी सुकुम्बासी भएका छन् । गाउँ ब्लकको जग्गामा परिवारसहित बसिरहेका उनी सोनी खोलाको बगरमा जीवनको खुसी खोजिरहेका छन् ।

उनका छेमेकी कामेश्वर महतो पनि बगरमा १५ कठ्ठा करेसाबारी लगाएका छन् । काँक्रो, परब, लौका, तरबुज्जा फल्न थालेको छ । ‘कर्मबुरे पनि १ लाख रुपैंया आम्दानी हुन्छ,’उनले भने ।

गौशाला नगरपालिकाले गरिव तथा विपन्नहरुको आर्थिक स्तर उठाउन बगरको जग्गालाई उपयोगमा ल्याएको छ । स्थानीय सरकारले कोरोनाबाट रोजगारी गुमाएका गरिबहरुको जीवन रक्षाका लागि बगरको जग्गा वितरण गरेर करेसा खेती तथा फलफूल खेतीमा प्रेरित गरेको बगरलाई बगैंचा बनाउने अभियान चलाइरहेको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउँछन् । बगरमा खेतीपाती सिकाउन पैरवी मञ्च गरिवहरुलाई प्राविधिक सहयोग गरिरहेका छन् ।

गौशाला नगरपालिका र युएनडिपीको साँझेदारीमा बगरलाई बगैंचा बनाउने अभियान थालिएको हो । तीन वटा डिप बोरिङ्ग गरेर बगरमा सिचाईको व्यवस्था गरिएको छ । चार सय फिट मुनीबाट ड्रिल गरि गाडिएको बारिङ्गाबाट पानी तन्न विद्युतीय मोटरको प्रयोग गरिएको गौशाला नगरपालिका मेयर शिवनाथ महतोले बताए ।

‘बगर अब बगैंचा बन्दैं छ । यहाँ रमनिय पार्क बनाउँछौं,’उनले भने,‘नगरभरी रहेका हजारौं विघा जमिन गरिवलाई वितरण गरेर कृषी उत्पादनको क्षेत्रमा काम गर्ने योजना तयार गछौं ।’

कुरो २०५० साल तिरको हो । साँझा बाली हेरेर किसान खुशी हुदैं घर फर्किन्थें । भोली बिहान आउँदा सोनी बाढीले खेत कटान गरेर खोलो बनाइसकेको हुन्थ्यो । खोलाको बाढीले क्रमसं बाली लगाएको खेत निल्दैं गयो । तोरी, तिल, रहरी फल्ने बिघौं खेत सेताम्य बालुवाले छोपियो । असार, साउन, भदौंमा बौलाएर आउने बाढीसंग किसानहरुको केही सीप लागेन ।‘पछि खोलोले धार फेरेपछि त्यो सबै जमिन बगर भयो ।गाउँका मानिस मर्दा त्यही बगरमा दाहसंस्कार गर्न थालियो । चरन क्षेत्र भयो,’कुशमारी सामुदायिक कृषी वनका अध्यक्ष गर्भू सहले भने,‘त्यही जग्गालाई स्थानीय सरकारले संरक्षण गरेर कृषी उत्पादनमा प्रयोग गरेको हो ।’

खोलाको बगरमा जडिबुटी खेती लगाउन गौशाला नगरपालिकाको योजना छ ।त्यसका लागि गौशालाका कान्तिबजारमा डिप्लोमा तहको आयुर्वेदको कक्षा संचालन गरिएको छ । खोलाको नदी उकास जग्गामा जडिबुटी उद्यान निर्माण गरिने छ ।

उत्पादन बिक्री गर्न बजार खोज्दैं किसान

गौशाला नगरपालिकाको ४ वटा वडामा कोभिड १९ का कारण रोजगारी गुमाएका प्रभावित परिवारहरुका लागि आयआर्जन तथा रोजगारीको कार्यक्रम एक बर्ष अघि थालिएको थियो । माछा पालन, बाख्रा पालन, बगरमा गरिएको तरकारी खेतीबाट उत्पादन भएको चिजवस्तुलाई बजारमा सहज बिक्री गर्नर उत्पादनमा सबै खाले सहयोग गर्न किसानहरुले सरोकारवाला पक्ष माग गरेका छन् ।

सामुदायिक विकास पैरवी मञ्च बर्दिबास महोत्तरीका कार्यकारी अधिकृत शुशिल ढकालले उत्पादनदेखि बिक्री वितरणका लागि सबै कदमहरुमा सहज बनाउन पहल गरिएको बताए । गौशाला नगरपालिका–८ स्थित सोनी खोलाको ५० हेक्टर बगरमा ५ हजार आँप, लिच्ची, कागतीको साथै तरकारी खेती गरिएको छ ।गौशाला– १२ स्थित गैरी टोलस्थित नमूना मुसहर बस्तीमा नमूना बाख्रा पालन भइरहेको छ ।बेलगाछीको ढल्केवर क्षेत्रमा माछापालन भइरहेको छ ।

किसानलाई कृषि उत्पादन गर्न र त्यसलाई बजारमा लगेर सहज रुपले बिक्री वितरणका लागि उत्पादक र बिक्रेताको सञ्जाल निर्माण गर्न लागिएको छ । कृषि विकास बैंक बर्दिबास महोत्तरीका शाखा प्रबन्धक सुदिर घिमिरेले विश्व बैंकले कृषिमा परिवर्तन गर्न तीस बर्षका लागि विश्व बैंकले प्रदेश २ का ४० अर्ब दिन लागेको बताए । ‘किसान, दुवानी, व्यवारीलाई यो कर्जा लगानी गछौं । मल, खाद, बिजविजन लगायत क्षेत्रमा पनि लागु गरिने छ ,’शाखा प्रबन्धक घिमिरेले भने ।‘कृषि विकास बैंक , तपाई हाम्रो घर आगनको बैंक हो । कृषिलाई नछोड्ने, अरुलाई जोड्ने कार्यक्रम ल्याएका छौं ।’