• The Public Today
  • धनुषामा कमला नदीको बाँध भत्कियो, जिल्लाको पूर्वी क्षेत्रका गाउँहरू जोखिममा


    जनकपुरधाम, साउन ६ गते । कमला नदीमा आएको बाढीले धनुषातर्फको बाँध भत्किएको छ ।

    बाढीले सबैला नगरपालिका–१३, किरतपुरनजिक बाँध भत्काएर खेत कटान सुरु गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले जानकारी दिए ।

    कटान नियन्त्रणको प्रयास गरिरहेको उनले बताए । “नियन्त्रणको प्रयास जारी छ । अझै भइसकेको छैन,” उनले भने, “खोलामा पानीको बेग धेरै छ । १७ फिट तलसम्म पानी छ ।”

    बाँध करिब ३०० मिटर भत्किएको छ । बगर हुँदै धान खेततर्फ पानी गइरहेको छ । केही समयमा धान खेतमै पानी पुग्ने उनको भनाइ छ । बाँध बचाउन नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास गरिरहेका छन् । प्लास्टिकको बोरामा माटो हालेर पानीलाई खोलातर्फ डोर्‍याउने प्रयास भइरहेको छ ।

    नियन्त्रणको प्रयास सफल नभए गाउँमै पानी पस्ने जोखिम रहेको छ । करिब ६०० मिटर बाँध अझै जोखिममा रहेको उनले बताए । सबैला नगरपालिकाकै पर्टेबानजिकको बाँध पनि भत्किने अवस्थामा रहेको उनले जानकारी दिए ।

    बाढीका कारण हुन सक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क गराइएको छ । बाँध भत्किएपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेका छन् । स्थानीय क्रसित भएका छन् ।

    बाढीले धनुषाको सबैला नगरपालिका, सहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरु डुबानमा पर्ने जोखिम बढेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस