• The Public Today
  • महोत्तरीका यी ३०३ वर्षे विद्यालय खोज्दै सरकार


    • राजकरण महतो

    बिहानको खाना खाँदै थिएँ। मोबाइलमा टिङ, टिङ घण्टी बज्यो। खान छोडेर छेउमै रहेको मोबाइल उठाएँ। नेपालको सबैभन्दा पुरानो स्कुल ‘राजकीय संस्कृत माध्यमिक विद्यालय’ मटिहानी, स्थापना १७७५ साल लेखिएको मेसेज देखें।

    दिपेन्द्रबहादुर सिंह नामको फेसबुक प्रयोगकर्ताले केही महत्त्वपूर्ण सूचना लेखेका रहेछन्। उनले पठाएको लिंक सूचनाका लागि सम्पादक दाइ अखण्ड भण्डारीले पठाउनु भएको रहेछ। मुछेको भात थालमै छोडें। किन म्यासेज पठाउनु भएको रहेछ ? तुरुन्तै उहाँलाई फोन गरें।

    ‘राजकरण, तिमीले त्यो म्यासेज हेर्‍यौ ?’ कल उठ्नासाथ दाइले सोध्नुभयो। ‘हेरे, दाइ !’ ‘त्यो गज्जबको समाचार हुन्छ। दौडिहाल, खोजमूलक यस्तै दमदार समाचार लेख्नुपर्छ।’ स्थलगत रिपोर्टिङ थालें। सात दिन लगाएर समाचार तयार पारें। सोचेभन्दा राम्रो स्थान पायो, पहिलो आधा पृष्ठसहित फुर्सदको मध्यभागमा दुवै पृष्ठ। सामान्यत समाचारमा एउटा फोटो जान्छ यसमा त फोटोफिचर पनि।

    हुनत त्यो विषय खोज्न अथक मिहेनत र थुप्रै कष्ट भयो। इतिहासमा हराइरहेको ३०३ वर्ष पुरानो विद्यालयको अविच्छिन्न यात्राको कथा खोज्नु सहज कहाँ थियो र ? सबका सब कागजपत्र धमिराको कब्जामा परेको थियो। स्कूलसँग देखाउन पुस्तकालयमा केही किताब, पुरानो टेबल र केही पुराना कागज मात्रै थिए। समाचार खोजी गर्न चुनौतिपूर्ण थियो।

    तर पनि देशकै गौरवपूर्ण इतिहास बोकेको स्कूलसँग पाठकलाई साक्षात्कार गराउन सफल भयौं। गत साउन ९ गते शनिबारको अन्नपूर्ण पोस्ट् दैनिक मुख्य समाचार बन्यो, राजकीय संस्कृत माध्यमिक स्कूल। गौरवगाथा कोलममा गुरुकुलले स्थान पायो। जुन समाचार चर्चा बटुल्न सफल भयो। शिक्षाको जग बसाएको गुरुकुलले अझै मुहार फेर्न नसकेको खबर पाठकका लागि रोचक र सरकारलाई दबाब बन्यो।

    इतिहासमा हराइरहेको ३०३ वर्ष पुरानो विद्यालयको अविच्छिन्न यात्राको कथा खोज्नु सहज कहाँ थियो र ? सबका सब कागजपत्र धमिराको कब्जामा परेको थियो। स्कूलसँग देखाउन पुस्तकालयमा केही किताब, पुरानो टेबल र केही पुराना कागज मात्रै थिए।

    अन्नपूर्ण पोस्ट्सँगको ७ वर्षे यात्रामा सम्झन लाइक समाचार हो यो। ‘३०३ वर्ष पुरानो विद्यालय, जहाँ बालागुरु षडानन्द पढेका थिए…’  शीर्षक आफैंमा ओजनदार शीर्षकसहितको समाचार हो मेरा लागि। रिपोर्टरको डायरी ओछ्यानबाट लेखिरहेको छु। रातदिनको खटाइ, घामपानी, भोकअनिन्द्राका कारण थलिएको छु। कोरोनाको कहरबिच दौडँदाका चुनौति भनिसाध्य छैन।

    रिपोर्टिङका क्रममा यसै पनि कोरोनोबाट दोस्रो पटक संक्रमित भएको थिएँ। भर्खरै तंग्रिएकाले फिल्डमा जाने आँटै थिएन। साउन ३ गते मात्रै महोत्तरीको बर्दिवासबाट ६२ किलोमिटर टाढाको स्कूलमा गएको थिए। १८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे। त्यसभन्दा ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको रहेछ। १९१० सालमा जंगबहादुर राणाले दरबार हाईस्कूल खोले। उनले खोलेको विद्यालय नेपालको सबैभन्दा पुरानो स्कूल भयो। १७७५ सालमा स्थापना गरिएको गुरुकुल अझै नेपालको पहिलो स्कूलमा दर्ज हुन सकेन।

    छापिएको त्यही समाचारले शुभचिन्तक, साथीभाइ सबैको फोनको घण्टी तारन्तार बजिरह्यो, ‘धेरै राम्रो लेखिस्…।’ सद्भावयुक्त शब्दहरूले थाकेको ज्यानलाई आराम मिलेको छ, बिरामीलाई निको हुन औषधिले भन्दा बढी काम गरिरहेको छ। समाचार खोजी गर्न चार दिन त गुरुकुलमै बास बसें। विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले सञ्चो विसञ्चो सोधखोज गरिरहे। उनी सँगै हिँडे, खाए र सुते। कहिले गुरुकुलमा भोजन भयो त कहिले पौडेल सरकै भान्छामा। उहाँले आफैं खाना पकाएर खुवाउनुभयो। २० वर्ष पत्रकारिता गरेर खारिएका जो थिए, ईश्वरी सर। साथमा प्रधानाध्यापकको रूपमा हुनु निकै सजिलो थियो। समाचारको विषयवस्तु खोज्न सघाउन उनी हामीसँगै रातदिन नभनी कुदिरहे।

    पहिला गुरुकुलमा पढ्ने बटुकहरू पोखरीको किनारमा बसेर पढ्ने चलन रहेछ। प्रथमा, मध्यमा र आचार्य गरी तीन तहका तीन पोखरी थिए। शान्त ठाउँमा बटुकहरू पोखरीको डिलमा टुप्पी कसेर पढ्थे। हामी त्यो पोखरी हेर्न जाने भयौं। मध्यमा पोखरी आयो। पोखरीको पूर्व किनारमा पिपलबोट रहेछ। सुन्दर, हराभरा ठाउँ। आचार्य पोखरी कस्तो होला ? बाटोमा मोटरसाइकलको चक्का हिलोमा गाडियो। हामी झन्डै उत्तानो प¥यौं। कुनै बेला नेपाल वारी त कुनै बेला सीमा पारी। दशगजामा दुवै देशका भैंसी चराउनेहरू एउटै ठाउँमा भैंसी चराइरहेका दृष्य रोचक थियो। साँझ पर्दै थियो। हिलाम्य बाटो हिँड्दै जाँदा खुट्टा भासिए, चप्पल हिलोमा हरायो। बाटोमै मोटरसाइकल छोडेका हामी चप्पल पनि छोडेर अघि बढ्यौं।

    सुनसान ठाउँमा मोटरसाइकल र चप्पल चोरे भने के गर्ने चिन्ता पनि थियो सरलाई। ‘चोरी हुँदैन। चिन्ता नलिनुस्’, मैले आश्वास्त पार्न खोजें। आचार्य पोखरीमा त रंगिविरंगी वृक्षहरू। त्यसमाथि अस्ताउन लागेको सूर्यको प्रकाश टल्किएको पोखरी। आहा ! कति सुन्दर पे्रमिल साँझ। पर्यटकीय स्थल बनाएको भए क्या गज्जब हुन्थ्यो ? पोखरीको डिलमा घुम्दै गर्दा ईश्वरी सरको खुट्टामा काँडाले घोच्यो। हिँड्न निकै कठिन हुन थाल्यो। म पनि डराएँ। दिनलाई रातले वशमा पार्दै थियो। राति सीमामा लुटपाट, कुटपीट हुने डर हुन्छ। खुसी मनमा एकाएक डरले डेरा जमायो। हतार हतार निस्कँदा लुगाभरी हिलो लागिसकेछ। राति गुरुकुल पुगेपछि मन एकाएक शान्त भयो।

    सम्बन्धित समाचारः— महोत्तरीका ३०३ वर्ष पुरानो विद्यालय : जहाँ बालागुरु षडानन्दले पढेका थिए !

    मटिहानीबाट ७ किलोमिटर टाढा जलेश्वर रातारात पुग्यौं। याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानीका सहप्राध्यापक धु्रव राय सरको दैलोमा पुग्दा उनले पाहुनाझैं सत्कार गरे। मेटिन लागेको मटिहानीको शैक्षिक इतिहास उनले लेखेका रहेछन्। सामान्य जानकारी पाइन्छ कि भनेर गएको ठूलो सूचना हात लाग्यो। ढुंगो खोज्दा देवता भेटाएझैं भयो। किन भने गुरुकुलको इतिहास खोज्न दिनभर भौतारिएको थिएँ। धु्रव सरसँग कुरा गर्दै गर्दा अब गज्जब समाचार बन्छ भन्नेमा ढुक्क भएँ। खुसी हुँदै रातको पौने १ बजे फर्किदा बाटोमा कुकुरले लखेट्यो। पैदलै ईश्वरी सरको जलेश्वरस्थित कोठा पुगें। २ घन्टा आँखा चिम्लें र ५ बजे बिहान गुरुकुल पुगें। दिनभर घामले शरीरको लुगामा पसिनाको वर्षा भइरह्यो। निथ्रुक्कै भिजेजस्तै हुन्थें। टाउकाको पसिना आँखामा पुग्दा खुर्सानीले झैं पोल्थ्यो।

    सुफला मण्डल काकाको गज्जबको हाँसो मनभरि गढिरह्यो। उनी ४० वर्षदेखि गुरुकुलमा भान्से रहेछन्। उनैले पकाएको खाना खाएर स्कूलको इतिहास खोजें। ‘बहुत खुसी लाग्छ। मैले खाना खुवाएका बच्चाहरू आज देशमा ठूला मान्छे बनेका छन्’, उनले भनेका थिए, ‘उनीहरू मटिहानी आउँछन्। मन र ज्यान मिलाउँछन्। २–४ सय रुपैयाँ र लुगाफाटो दिन्छन्। बहुत खुसी लाग्छ।’ नेपालको ६ प्रदेश, २७ जिल्लाका १ सय ५० विद्यार्थी गुरुकुलमा भविष्य खोजिरहेका छन्। मटिहानी बाहिरका ६० जना छन्। उनीहरू स्कूलकै होस्टलमा बस्छन्। के पहाडी, के हिमाली, के मधेसी सबै मिलेर बसेका छन्, खाएका छन्, पढेका छन्। यो गुरुकुल साँचो अर्थमा ‘मिनी नेपाल’ हो। जहाँ सबैथरिका फूलरूपी बटुकहरू मटिहानीको बगैंचामा फक्रिरहेका छन्। तर बटुकहरूलाई अभावले घेरेको रहेछ। बिहान खाए दिउँसो के ? एकैचोटी रातकै खाना खानुपर्दोरहेछ। छात्रवृत्तिको खाजा छैन। सुत्ने कोठा, ओछ्यान र ओढ्नेको उस्तै अभाव छ।

    गुठी संस्थानले पठाएको छात्रवृत्तिले पुग्दैन, गुरुकुल भिक्षाटनमा चलिरहेको छ तर गुठीको सम्पत्तिले व्यक्ति मोटाएका छन्। जीर्ण भग्नाशेषमा नेपालकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीको इतिहास हराइरहेको छ। १७७५ सालमा रामलाल दास (तस्मैया बाबा)का शिष्य जयकृष्ण दासले संस्कृत पाठशालाको नामले त्यो विद्यालय स्थापना गरेका रहेछन्। गुरुकुलको भौतिक संरचना जति जीर्ण छ त्योभन्दा अब्बल छ यसको इतिहास तर राज्यको आँखा कहिल्यै परेन। फेरि संस्कृत स्कुलको समाचार लेख्ने मन छ तर दुःख होइन खुसीको।-

    अन्नपुर्ण पोस्टकर्मी पत्रकार राजकरण महतोको यो रिपोर्टर डायरी आजको अनपुर्ण पोस्टमा छापिएको छ ।


    क्याटेगोरी : अन्तरवार्ता, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस