• The Public Today
  • अर्केस्ट्रा डान्सर : पिँजडामा बन्द महिलाहरूको कथा


    बीबीसी, साउन ५ गते । ठूला गोला आँखा, निलो रंगको कुर्तामा गोल्डेन पर्स बोकेकी महिलाको देब्रे हातमा पुतलीको ट्याटु । आफूलाई दिब्या बताउने उनको वास्तविक नाम भने अर्कै छ । दिवंगत अभिनेत्री दिव्या भारती औधी मनपराउने उनले अभिनेत्रीको नामबाटै आफ्नो नाम राखिन् । 

    नाम मात्रै होइन उनको रहर पनि मनोरञ्जन क्षेत्रमा छ । चलखेल गर्न मिल्ने केही फराकिलो ठाँउमा बार लगाएर पिँजडा जस्तो बनाएको हुन्छ । दिव्या त्यही थोरै फराकिलो स्टेज जस्तो बनाएको ठाँउमा कम्मर मर्काउँदै नाच्छिन् । 

    त्यो पिँजडाको स्टेज बाहिर रक्सीको नशामा लिप्त पुरुषहरू झुम्मिएका हुन्छन् । गीतसँगै दिव्या लगायत अन्य केटीहरू ठुम्का लगाइरहेका हुन्छन भने बाहिर नशामा भएका पुरुषहरू गिद्ध जस्तो उनीहरूलाई झम्टिनै खोजेको जस्तो आक्रमक देखिन्छन् ।

    यदि त्यो बारको परिधि नहोस् त ती नशामा लिप्त पुरुषहरू उनीहरूलाई झम्टिन पुगिहाल्थे । त्यो परिधिको स्टेजमा नाचिरहेका महिलाहरू अर्केस्ट्रा ब्रान्डका सदस्यहरू हुन । 

    श्रीमानको दुर्व्यवहारका कारण स्टेजको यात्रा
    विहारको पूर्णिमामा जन्मिएकी दिव्याको १३ वर्षको उमेरमै विवाह भयो । दिव्याका श्रीमान ड्राइभर थिए । उनी दिव्यालाई अपशब्द प्रयोग गरेर गाली गर्नेदेखि कुटपिटसम्म गर्थे । एकदिन घरबाटै निकालिदिएपछि उनी छोरीहरूलाई लिएर पटना गइन् । 

    अनलाइनमा भेटेका एक पुरुषले ‘सुटिङ’ मा काम लगाइदिन्छु भनेर उनलाई स्टेज सोहरूमा नृत्य गरेर पैसा कमाउने बाटोमा लगाइदिए । कही न कही उनी मनोरञ्जन क्षेत्रमा त आइन् तर उनले सोचेको मनोरञ्जन क्षेत्र यो पक्कै थिएन । तर उनीसँग अरू विकल्प पनि थिएन । किनभने पछिल्लो २ वर्षदेखि विश्वभरि फैलिरहेको कोरोना महामारीले उनलाई यो पेशा रोज्न बाध्य बनायो । 

    दिव्या लगायत अन्य धेरै केटीहरू विभिन्न अर्केस्ट्रा समूहमा आबद्ध छन् । उनीहरू विहार र युपीमा हुने विवाह, जन्मोत्सव लगायत ठूला–साना कार्यक्रमहरूमा छोटा चम्किला पहिरन लगाएर नाचेर आम्दानी गर्छन् । 

    पिँजडाभित्र नृत्यु, बाहिर गिद्धे नजर
    यही जुन महिनाको एक रात, चम्किलो पहिरनमा सजिएका तीन महिलाहरू यस्तै एउटा पिँजडामा नाचिरहेका थिए । केही पुरुषहरू भने आ–आफ्नो मोबाइल झिकेर उनीहरूलाई कैद गरिरहेका थिए । ती महिलाहरू भएको पिँजडाजस्तो ट्रली आफ्नै रफतारमा विवाहस्थलतर्फ लम्कदै थियो । 

    अर्केस्ट्रामा रहेका नृत्यांगना महिलाहरूका लागि यो पिँजडाको ‘इनोभेसन’ केही वर्ष अघिदेखि आएको हो । स्टेजमा नाचिरहेकी महिलाहरूमाथि त्यहाँ रहेका मदिरा सेवन गरेका पुरुषहरूले यौनदुव्र्यवहार गर्ने, बलात्कार गर्नेदेखि गोली नै चलाउने घटनाहरू धेरै भएपछि उनीहरूलाई खुला ठाँउमा नभई पिँजडा जस्तो बन्द स्टेजमा राखेर प्रस्तुति दिन लगाउन थालिएको हो । यो अर्केस्ट्रा समूहकै गाडीको पछाडि भागमा बनाइएको हुन्छ ।

    भावुक हुँदै दिव्या भन्छिन् “कुनै इज्जत छैन । म अरू नै बन्न खोजेको थिएँ । तर यहाँ आएर फसेँ ।”

    उनी अगाडि थप्छिन्, “तपाईंलाई थाहा छ मलाई के मनपर्दैन् ? म पिँजडामा नाच्नुपर्छ । यो जुलुस जसरी पूरै गाँउमा घुमाइन्छ । मानिसहरूले हाम्रो भिडियो बनाउछन् । हामीलाई गाली गर्छन्, दृव्र्यवहार गर्छन् ।”

    यो पेशामा आएको गिरावट, अराजकता र शोषणको निसानी हाे । तर पिँजडाभित्र नाच्न बाध्य महिलाहरू खुसी छैनन् । उनीहरू आफू चिडियाखानामा बन्द रहेका जनावरसँग तुलना गर्दै यो पेशा छोडेर बरु देहव्यापार र अन्य पेशातिर जान थालिसकेका छन् । 

    गरिबीबाट बच्न डान्सलाइनको बाटो
    आकांक्षाकी बहिनीलाई यस्तै डान्स कार्यक्रममा एक रात गोली लाग्यो । गोली उनको टाउको छेडेर निस्किएको थियो, तर उनी बाँच्न सफल भइन् । तर यो घटनाले आकांक्षालाई भित्रैबाट हल्लाएको छ । अर्केस्ट्राका मालिक मनीषले एफआईआर दर्ता गराउन खोजे तर प्रहरीले दर्ता गर्न मानेन । 

    आकांक्षा र उनकी बहिनी पछिल्लो ३ वर्षदेखि विहारमा ‘अर्केस्ट्रा ब्यान्ड’ नामक समूहसँग आबद्ध भएर काम गरिरहेका छन् । यस्तोमा गोली प्रहार हुने, दुव्र्यवहार हुने कुराहरू उनले पहिले पनि सुनिसकेकी थिइन् । तर अहिले आफैँले भोग्नु प¥यो । 

    उनीहरूसँग योबाहेक अरू कुनै विकल्प छैन । उनीहरूसँग अरू विकल्प वर्षाैँ अघि बुबाको निधनसँगै समाप्त भएको थियो । आमा अरूको घरमा काम गरेर खर्च जुटाउने गर्थिन् । परिवारमा आयस्रोतको दोस्रो विकल्प नभएपछि यी दिदीबहिनीले विद्यालय छोड्नपर्‍यो । 

    त्यसपछि उनी घर नजिकैको विद्यालयमा ‘कन्टेम्पोररी डान्स’ सिकाउन थालिन् । यही क्रममा चिनजानको एक व्यक्तिमार्फत उनी विहार आइपुगिन् । त्यहाँ दुवै दिदीबहिनीलाई टेलिभिजन पर्फमेन्स र स्टेज सोमा काम पाउने र पैसा पनि बढी पाउने प्रलोभन देखाएर उता लगे । 

    तर यहाँ आएर उनीहरू विवाह, जन्मोत्सव लगायत सानादेखि साना कार्यक्रमहरूमा नाच्न थाले । घण्टौँ नृत्य गर्दापनि उनीहरूले एकदिनको १७ सय रुपैयाँ मात्रै पाउँथे । यसरी नपुग्ने देखिएपछि उनीहरू अझै मेहेनत गरेर अरू कार्यक्रमहरूमा पनि जाने योजना बुन्दै सपना साकार बनाउने खुड्किला चढ्नै लागेका थिए तर बहिनीलाई त्यस्तो घटना भयो । 

    पार्टी र विवाहमा नाच्ने रेखा वर्माका अनुसार यी महिलाहरू कमजोर पृष्ठभूमिका छन् । उनका अनुसार यी महिला कलाकारहरूको सुरक्षा र अधिकारका लागि एउटा संगठन खोलिएको छ । सरकारको तर्फबाट पनि यी कलाकारहरूलाई कुनै मान्यता नदिएको गुनासो उनले पोखेकी छन् । 

    “म उनीहरूलाई संरक्षण दिने कोसिस गरिरहेको छु । हामीलाई त कलाकारको मान्यता पनि दिइँदैन,” रेखाले भनिन् । 

    यी डान्सर महिलाहरूलाई कोरोना महामारीले अझै कमजोर बनाइदिएको छ । कोरोनाका कारण भिडभाड गर्न नमिल्ने भएपछि विवाह समारोहहरू परिवारका सदस्यहरूबीवच मात्रै सीमित हुन थालेका छन् । 

    जसको प्रत्यक्ष असर यी महिला कलाकारहरूमाथि परेको छ । काम  पाउन मुस्किल भएपछि उनीहरू कोठा भाडा तिर्न र परिवार पाल्न नै मुस्किल परिसकेको छ । 

    यसकारण उनीहरू देह व्यापारमा संलग्न हुन वाध्य छन् ।बीबीसी हिन्दीबाट


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस