• The Public Today
  • प्रहरीद्वारा एकैदिन ठुलो मात्रामा कच्चा पदार्थ बरामद


    • विजय कुमार सिंह

    ढल्केवर, जेठ ३० गते । धनुषामा प्रहरीले एकैदिन ठुलो मात्रामा अबैध कच्चा पदार्थ तथा तयारी घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

    प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीबाट ११ सय लिटरभन्दा बढी कच्चा पदार्थ तथा तयारी मदिरा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

    शनिवार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले एकैदिन ठुलो मात्रामा अबैध घरेलु मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिएको हो ।

    प्रहरीले धनुषाधाम नगरपालिका–९ धारापानीस्थित सुशिला थापाको घरबाट ७६५ लिटर कच्चा पदार्थ, बेचु मगरको घरबाट १९५ लिटर कच्चा पदार्थ र माया आलेको घरबाट ९० लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा गरी जम्मा १ हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा नियन्त्रणमा लिएको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिए ।

    मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि ढुंगा प्रहार भएको थियो । सोही क्रममा प्रहरी हबलदार राजु खान सामान्य घाइते भएको र प्रहरी भ्यानमा समेत क्षति पुगेको प्रहरी निरिक्षक सुबेदीले बताए । प्रहरीमाथि मदिरा तथा कच्चा पदार्थ खन्याएर दुव्र्यवहार, ढुंगा प्रहार गरेको अभियोगमा एक महिलासहित तीनजनालाई पक्राउ गरिएको उनले जनाए ।

    उनका अनुसार पक्राउ पर्नेहरुमा धनुषाधाम नगरपालिका–९ को ४० वर्षीय लक्ष्मी साह, सोही ठाउँका ३० वर्षीय श्रवण कापर र ३० वर्षीया सुशीला थापा रहेका छन् ।

    पक्राउ परेकामाथि मुदा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी निरिक्षक सुवेदीको भनाइ छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज
    ट्याग : #एक्सनमा इन्सपेक्टर सुवेदी

    प्रतिक्रिया दिनुहोस