पाकिस्तानविरुद्धको एक दिवसीय श्रृंखला इंग्ल्याण्डद्वारा क्लिनस्विप

एजेन्सी, असार ३० गते । पाकिस्तानविरुद्धको ३ खेलको एक दिवसीय श्रृंखला इंग्ल्याण्डले क्लिनस्विप गरेको छ। तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै घरेलु टोली इंग्ल्याण्डले श्रृंखला ३–० ले जितेको हो। ३ सय ३२ रनको लक्ष्य लक्ष्य इंग्ल्याण्डले खेल सकिन १२ बल अगावै ७ विकेट गुमाएर भेट्टाएको थियो।

उसका लागि जेम्स भिन्सले १ सय २ रनको शतकीय इनिंग्स खेले। ९५ बलको सामना गर्दै उनले ११ चौका प्रहार गर्दै १ सय २ रन बनाए। त्यस्तै लुइस ग्रेगोरीले ७७ रन जोडे। बलिङमा पाकिस्तानका हरिश रौफले ४ तथा शादब खानले २ विकेट लिए।

यसअघि बर्मिंघममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३१ रन बनाएको थियो। पाकिस्तानका कप्तान बाबर आजमले १ सय ५८ रन बनाए।

त्यस्तै मोहम्मद रिजवान ७४ तथा इमाम उल हकले ५६ रनमा पेभेलिएन फर्के। इंग्ल्याण्डका ब्रायडन क्रसेले ५ अनि सकिब मोहम्मदले ३ विकेट हात पारे। जेम्स भिन्स म्यान अफ द म्याच तथा साकिब महमुद म्यान अफ द सिरिज चुनिए।

इंग्ल्याण्डले पहिलो खेल ९ विकेटले र दोस्रो खेल ५२ रनले जितेको थियो। पाकिस्तान र इंग्ल्याण्डबीच यही शुक्रवारदेखि तीन खेलको ट्वेन्टी-ट्वेन्टी श्रृंखला शुरु हुनेछ।