महोत्तरी : सात किशाेरी हराएको घटना अनुसन्धानमा आलटाल गर्दै प्रहरी

  • रोहित महतो

जनकपुरधाम, साउन ७ गते । महोत्तरीको भंगहा नगरपालिका-८, स्थित धर्मपुरका सात जना किशाेरी हराएको घटना अनुसन्धानमा प्रहरीले आलटाल गरेको छ । घटनामा संलग्नता आशंका गरिएका कालाकार पूजा पासवान र दलित जनजाति पार्टी भीम आर्मीका प्रदेश इन्चार्ज जितेन्द्र पासवानले थप संशयपूर्ण अभिव्यक्ति दिए पनि महोत्तरी प्रहरी मुकदर्शक बनेकाे हाे । 

योजनाबद्ध रूपमा सातैजना किशाेरीलाई बेच्न भारतर्फ लगेकाे भनी दुवै शंकास्पद व्यक्तिबीच एकअर्काविरुद्ध आरोपप्रत्याराेप चलिरहँदा प्रहरीचाहिँ चुपचाप बस्नुलाई धेरैले अनौठो मानेका छन् ।

घटना गएको १७ चैतमा भएकाे थियाे । शंका गरिएका पूजा र जितेन्द्रबीच पछिल्लो समय विभिन्न कारणले विवाद हुँदा उनीहरू पाेख खाेलाखाेल गरिरहेका छन् । घाँस काट्ने बहानामा घरबाट निस्केका स्थानीय १२ वर्षीया सीमा पासवान, रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १४ वर्षीया रिया, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवानलाई हराएको भोलिपल्ट भारतकाे बिहारस्थित सीतामढी रेल्वे स्टेसनबाट उद्धार गरिएको थियो ।

नेपालका प्रहरी अधिकारीले ती किशाेरीहरू टिकटक हेरेर गायिका बन्ने धुनमा मुम्बईतिर लागेकाे दाबी गरेका थिए । तर, किशाेरीको उमेर, परिवेश तथा रहनसहनले प्रहरीले त्यतिखेर गरेको नाटकीय दाबीलाई धेरैले पत्याएका थिएनन् । अहिले आएर घटनामा संलग्नता आशंका गरिएका दुवै जना व्यक्तिकाे पाेल खाेलाखाेलले प्रहरीकाे उक्त दाबी कपाेकल्पित थियाे भन्ने प्रमाणित गरेकाे छ । 

पूजाका अनुसार जितेन्द्रसँग खपटपट हुँदा विवाद हुनुभन्दा एक दिनपहिले फोनमा उनले ‘सोच्न नसक्ने घटना गराइदिने’ धम्की दिएका थिए । अनि भोलिपल्टै पूजाकी आफ्नै काकाकी छोरीसहित सात जना किशाेरी हराएका थिए । जितेन्द्रले घटनाको कडीसँगै जोडिएका केही महत्त्वपूर्ण कुरा खोलेका छन् । उनका अनुसार किशाेरी हराएकै दिन उनी दिल्ली जाँदै थिए । कुनै कामले दिल्ली जाँदाजाँदै घटनाबारे थाहा पाएलगतै आफू बाटोबाटै फर्केको उनले बताए ।

किशाेरीहरूको उद्धार गर्न आफूले भीम आर्मीकाे टोलीसमेत बोर्डमा खटाएको जितेन्द्रकाे दाबी छ । घटना भएकाे दिन उनी दिल्ली जानु र किशाेरीहरूको अवस्था अज्ञात हुँदाहुँदै किशाेरीहरू भएकै ठाउँमा उनले आफ्नाे टाेली पठाउनु अनि त्यहाँका प्रहरीसँग समन्वय गरेको भन्नुले समेत उनकाे भूमिका शंकास्पद देखिन्छ ।

कुनै बेला एकदमै हिमचिममा रहेकी पूजाले कालाकार बनाउन भन्दै किशाेरीहरूलाई सुनाेयाेजित रूपमा भारत बेच्न लगेकाे जितेन्द्रकाे आरोप अनदेखा गर्नेखाले छैन । कलाकार बनाउन भन्दै पूजाले नै ती किशाेरीहरूलाई भारत पठाएको तर भाग्यले उनीहरूको उद्धार भएको यहाँकै कतिपय स्थानीयहरू बताउँछन् । यद्यपि, प्रमाण नरहेकाले यसबारे सार्वजनिक रूपमा कसैले मुख खोल्न सकेका छैनन् ।

घटनाको अझै निष्पक्ष छानबिन हुनुपर्ने भंगहाका स्थानीयको माग छ । पूजाले ओरेक नेपालको सेफ हाउसमा मोटो रकम लिएर घटना दबाइएको आरोप लगाएकी छन् । ओरेकले भने त्यसको खण्डन गरेको छ । तर, यसबारे निष्पक्ष छानबिन हुनुपर्ने स्थानीयको भनाइ छ । घटनाबारे ती किशाेरीका परिवारले समेत डरले केही बोल्न मानेका छैनन् । बारम्बार उनीहरूसित सम्पर्क गर्दा फेरि कुनै लफडा पर्नसक्ने भन्दै उनीहरू पन्छिने गरेका हुन् । 

पूजा र जितेन्द्रको बयानले घटना शंकास्पद देखिएको भंगहा नगरपालिकाका प्रमुख सञ्जीव साह बताउँछन् । उनले घटना छानबिनका लागि महोत्तरीका एसपी दिनेश आचार्यसित कुरा गर्ने बताए । सुरक्षा तथा प्रशासनिक अधिकारीको सक्रियता र संयोगले त्यतिखेर सीतामढीबाटै ती किशाेरीहरूको उद्धार भए पनि घटना निकै गम्भीर रहेको महिला अधिकारकर्मी गुन्जा राय बताउँछिन् ।

यसबारे प्रहरीले फेरि पनि निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । ‘एकै ठाउँका सातजना छोरी बेत्तपा भएपछि सबैलाई त्यतिखेर चिन्ता भयो । घटनाले देशभर उथलपुथल मच्चियो । तर, बचा भेटिइसकेपछि यसको पछाडि कसले के भूमिका खेल्याे ? कसको संलग्नता छ ? त्यो खोजबिन हुन सकेन्’, रायले भनिन्, ‘प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गर्नुपर्थ्याे । संलग्नलाई पक्राउ गरी मुद्दा चलाउनुपर्थ्याे । उनीहरूको बयानले फेरि घटना शंकास्पद देखिन्छ । आरोपीलाई पक्राउ गरी अहिले फेरि प्रहरीले अनुसन्धान गर्नुपर्छ ।’

दलित तथा अशिक्षित परिवारका ती किशाेरीहरू आफैँ टिकटक हेरेर मुम्बई जानसक्ने कुरा विश्वास गर्न लायक नरहेको उनले दाबी गरिन् । ‘उनीहरू दलित समुदायका, सधैँ घाँस काट्ने, पढाइबाट टाढै रहने किशाेरीहरू हुन् । घटनामा संलग्नलाई प्रहरीले बाहिर ल्याउन सकेन । यो साधारण कुरा होइन् । घटनामा कोही न कोही अवश्य संलग्न छन’, उनले थपिन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले घटना अनुसन्धानबारे एसपी आचार्यसित कुरा गर्ने बताए पनि उनले बेवास्ता गरेका छन् । घटना भएका बेला अफू काठमाडौंमा रहेको बताउने उनले अनुसन्धानतर्फ केन्द्रित हुनुको साटो बहानाबाजी गर्दै आएका छन् । ‘घटनाको लामो समय भयो । बीचमा मान्छेले जसलाई जे जे भनेर पनि सिकाए हुन्छ । आफैँ पनि सिकेको हुन्छ’, उनले भने ‘उनीहरूको कुरा अहिले त्यति विश्वसनीय हुन्छजस्तो लाग्दैन । एसपी सा’बसँग सल्लाह गर्नुपर्ला ।’ व्यक्तिगत रिसिइबि साँध्न उनीहरूले एक अर्कामाथि त्यस्तो गम्भीर आरोप लगाएको हुनसक्ने अनुमान डीएसपीले सुनाए । -शिलापत्र