• The Public Today
  • दिलिपको सम्झनामा चुरे बाटिका बनाइँदै, चुरे संरक्षणमा टेवा पुग्ने विश्वास


    • विजय कुमार सिंह

    ढल्केवर, जेठ ३१ गते । टिपरले किचेर हत्या गरिएका पर्यावरण अभियन्ता ओम प्रकाश महतो (दिलिप)को सम्झनामा चुरे बाटिका बनाइने भएको छ । ओम प्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले धनुषाको मिथिला नगरपालिका—५ स्थित औरही सामुदायिक वनमा दिलिप चुरे बाटिका बनाउने भएको हो ।

    संघीय सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुरधाम मार्फत ओम प्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानलाई १५ लाख बजेट दिएको छ । संघीय सरकारले उपलब्ध गराएको उक्त बजेटले पहिलो चरणमा बाटिकाका लागि बाउन्ड्री (घेराबेरा) लगाउने योजना अनुरुप काम अघि बढाइएको प्रतिष्ठानका सचिव फुलगेन मगहीले जानकारी दिए ।

    सोमवार एक कार्यक्रमबीच शिलान्यास गरी उक्त कामको शुभारम्भ गरिएको उनले बताए । यसअघि दिलिपको १३ दिनको पुण्यतिथिमा पूर्व राष्ट्रपति रामवरण यादव उक्त वनमा पुगेर वृक्षारोपण गरेका थिए । सोहि क्रममा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले उक्त स्थानमा दिलिप चुरे बाटिका बनाउनुपर्नेमा जोड दिएका थिए ।

    चुरे संरक्षणमा टेवा पुग्ने उदेश्यले वन क्षेत्रमा दिलिप बाटिका निर्माणको काम अघि बढाइएको दिलिपकी बहिनी समेत रहेकी प्रतिष्ठानकी अध्यक्ष संगम कुमारी महतोको भनाई छ ।

    २५ पौष २०७६ मा खोलाको अबैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ बर्षीय महतोको क्रसर डनले हत्या गरेका थिए । दिलिपलाई कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको थियो । हत्या गरेको आरोपमा तीन जना पुर्पक्षका लागि कारागारमा छन् ।

    हत्या गरिएका पर्यावरण अभियन्ता दिलिपको सम्झनामा प्रतिष्ठान गठन गरिएको छ । प्रतिष्ठानले चुरे तथा पर्यावरण संरक्षणका निम्ति काम गर्दै आएको छ । प्रतिष्ठानलगायत जनमानसबाट उठेको दिलिपलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने माग सरकारले बेवास्ता गर्दै आएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस