• The Public Today
  • महोत्तरीका ३०३ वर्ष पुरानो विद्यालय : जहाँ बालागुरु षडानन्दले पढेका थिए !


    • राजकरण महतो

    महोत्तरी, साउन ९ गते । तप्–तप् वर्षाको पानी छतबाट एकोहोरो चुहिरहेको छ। कोठाहरूका पर्खालसमेत चिरा–चिरामा विभक्त छन्। भग्नावशेष भवनको संरचना कतिखेर ढल्छ त्यसको ठेगान छैन। भुइँमा इँटा र काठ छरपस्ट छन्।

    बटुकहरू सुत्ने खाट भग्नाशेषको कब्जामा परेझै देखिन्छ। सुत्ने ओछ्यान, ओढ्ने ब्ल्याङ्केट र पढ्ने कापी–किताब सबका सब इँटा र काठले पुरिएको छ। यसै भग्नाशेषमा हराइरहेको छ, नेपालकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीको इतिहास। ३०३ वर्ष पहिले महोत्तरी जिल्लाको मटिहानीमा वि.सं. १७७५ सालमा रामलला दास(तस्मैया बाबा)का शिष्य जयकृष्ण दासले संस्कृत पाठशालाको नामले स्थापना गरेका थिए।

    शिक्षा विभागको तथ्याङ्कमा यो विद्यालयको स्थापना वि.सं. १८६८ मा भएको उल्लेख छ। शिक्षा सेवा आयोगको प्रश्नमा नेपालको पहिलो विद्यालय कुन  हो  भनेर २०७२ सालबाट सोध्न थालिएको छ। उत्तरमा राजकीय संस्कृत मावि मटिहानी हो भनेर दिइन्छ। जुन गुरुकुल १५ कट्ठामा फैलिएको छ। राज गुठीअन्तर्गतको लक्ष्मीनारायण मठका मान महन्थ थिए तस्मैया बाबा। हालै गुरुकुलको एउटा जीर्ण कोठाको छत खसेको छ। जुन १२० वर्ष पहिले निर्माण गरिएको थियो। विद्यार्थी कक्षामा पढिरहेको बेला छात्रावास कोठाको छत खसेको थियो। मानवीय क्षति हुनबाट जोगियो।

    १८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको थियो। १९१० सालमा जंगबहादुर रानाले दरबार हाईस्कुल खोलेका थिए। उनले खोलेका विद्यालयलाई नै अहिलेसम्म नेपालको सबैभन्दा पुरानो स्कुल भनेर भनिन्छ।

    यो गुरुकुल साँचो अर्थमा ‘मिनी नेपाल’ हो जहाँ सबै थरीका फूलरूपी बटुकहरू मटिहानीको बगैंचामा फक्रिरहेका छन् : 
    – विन्देश्वरीप्रसाद मण्डल, प्रेस स्वतन्त्रता सेनानी

    दरबार हाईस्कुलको नामनिशान नहुँदै मटिहानी–७ मा लक्ष्मीनारायण मठबाट संस्कृत गुरुकुल सञ्चालन गरिएको थियो। गुरुकुलको भौतिक संरचना जति जीर्ण छ त्योभन्दा अब्बल यसको इतिहास छ तर राज्यको नजरमा कोसो टाढा छ। पुरातात्त्विक विभागको अध्ययन, अनुसन्धान तथा खोजमा यो देशकै जेठो गुरुकुल अटाउन सकेको छैन। धमिराले दस्तावेज सखाप पारिसकेको छ।

    पुराना पुस्ताले नयाँ पुस्तालाई यसको इतिहास लोरी, कथा, कहानीमा सुनाउँछन्। जीवित पाँच पुस्ताको जिब्रोमै यो विद्यालयको नाम छ, कति पुस्ता माटोमा मिलिसके। पुरानो संरचनालाई बचाउन ज्ञानलाई विज्ञानसँग जोड्न प्रविधिको प्रयोगको खाँचो छ।

    यस गुरुकुलमा कक्षा ८ देखि १२ सम्म पढाइ हुन्छ। अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक गरी पाँच सय पूर्णांक अनिवार्य छ। जनसंख्याको बदला अनिवार्य संस्कृत भाषा पढाइन्छ। ब्राह्मण बटुकहरू देव तथा पितृकार्यका लागि कर्मकाण्ड पढ्छन् भने अन्यले ऐच्छिक गणित र शिक्षा पढ्छन्। ८ सय पूर्णांकमा वेद, ज्योतिष, व्याकरण, साहित्य, न्याय, दर्शन पाँचमध्ये एउटा विषय रोज्न पाइन्छ। कक्षा १२ पास गरेपछि नजिकै रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठमा संस्कृतकै शास्त्री र आचार्य अध्ययन गर्न जान्छन्।

    संस्कृतबिना आधुनिक भाषाहरू शुद्घ हुँदैनन्, संस्कृतलाई रोजगारमूलक शिक्षासँग जोडेर अघि बढाउन सकिन्छ: 
    – अमिरिलाल मण्डल, पूर्वप्रधानाध्यापक

    उज्यालो विगत, अँध्यारो वर्तमान
    लक्ष्मीनारायण मठ राज गुठीमा पर्छ। आजभन्दा साढे ५ सय वर्ष अघि यो गुठी अस्तित्वमा आएको थियो। यही गुठीबाट राजकीय संस्कृत माध्यमिक विद्यालयको उदय भएको थियो। संस्कृत भाषालाई बुर्जुवाहरूको शिक्षा भनियो। साधारण स्कुलबाट संस्कृतको पाठ्यक्रम हटाइयो। आधुनिक शिक्षा पद्वतिले संस्कृत संकटमा पर्‍यो। उत्पादित जनशक्तिले बजार पाएनन्। संस्कृतप्रति रुचि घट्दै गयो। संस्कृत पढाउने विद्यालयमा विद्यार्थी कम हुँदै गयो। अहिले नयाँ पुस्ताबाट संस्कृत भाषा हराउँदै गइरहेको छ भने देशमा संस्कारी जनशक्ति उत्पादनमा ह्रास आएको छ।

    संस्कृत सभ्यता र ज्ञानको ब्रह्माण्ड हो जसबाट विज्ञानका सबै सूत्र विकास भएका हुन् : 
    – डा. राजेश झा, प्रदेश प्रमुख, प्रदेश २

    बालगुरु षडानन्दजस्ता विद्वान्् जन्माएको राजकीय संस्कृत गुरुकुलले आफ्नै मुहार फेर्न सकेको छैन। यो पाठशालाले हजारौं–हजार बटुकहरूलाई शिक्षाको ज्योति दियो। यहीबाट ज्ञान आर्जन गरेर सयौंले विद्वान्को मानपदवी पाए। कुलपति, प्राध्यापक, नेपाल सरकारको सचिव, सीडीओ, डाक्टर, इन्जिनियर, वैज्ञानिकजस्ता कैयौं लाल जन्माए। तर, गुरुकुलको दैनिकी भिच्छाटनबाट चल्दैछ। यो दुर्भाग्य हो। पहिला संस्कृत माध्यमिक विद्यालयमा कहाँ बर्मा, कहाँ सिक्किम, कहाँ दाङ सबैतिरका बटुकहरू पढ्न आउँथे। ‘पहिला फुसको छाप्रो थियो। भुइँमा चटाई ओछ्याएर शिष्य र गुरु बस्थें, पढ्थें र पाइन्थ्यो’, न्याय दर्शनका शिक्षक शोभाकान्त झा भन्छन्, ‘अब त्यो कहाँ पाउनु। अब डेक्स र बेन्च आइसक्यो।’

    पहिले दिनमा गुरुहरू पढाउँथे, राति बटुकहरू आफंै पढ्थे। शिक्षकहरू रेखदेख गर्थे। तीन बजे बिहानै उठेर पढ्नु पथ्र्यो। जो सुतेका हुन्थे। गुरुहरूले लोटामा चिसो पानी ल्याएर जीउमा खन्याइदिन्थे। गुरुकुल नजिकै प्रथमा, मध्यमा र आचार्य गरी तीन पोखरी थिए। दिउँसो बटुकहरू पोखरीको डिलमा टुप्पी कसेर मन्त्र रट्थे। मध्यमा र आचार्य पोखरी अझै पनि मटिहानीमा छन्। निकै दु:ख गरेर विद्यार्थी विद्वान् बन्थे। पहाडका विद्यार्थी त सात पढेर आउँथे। एसएलसी पास गरेर मात्रै घर फर्किथे। अहिलेजस्तो आउजाउ गर्न पहिले यातायात र सञ्चारको सुविधा कहाँ थियो र ? आर्थिक अवस्था पनि उस्तै थियो।

    १५० रुपैयाँमा महिनाभरि भोजन
    गुरुकुलमा ५४ जना बटुकका लागि भोजन छात्रवृत्ति आउँछ। ४४ जनालाई प्रतिमहिना दुई हजार बराबरको रासन प्राप्त हुन्छ भने १० जनालाई १५० रुपैयाँका दरले मासिक नगद छात्रवृत्ति मुठी संस्थाले लक्ष्मीनारायण मठमार्फत पठाउँछ। ३५ वर्षअघि तय गरिएको दर अझै जारी छ। महँगीले आकास छोइसक्यो। तर, छात्रवृत्ति रकम बढ्दैन। तत्कालीन शिक्षा कार्यालय, गुठी संस्थान, भूमि सुधारसचिव, मन्त्रीलाई हारगुहार गर्दा पनि सुनुवाइ नभएको गुनासो गुरुकुल परिवारको छ। भैरहवाको भैंसाखादरमा व्याकरणविद् सन्त शर्माजीका नामले प्रचलित सन्त सीताराम दासका गुरु नाममा रहेको १४ बिघा जग्गा गुरुकुलको नाममा दानमा प्राप्त भएको छ। यसबाट वार्षिक दुई लाख आम्दानी आउँछ। यो खर्चले गुरुकुललाई पुग्दैन। बटुकहरू बिरामी भए अरूकै भर पर्नुपर्छ। कोचाकोच गरेर सानो कोठामा उनीहरू रात काट्छन्। त्यो कोठा पनि जीर्ण छ। देशकै प्राचीन गुरुकुलका बटुकहरू समस्यै, समस्या छन्। दु:खै–दु:खमा छन्। बुझिदिने सरकार छैन। अभाव खेपेर भए पनि बटुकहरू उज्वल भविष्यका निम्ति घुँडा धसेर पढिरहेका छन्।

    वेद लोप हुन थाल्यो त्यसैले वेद बचाउन वेद विषयमै आचार्य हुँदै वेद विषयको प्राध्यापक बन्छु : 
    – विकास झा, बटुक

    गुठीको सम्पत्तिमा ब्रह्मलुटछ। मठद्वारा जन्माइएको संस्कृत स्कुलको हरिबिजोग छ। बटुकहरू कहिले आधा पेट खान्छन् त कहिले भोकै हुन्छ। साग, दही–दुध, मिठाई उनीहरूलाई सपनाझैं लाग्छ। महँगीको मारले छात्रवृत्तिले पुग्दैन। विद्यालयले दाताहरूसँग भिच्छा माग्छन्, बटुकलाई पाल्छन्। अरू विद्यालयमा पढेर घर जानेहरूका लागि दिवा खाजाको प्रबन्ध छ। तर, यहाँ बटुकहरू बिहान खाएपछि रातिकै खानामा भर पर्नुपर्छ। स्थानीय ६३ वर्षीय सुफला र बिल्टु मण्डल झन्डै ४० वर्षदेखि बटुकलाई खाना बनाएर खुवाउँदै आएका छन्। ‘दुई रुपैयाँको तरकारीले छाक टार्नु पर्छ, सय रुपैयाँभन्दा किलोको बजारमा तरकारी पाइँदैन’, राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले भने, ‘अलि राम्रो दालको भाउ किलोको दुई सयभन्दा बढी नै हुन्छ। कसरी चलाउने गुरुकुल ? कठिन छ।’ गुठी संस्थाबाट आउने छात्रवृत्ति रकम बाटोमै चुहिने गरेको बताउँदै उनले थपे, ‘छात्रवृत्ति रकम सीधा हाम्रो गुरुकुलको खातामा आउनुपर्छ।’

    अभावै अभावमा देशकै गौरवपूर्ण शैक्षिक इतिहास बोकेको स्कुल बाँचिरहेको छ। महिनामा १०–१२ हजारको बिजुली महसुल उठ्छ। बिल तिर्ने रकम छैन। कहिले हात जोडेर दाता गुहारिन्छ अनि तिरिन्छ। न तिरे गुरुकुलको लाइन काटिने खबर आउँछ। कसैलाई मतलब छैन। पूर्वप्रधानमन्त्री, मन्त्रीहरू गुरुकुलमा आउँछन्, फर्केपछि समस्या समाधान गर्न चासो दिँदैनन्। स्कुलको मुहार फेर्न मटिहानी नगरपालिका लागि परेको मेयर हरिप्रसाद मण्डल बताउँछन्।उनले विद्यालयको इतिहासबारे अध्ययन अनुसन्धान गर्नुपर्ने संघीय सरकारसँग माग गरेका छन्।

    ज्योतिषमा आचार्य गरेर ज्योतिष परामर्श केन्द्र खोल्छु : – ज्ञानेश्वर दुबे, बटुक

    ‘मिनी नेपाल’ बन्यो संस्कृत मावि
    नेपालको ६ प्रदेश, २७ जिल्लाका १ सय ५० विद्यार्थी गुरुकुलमा पढ्छन्। मटिहानी बाहिरका ६० जना छन्। उनीहरू स्कुलकै होस्टलमा बस्छन्। के पहाडी, के हिमाली, के मधेसी सबै मिलेर बस्छन्, खान्छन्, पढ्छन्। सिन्धुपाल्चोकका युवराज न्यौपाने १२ वर्षको उमेरमै मटिहानी आए। उनी अहिले उमेरले १४ वर्ष पुगे। कक्षा १० मा पढ्छन्। सुरुमा उनलाई आउँदा डर लाग्थ्यो। अहिले उनलाई आनन्द लाग्छ।

    गुरु, गुरुआमाले आफूहरूलाई निकै माया गर्ने गरेको उनीले बताए। विद्यालयमा पाँच दिनअघि १३ वर्षीय पिन्टु मण्डल आएका छन्। सर्लाहीको बलराका उनलाई आउँदा कहाँ आएजस्तो लाग्थ्यो। घुलमिलले अहिले उनी खुसी छन्। मटिहानीका मोहम्मद इसराफिल राइन हालै कक्षा १२  पास गरे। फरक भाषा र भिन्न भूगोलका साथीसँग पढ्न पाउँदा उनी खुसी भएको बताउँछन्। मुस्लिम समुदायका उनी संस्कृत पढे। इसरापिल निजामती क्षेत्रको कम्प्युटर अपरेटरमा जागिर खाने तयारीमा छन्। राजनीति र जातीय परम्पराले चिरा परेको समाजलाई यो गुरुकुलले भावनात्मक रूपमा जोड्ने काम गरिरहेको छ। कुनै समय यस गुरुकुलमा पहाडका बाहुन र मधेसका मैथिल ब्राहमणलेमात्र प्रवेश पाउँथे।

    ‘देशमा गणतन्त्र आयो। सबैले प्रवेश पायो। चमार, पासवान, परियार, खत्वे, मुस्लिमलगायतका जातजातीका बटुकहरू एउटै भान्छाको भात खान्छन् एउटै कक्षामा पढ्छन्’ प्रधानाध्यापक पौडेल भन्छन्। विद्यालय नजिकैको ऐतिहासिक तथा धार्मिक लक्ष्मी सागरमा हरेक बिहीबार बटुकहरूले लक्ष्मीनारायण भगवान्को साप्ताहिक आरती गर्नमा सघाइरहेका छन्। मटिहानी नगरपालिकाले पोखरीमा आरतीको सुरुआत गरेको हो। ‘यो गुरुकुल साँचो अर्थमा ‘मिनि नेपाल’ हो’, ८८ वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डल भन्छन्, ‘जहाँ सबै थरीका फूलरूपी बटुकहरू मटिहानीको बगैंचामा फक्रिरहेका छन्।’ गुरुकुलमा अभाव हुँदा स्थानीयले सहयोग गर्छन्। हालै नेपाली सेनाले भान्साकोठा निर्माण गरिदिएका छन्। पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल यस गुरुकुलका अभिभावक  अभियन्ताका रूपमा छन्।

    ३०३ वर्ष अविच्छिन्न यात्रा
    प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम। त्यहाँबाट १५ किलोमिटरपश्चिम–दक्षिण लागेपछि महोत्तरीको जलेश्वर आउँछ। त्यहाँबाट घरी पूर्व त घरी दक्षिण मोडिँदै मटिहानी बजार पुगिन्छ। बजार नपुगिँदै गाउँकै मुखमा भव्य स्वागतद्वारले पाहुनालाई स्वागत गर्दछ।त्यो स्वागतद्वारमै संस्कृतको श्लोकबाट संस्कृत शिक्षाको गरिमालाई झल्काउने काम गरेको छ।मटिहानी बजारको मुख्य सडक।सडकको उत्तरतिर लक्ष्मीनारायण मठ छ अनि दक्षिणमा लक्ष्मी सागर पोखरी। बिहानको सूर्यको किरणको आकर्षणसँगै वैदिक मन्त्रोचरण र शंघघोषले मटिहानी तपोभूमि र ज्ञानभूमिको अनुभूति गराउँछ। पोखरीको पूर्वपट्टिको किनार छिचोल्दा एउटा गेट आउँछ। जहाँ श्री राजकीय संस्कृत माध्यमिक विद्यालय लेखिएको छ। जसले तीन सय तीन वर्षदेखि अविच्छिन्न रूपमा शिक्षाको ज्योति फैलाइरहेको छ। अरूलाई उज्यालो दिने गुरुकुल आफैं अँध्यारोमा परेको छ। गुरुकुल परिसरमा पस्दा संस्कृतमा एउटा नीति श्लोकमा नजर पर्छ :

    ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामय’ भन्ने शब्दले विश्वबन्धुत्व र भातृत्वको सन्देश दिन्छ। विश्वभरकै कल्याण चाहने र कामना गर्ने गुरुकुलको भवन जीर्ण हुनु बिडम्बना हो। तर, केही झिनो आश भने जीवित छ। नजिकै केही नयाँ भवन बन्दै छ। अझै नजिक पुग्दा पुरानो भवनबाट शंख र घण्टको ध्वनि कानसम्मै गुञ्जिन्छ। मन्दिर नै पुगेझैं भान हुन्छ, आहा ! झ्यालबाट चियाउँदाभित्र जाउँजाउँ लाग्छ। पहेंलो रंगको वस्त्रधारण गरेका बटुक देखिन्छन्। विश्व शान्तिका लागि उनीहरू लयवद्ध अखण्ड रुद्राभिषेकपाठकमा मग्न हुन्छन्। साँझ ध्यान, योगा र महादेवको आरती गर्छन्।महर्षि फाउन्डेसन गुरुकुलमा देवकार्य तथा पितृकार्यका लागि दक्षजनशक्ति उत्पादन गर्न दैनिक रुद्री, गीता, उपनिषद्, नीतिशास्त्रजस्ता ग्रन्थहरूको अध्ययन गराउँछ। मन, वन, कर्मले विश्व शान्तिको कामना होस् भनी संकल्पसहित वेदध्वनि गराउँदै आएका छन्। जसका कारण गुरुकुल शैक्षिक, धार्मिक, पौराणिक पयर्टनको आकर्षणको केन्द्रविन्दुका रूपमा विकास हँुदै गएको गुरुकुलका संरक्षक तथा लक्ष्मीनारायण मटका मठाधीश जगन्नाथदास वैष्णव बताउँछन्।

    हराइरहेको इतिहास
    साढे पाँच सय वर्ष पहिले मटिहानीको जंगलमा पोखरी छेउ रूखमुनि रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त पिर बाबा बस्थे। रामदास (तस्मैया बाबा) लाई पिर बाबाले भविष्यवाणी स्वरूप कुनै चमत्कारपूर्ण दृश्य भएको स्थानमा आफ्ना खन्ती र चिम्टा गाड्न सल्लाह दिए। एक दिन राम दासले एउटा बिरालालाई मुसाले आफ्नो वशमा पारेको अद्भुत दृश्य अवलोकन गरे। उनले पिर बाबाको भविष्यवाणी स्मरण गर्दै त्यसै ठाउँमा अठारौं शताब्दीपूर्व खन्ती र चिम्टा गाडे र मठको स्थापना गरे। जुन अहिले पनि यथावत् छ।

    त्रेता युगमा माता सीताको विवाह हुँदा मटकोरमा मटिहानीबाट माटो खनेर लगिएको थियो। जनकपुरमा त्यही माटोबाट वेदी बनाइएको थियो। माटो खनेकै ठाउँमा लक्ष्मी सागरमा तस्मैया बाबाले स्नान गर्दा भगवान् लक्ष्मीनारायणको मूर्ति भेटाएका थिए। त्यस मूर्तिलाई प्राण प्रतिष्ठा गरेपश्चात् नैवेद्यको रूपमा खीर अर्पण गरी लक्ष्मीनारायण भगवान्को मन्दिर स्थापना गरे। याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानीका सहप्राध्यापक धु्रव रायका अनुसार, तस्मैया बाबाका शिष्य जयकृष्ण दास थिए। उनी आफै संस्कृतका महावैयाकरण थिए। उनले नै १७७५ सालमा संस्कृत पाठशालाको स्थापना गरे। आफ्ना शिष्यलाई उनले स्वतन्त्र रूपमा पाणिनी व्याकरणको अध्यापन प्रारम्भ गरे। जयकृष्ण दासका शिष्य वनमाली दास पनि वैयाकरण ज्ञाता थिए। उनले पनि महाविद्यालयको सम्वद्र्धनमा तदारुकता देखाए। वनमालीका शिष्य रामरक्षा दास महन्थ भएपछि गुरुकुलमा व्याकरण विषयका साथै वेदको पनि अध्ययन–अध्यापन प्रारम्भ गरे। वनमालीको समयमा महाविद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये १०८ लाई भोजनको व्यवस्था गरियो।

    विस्तारै गुरुकुलमा १९६८ सालमा ज्योतिष र न्याय विषय पनि थप गरियो। पाठशालामा २००३ सालसम्म चार विभाग र चार शिक्षक कायम थिए। २००४ सालमा साहित्य विभाग थपियो। व्याकरण, वेद, ज्योतिष, न्याय र साहित्यको पढाइ हुनथाल्यो। २००८ सालमा पाठशालाको नाम राजकीय संस्कृत प्रधान पाठशाला राखियो। २००८ सालदेखि शिक्षकहरूलाई हाइस्कुलका शिक्षकले पाउने तलब दिइन्थ्यो भने उनीहरूले आचार्यसम्म पढाउँथे। २०११ सालतिर अंग्रेजी विषयको पनि त्यसैमा पढाइ हुनथाल्यो। २०२५ सालमा तत्कालीन श्री ५ को सरकारद्वारा पाठशालाबाट उच्च कक्षा हटाई माध्यमिक कक्षा कायम गरियो। तत्कालीन मानमहन्थ कौशलकिशोर दासले पाठशालाकै शिक्षकहरूबाट निजी स्रोतमा लक्ष्मीनारायण महाविद्यालयको स्थापना गरे। त्यो महाविद्यालय पनि प्रधान पाठशाला(हालको राजकीय संस्कृत मावि)कै भवनमा सञ्चालन गरियो।

    २०२८ सालमा नेपालमा नयाँ शिक्षा योजना लागू भयो। त्यसमा उच्च शिक्षातर्फ पनि धेरै नयाँ र सुधारात्मक योजना आयो। प्रत्येक अञ्चलमा एउटा संस्कृत क्याम्पस हुनुपर्ने प्रावधान ल्याइयो। त्यस बेला जनकपुर अञ्चलमा जनकपुरस्थित याज्ञवल्क्य महाविद्यालय र मटिहानीमा लक्ष्मीनारायण महाविद्यालय निजी स्रोतमा सञ्चालित थिए। मठका तत्कालीन मान महन्थ कौशल किशोरले जनकपुरको याज्ञवल्क्य महाविद्यालयलाई मटिहानीको लक्ष्मीनारायण महाविद्यालयमा समाहित गरी याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (क्याम्पस) नामकरण गराए। उक्त विद्यापीठ २०३० साउन १ गतेदेखि आफ्नो छुट्टै परिसर र भवनमा सञ्चालित भई अस्तित्वमा आयो। यो विद्यापीठ त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनेको इतिहास छ।

    यहाँ प्राच्य विधाका वेद, व्याकरण, न्याय, ज्योतिष र साहित्य विषय ‘क’ वर्गीय (मूल) विषयका रूपमा र आधुनिक विधाका नेपाली, अंग्रेजी, मैथिली, हिन्दी, राजनीतिशास्त्र, अर्थशास्त्र, गणित ‘ख’ वर्गीय (सहायक) विषयका रूपमा अध्ययन गराइन्छ। ‘संस्कृत महाविद्यालय, संस्कृत पाठशाला, राजकीय संस्कृत, प्रधान पाठशाला हुँदै २०२५ सालमा आएर माध्यमिक विद्यालय र लक्ष्मीनारायण महाविद्यालय छुट्टिएदेखि आजसम्म संस्कृत अध्ययनका केन्द्र रूपमा शैक्षिकसंस्था मटिहानीमा अस्तित्वमा छन्’, गुरुकुलका पूर्वशिष्य तथा सहप्रध्यापक राय भन्छन्। राय २०३४ सालमा संस्कृत माविबाटै एसएलसी दिएर नेपालभरमै मधेसी मूलका भएर पनि उनले नेपाली विषयमा बोर्ड टप गरेका थिए। एक सय पूर्णांकमा ८६ नम्बर उनले ल्याएका थिए।

    फरक परिवेश, फरक सपना
    गुरुकुलको स्कुलको छात्रावासको ५ नम्बर कोठामा बस्छन्, तीन बटुक। उनीहरू फरक–फरक परिवेशका छन्। कक्षा १२ मा ज्योतिष पढ्दै गरेका दैलेख दुल्लुका १९ वर्षीय खगेन्द्र उपाध्याय व्याकरण विषय लिएर पढ्दै छन्। ‘पढेर व्याकरण विषयमा आचार्य गर्छु अनि गाउँमा आश्रम खोलेर पढाउँछु’, उनी भन्छन्। खगेन्द्रका साथी छन्, रौतहटको १८ वर्षीय ज्ञानेश्वर दुबे। उनी भन्छन्, ‘ज्योतिषमा आचार्य गरेर ज्योतिष परामर्श केन्द्र खोल्छु।’ चिना, कुण्डली बनाउन सिक्दै उनी कक्षा ११ मा ज्योतिष विषय लिएर पढिरहेका छन्। ज्ञानेश्वरसँग बस्छन्, महोत्तरीको जलेश्वरनजिक थरुवाहीका १६ वर्षीय अर्का बटुक विकास झा। कक्षा १० मा वेद लिएर अध्ययन गरिरहेका उनी भन्छन्,‘वेद लोप हुन थाल्यो। त्यसैले वेद बचाउन मैले वेद विषयमै आचार्य गर्ने सोच बनाएको छु।’ पढेर वेद विषयको प्राध्यापक बन्ने उनको सपना छ। विद्यालयकी संस्कृत भाषाकी शिक्षिका वन्दना कर्ण भन्छिन्, ‘भाषा जीवनको एउटा आभूषण हो। अरूचिज खिइएर जान्छ तर भाषा हराउँदैन। झन् त्यसमा संस्कृत भाषा देवको भाषा हो।’

    ज्योतिष विषयकी शिक्षिका प्रेरणा साहका अनुसार, ज्योतिष पढ्ने बटुक कहिले बेरोजगार बन्दैन। कोठामा बसेर हातको रेखा र चिना कोरेर जीवन चलाउन सक्छ।सन् १९६२ तिर संस्कृत माध्यमिक विद्यालयमा पढेका श्यामनन्द मिश्रले आचार्य तहको १०० नम्बरको ज्योतिष विषयमा ९५ नम्बर ल्याएर स्वर्ण पदक पाए। उनले पूरा विश्वविद्यालय उत्कृष्ट गरेर अर्को स्वर्णपदक हात पारे। उनले कामेश्वर सिंह संस्कृत विश्वविद्यालयमा परीक्षा दिए। ‘त्यतिखेर नेपालमा र बिहारमा तहल्का मच्चियो’, नव्य न्याय दर्शनका प्राध्यापक डा. गोविन्द चौधरीले सुनाए, ‘त्यो समयमा स्वर्णपदक पाउनु कम्ता ठूलो कुरो हुँदैनथ्यो।’ मटिहानीमा पहिला आचार्य तहको पढाइ मात्रै हुन्थ्यो। परीक्षा भारतका विश्वविद्यालयमा गएर विद्यार्थीहरूले दिन्थे।

    ८४ वर्ष उमेर टेक्दै गरेका डा. चौधरी संस्कृत गुरुकुल मटिहानीका शिष्य हुन्। संस्कृत शिक्षा ओझेलमा पर्दा उनी चिन्तित छन्। उनी भन्छन्, ‘समाजमा रुपैयाँवालाको शान बढ्यो। विद्वान्हरूको मान घट्दै गइरहेको छ।’ संस्कृत भाषाको विकासबिना संसारको उन्नति, प्रगति नहुने उनले बताए। ‘पहिले शिक्षामा राजनीति पसेको थिएन। सबै गुरुहरू पढाउनेबाहेक केही काम गर्दैनथे। अहिले त पढाउनेभन्दा धैरै राजनीति हुन्छ। त्यसैले शैक्षिक संस्थाहरू ध्वस्त बने। शैक्षिक संस्थाहरू नोम्यान्स ल्याण्डजस्तै थिए राजनीतिका लागि’, संस्कृत माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक अमिरिलाल मण्डलले भने। विद्यापिठ मटिहानीका सहप्राध्यापक राय भन्छन्,‘संस्कृतलाई रोजगारीमूलक शिक्षासँग जोडेर अघि बढाउनु पर्छ। संस्कृतबिना आधुनिक भाषाहरू शुद्ध हुँदैनन्।’

    ‘संस्कृत ज्ञान मात्रै होइन, हाम्रो सभ्यता र संस्कृत पनि हो। संस्कृत ज्ञानको ब्रह्माण्ड हो यसले आधुनिक शिक्षा जीवनसँग अर्थ राख्छ’, विद्यालयको अवलोकनका लागि आएका प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा(अहिराज) भन्छन्,‘विज्ञानको सबै सूत्र संस्कृतबाटै विकास भएको हो।’ नेपालको ७७औं जिल्लामा सुविधासम्पन्न वेदविद्याश्रम संस्कृत विद्यालय खोल्नुपर्ने उनको भनाइ छ। थप्छन्, ‘जहाँ ज्ञान हुन्छ त्यहाँ विवेक हुन्छ।जहाँ विवेक हुन्छ त्यहाँ अनुशासन।’तीन वर्षे आयुर्वेदको पठनपाठन सञ्चालनका लागि राजकीय संस्कृत विद्यालयले योजना बनाएको छ।तर, सिटिईभिटीमा सबै प्रक्रिया पूरा गरेर पनि अनुमति नपाउँदा गुरुकुल निराश बनेको छ।

    ००००

    उसबेलाकै पढाइ गतिलो
     

    – प्राध्यापक दिनेशराज पन्त, इतिहासविद्

    चीन कालमा मान्छेले मान्छेलाई विद्या दान गर्नुपर्छ भन्ने थियो। विद्या खर्च गरे झनै बढ्छ तर पैसा खर्च गरे सिद्धिन्छ भन्नेबाट मानिस प्रेरित हुन्थे। शिक्षा त दाजुभाइमा अंशवण्डा लाग्दैन। चोरीचकारी पनि हुँदैन। कमाएको धनसम्पत्ति चोरले लैजान सक्छ, विद्या त कसरी ? त्यो बेलामा गुरुकुल दुईथरि हुन्थे: एक घर–घरमा गुरुले पढाउँथे, दोस्रो राजाहरूले पण्डित राखेर राजकीय पाठशाला खोल्थे। नि:शुल्क शिक्षा लिने र दिने काम हुन्थ्यो। अहिले शिक्षा व्यापारीकरण भएर गयो।

    गुरुकुलमा चेलोले घरबाट केही ल्याउँथे, त्यो अत्यन्त कम हुन्थ्यो। भिक्षाटन गर्न जान्थे। मौका परे गाई पनि माग्नु गुरुले चेलोलाई भन्थे। दूध खानु पर्‍यो नि। चेलालाई गुरुले भन्थे। यस्तो चलन थियो। गाउँ–गाउँमा, ठाउँ–ठाउँमा पढाउने चलन थियो। अहिलेजस्तो मास एजुकेसन थिएन त्यो बेला। सबैले जाने पनि नजाने पनि पढ्नुपर्ने। जतिले पढ्थे राम्रो पढ्थे। शाह कालमा १८९७ सालमा राजेन्द्रविक्रम राजा थिए। उनले केही पण्डित राखिदिए। अहिलेको शब्दमा प्राध्यापक भनिन्छ। राजाले विद्यार्थीलाई पढ्न भेटी दिन्थे। राजकीय ढंगबाट पाठशाला चलाइन्थ्यो।

    गुरुकुलमा पढाउने कुरो लिच्छवीकालदेखि नै छ। पूर्वमध्यकालमा पनि भयो, यो परम्परा मल्लकालमा पनि रह्यो। नेपालको सबैभन्दा पुरानो राजकीय संस्कृत माध्यमिक पाठशाला नै हो। यसको इतिहासको खोजी गरिनुपर्छ। पहिला विद्यार्थीलाई गुरुहरूले वेदलगायत पढाउँथे। प्राचीनकालमा छोरीहरू गुरुकुलमा पढ्थे। पुरुषले कमाउने र घरमा महिलाले त्यो सम्पत्ति संरक्षण गर्ने परम्परा आयो। छोरी शिक्षामा पछाडि परे। जनैपूर्णिमामा अहिले ससुराली वा जजमानकहाँ रक्षा बाँध्छन् तर उहिले बर्खा मौसममा चारैतिर बाटोघाटो रोक्या हुन्थे। पढिसकेका र पढिरहेका विद्यार्थी वरिष्ठ गुरुकहाँ बस्थे। बसेर ज्ञान उधिन्ने गर्थे। जनै लगाएर विद्याको आराधना गरिन्थ्यो।

    सरस्वतीको मूर्तिमा अहिले पनि जनै लागेको देखिन्छ। महिलाहरूले त अहिले जनै लगाउँदैन। उहिले त नारीहरूले पनि लगाउँथे। गार्गी, मैत्रीहरू पढेरै ठूला–ठूला भए। मध्यकालमा धर्म लोप हुने भयो भन्दै सानैमा छोरीको विवाह गरिदिने चलन आयो। छोरी घरमै जाने हो भन्दै हलुका ढंगले सोचिन्थ्यो। अहिले धनी परिवारका छोरीले पढाउँछन्, गरिबले अझै पढाउँदैनन्। अहिले चोरेर र ढाँटेर पनि पीएचडी गर्न खोज्नेहरू छन्। उहिले बीएसम्म पढेकाले मानभाउ पाउँथे। पहिला थोरै पढे पनि त्यो गुणस्तरीय पढाइ हुन्थ्यो। म्याट्रिक फेल भएकाले एमए गरेकालाई पढाउन सक्थे।

    प्राचीनकालमा राजनीतिसँग मान्छेलाई मतलव हुँदैनथ्यो। जो राजा भए पनि हामीलाई के मतलव ? भन्ने थियो। कुन पार्टीको सरकार बन्छ ? को प्रधानमन्त्री बन्छ ? अहिले त चाहिनेभन्दा बढी चासो हुन्छ। संस्कृत पढ्नेहरूकै दोषले यो भाषा ओझेलमा पारे। १७/१८औं शताब्दीसम्म संस्कृतमा धेरै उन्नति भयो। सबैले संस्कृत पढ्नुपर्छ भन्ने छैन। पढ्नेले राम्रोसँग पढ्नुपर्छ। विगतमा गतिला विद्यार्थी र गतिलै गुरुहरू हुन्थे। अहिले फरक छ। शिक्षक पढाउँदैनन्, राजनीतिसमेत गरेर हिँड्छन्। ३०३ वर्ष पुरानो राजकीय संस्कृत विद्यालयको इतिहास खोजी गरी संरक्षण र प्रवद्र्धन गरिनुपर्छ। -अन्नपुर्ण पोस्टबाट


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, विविध, समाज


    प्रतिक्रिया दिनुहोस