एक अमानवीय क्रुरताको २० वर्ष : ज्ञानको ज्योति फैलिएको दिन अन्धविश्वासको जरो उखेलिनेछ !

महोत्तरी, साउन २९ गते । महोत्तरीको मटिहानी सिमरदहीकी मरनीदेवी साहले ठ्याक्कै २० वर्षअघि ‘बोक्सी’ आरोपमा गाउँलेबाट चरम यातना भोगिन्।

जति बेला उनी ४४ वर्षकी थिइन्, अहिले ६४ वर्ष पुगेकी छन्। छारे रोगले छिमेकीका छोरोको मृत्यु हुँदा मरनीदेवीले टुनामुना गरेर मारेको आरोप गाउँलेले लगाए। बेहोस बनाउने औषधि पूजाको प्रसादमा मिसाएर ख्वाइयो। बेहोस भएपछि निर्घात कुटपिट गरियो। प्रहरीले उद्धार गरेपछि उनको ज्यान जोगियो। 

उनी ३२ वर्षको उमेरदेखि गाउँमा स्वास्थ्य स्वयंसेविकाको काम गर्थिन्। तर, बोक्सी आरोपको घटनापछि त्यसविरुद्धको अभियानमा समर्पित भइन्।

अन्धविश्वासको चक्कीमा पिसिएर बाँचेकी उनी २० वर्षदेखि बोक्सी आरोपविरुद्ध जनचेतना फैलाउँदै हिँडेकी छन्। अन्धविश्वास तथा रुढिवादी परम्पराविरुद्ध घुम्टोबाहिर निस्किएर आफूजस्तै अरूलाई जागरुक बनाउन क्रियाशील मरनीदेवीको दुःख, संघर्ष र सफलताबारे राजकरण महतोले गरेको कुराकानी :

तपाईं ‘बोक्सी’ आरोपविरुद्धको जनचेतना अभियानमा कसरी लाग्नुभयो ?
म एक अक्षर पनि पढेको छैन। मलाई पहिला त्यति ज्ञान थिएन। बुहारीले घरभित्रै घुम्टोमा लुकेर बस्नुपर्ने परम्परा गाउँमा थियो। घरबाटै लडेर म घुम्टोबाहिर निस्किएँ। ३० वर्षसम्म गाउँमै स्वंयमसेविकाका रूपमा काम गरेँ।  गर्भवती, सुत्केरी र बच्चाहरूको हालखबर सोध्दै टोलटोल हिँड्थें। देशको सेवामा लागिरहँदा मलाई गाउँलेले ‘मरनीदेवी डाइन (बोक्सी) हो’ भनेर मार्न खोज्यो। समुद्रमा पानी भरेझैं यो घटनाले मनभरि पीडा भरियो। अब चुप लागेर बस्नु हुँदैन। म चुप बसे अरू दिदीबहिनीले पुस्तौंपुस्तासम्म भोग्नुपर्छ भनेर बोक्सी आरोपविरुद्ध जनचेतना फैलाउन कम्मर कसेर लागेँ। 

जनचेतना फैलाउन के गाह्रो भएन ? 
यो काम गर्न सजिलो छैन। मानिसहरू अझै बोक्सी हुन्छ भन्छन्। मैले हुँदैन भन्छु। तर, पत्याउँदैन। समाज अन्धविश्वासको चक्करमा फस्नुको मूल कारण शिक्षाको कमी हो। ज्ञानको ज्योति जुन दिन समाजभरि फैलिन्छ त्यो दिन अन्धविश्वासको जरो उखेलिन्छ। म यसकै लागि लडिरहेको छु। 

कस्तो अवस्थामा बोक्सी आरोप लगाइन्छ ?
जवानीमा जसको घरवाला (श्रीमान्) बित्छ उसलाई बोक्सीको दोषी नजरले हेर्न थाल्छ। उसले श्रीमान् खाएर डाइन सिकी भन्न थाल्छ। गरिबले अलिक मेहनत गरेर धन जोड्यो भने पनि त्यो घरको महिलालाई डाइन भन्छ। डाइन सिकेर अरूकै घरबाट तानेर सम्पत्ति ल्यायो भन्छन्। यो कुरा झुटो हो।

समाजमा महिलाको अवस्थामा कस्तो देख्नुहुन्छ ?
बच्चा हुँदा आमाबुवाको बन्धनमा बस्नुपर्ने। विवाह भयो श्रीमान्को अन्डरमा बाँच्नुपर्ने। बुढेसकाल लाग्यो छोराछोरीले हेला गर्ने। त्यसमाथि कसैको श्रीमान् बित्दा त झनै पतिलाई फलानोले खाई भनेर घर र समाजबाट बोक्सी आरोपमा यातना खेप्नुपर्ने। महिलालाई सहज छैन।

तपाईंले आफूप्रति गाउँ, समाजको दृष्टिकोण कस्तो पाउनुहुन्छ ?

महिलासम्बन्धी कार्यक्रममा बोलाउँछन्। गाउँमा माया गर्ने मान्छेहरू धेरै छन्। बोक्सी आरोपविरुद्धको कानुन बनेपछि कसैले कसैलाई कमै डाइन भन्छ। तर, समाजमा कुरा काट्न छोडेको छैन। मलाई बोक्सी भनेको जुन दिन सुन्छु त्यो दिन जोसुकै होस् जेल हाल्छु। कानुन बनाएँ मैले नाच्छ को ? मेरो माथि घटना भएपछि बोक्सी कसुर गर्नेविरुद्धमा सरकारले कानुन बनायो। 

मधेसका महिलाले अझै घरबाहिरको संसार देख्न पाएका छैनन्। घुम्टोभित्रै छन्। यो पनि एक प्रकारको परम्पराले गरिरहेको हिंसा नै हो। गरिब, एकल महिलालाई समाजमा बाँच्न अझै कठिन छ। कसैको भैंसीले दूध नदिए, कोही बिरामी भए, कसैको प्रगति भएन भने निर्धा, गरिब र एकल महिलालाई बोक्सी भन्दै कुटपिट गर्छ। मलमूत्र कोच्याउन पछि पर्दैन।
ममाथि घटना के भयो, सबै अकिल (बुद्धि) भगवानले खोलिदियो। मलाई देखेपछि अहिले पनि आमाहरूले अचरा (साडीको फेर)ले छोप्छ। आज छोप्छ, ठूूलो भएपछि गाउँमा हिँड्छ कि हिँड्दैन ? त्यो दिन उनीहरूले कहाँ राख्छ बच्चालाई ? केही गाउँलेले यस्तो गर्छ। धेरै महिलाले गर्भमा बच्चा भएपछि मलाई जानकारी दिन्छ। म स्वंयमसेवी भएर काम गरें।

तपाईंले अहिले पनि स्वंयसेविका भएर काम गर्दै हुनुहुन्छ ?
अलिहे म बुढी भएँ। अब हिँड्न, खट्न सक्दिनँ। ३० वर्षजति स्वंयमसेविकाको काम गरेँं। अहिले कान्छी बुहारी ललितालाई स्वयंसेविकाको पद हस्तान्तरण गरेको छु। त्यै पनि मान्छेहरू मलाई बच्चा, गर्भवती महिला तथा सुत्केरीका बारेमा जानकारी गराउँछन्। त्यो सूचना बुहारीलाई दिन्छु। ऊ सेवा दिन घरमै पुग्छ। 

स्वंयसेविका भएर सेवा गर्दा कस्तो अनुभूति भयो ?
खुसी लाग्छ। कमाई हुनु नहुनु आफ्नै ठाउँमा हो। आत्माले जनताको सेवा गरेँ। गाउँलेले मलाई दुःख दियो। तर, मैले कसैलाई बुराई (खराब) सोचिनँ। सबैभन्दा ठूलो भगवान् छ। त्यसैको बलमा म अघि बढिरहेको छु। मलाई मान्छेले बलजोरी (जबरजस्ती) बोक्सी बनायो। यत्रो हुँदा पनि अबुझहरूले मलाई बोक्सी भन्छ। त्यसले मन पोल्छ। मैले थुप्रै बच्चा र आमालाई औषधि खुवाएर स्वस्थ नागरिक बनाएँ। यो मेरो जीवनको महत्वपूर्ण उपलब्धि र सम्पत्ति हो।

तपाईं कसरी स्वयंसेविका बन्नुभयो ?
एक जना स्वास्थ्यकर्मीले मलाई महिला स्वंयमसेविकामा राख्नुभयो। श्रीमानसँग नसोधेर नै हुन्छ भनिहाले। थाहा पाउनु भएपछि के हुन्छ भन्ने डर लाग्यो। म त्यतिखेर त्यस्तै ३२ वर्षको थिएँ होला। बच्चा र आमाको सेवा गर्दा पुन्य हुन्छ भनेर डाक्टरले भनेर जानुभएको छ। यो सुनेर उहाँ (श्रीमान्)ले जान अनुमति दिनुभयो। 

पहिला नपढेको मान्छेलाई पनि जान्ने र सक्रिय छ भने स्वंयमसेविका राख्थ्यो। अनपढ भएकाले सुरुमा काम गर्न धेरै कठिन भयो। डाक्टर र नर्सले भनेको कुरै नबुझ्ने। तालिममा जरी सिकाइन्थ्यो, त्यसैगरी गाउँमा खबर सुनाउँथेँ। लगातारको तालिमपछि खोप दिने समय, भिटामिन ख्वाउने तालिकाबारे बुझ्न थालें। एक पैसा पनि तलब हँुदैनथ्यो त्यति खेर। एक दिन तालिममा गएको ४० रुपैयाँ पाइन्थ्यो। खोप चलेको दिनको सय रुपैयाँ भत्ता दिइन्थ्यो।

बोक्सी कसुरविरुद्धको कानुनबारे तपाईंलाई के थाहा छ ?
महिलालाई बोक्सी भन्ने ? अन्याय गर्ने ? यस्तो गर्ने जेल जान्छ। दण्ड पनि लाग्छ। जनचेतनाका लागि धेरै पटक प्लेन चढेर काठमाडौं गएँ। हाकिम सा’बहरूले पहिला पानी मागेर मेरो हातबाट खान्छन्। म बोक्सी भएको भए उनीहरू मर्थे नि।

२० वर्षअघि तपाईंलाई बोक्सी आरोप लगाएर गाउँलेले निर्मम ढंगले कुटपिट गरेका थिए। उक्त घटनालाई तपाईं कसरी स्मरण गर्नुहुन्छ ?
मैले दुःख भोगेको कुरा देश विदेश सबैले जानिरहेको छ। मरनीलाई कुन रंगको कुटाइ लाग्यो ? के बित्यो ? मलाई मात्रै थाहा छ। कुटाइले टाउको, निधार र शरीरभरि घाउ थियो। त्यतिखेर चार दिनसम्म मैले केही थाहा पाइनँ। त्यो घाउ अझै कहिलेकाहीँ बल्झिन्छ। टाउको दुख्छ।

अहिले तपाईंको अवस्था कस्तो छ ?
अब म बुढी भएँ। जीवनमा राम्रोसँग कसरी बस्ने खाने सोच्दै छु। सरकार पनि मेरो नाउँ बिर्सिन्छ। किन सुन्दैन ? मेरो नामले इन्जीओवला (एनजीओ)हरू लाखीखाँकी (धनी) भयो। उनीहरू मलाई भजाएर बजेट ल्याएर लुकाउँछ। 

यो कुरा कसरी थाहा पाउनुभयो ?
विदेशीले मलाई क्यान्डा (क्यानाडा) घुमाउन टिकट पठायो। मरनी सिरियस बिरामी छ भनेर ढाँटेर इन्जिओवला (एनजीओ)हरूले आफ्नो परिवारलाई पठायो। जिल्लामा गएपछि हाकिम साबहरूले भोज खुवा भन्यो। केको भोजभन्दा तपाईं क्यान्डा गएर आउनुभएको होइन भन्यो। त्यसपछि बल्ल मलाई थाहा भयो। मेरो नाउँमा अरूले विदेश घुम्यो।

तपाईंलाई कसले किन बोक्सी आरोप लगाएको थियो ?
हाम्रो समुदायमा पूजा गरेर ग्रहदशा कटाउने चलन छ। मैले पनि परिवारको दीर्घायु, सुखका लागि घरमा महादेवको पूजा गरेको थिएँ। गाउँको एक जना सानी छोरी मेरो घरमा बिहान ११ बजेतिर पैसा माग्न आएको थियो। उसको बुुवाले मेरो घरबाट दूध किनेर लगेको थियो। अघिलो दिन पैसा दिँदा हिसाबभन्दा बढी रुपैयाँ मेरो माथि खसेको थियो। त्यो माग्न आउँदा मेरो आँगनमा पूजा गरिएको ठाउँमा बच्चीको खुट्टो लाग्यो। मैले पूजा गरेको ठाउँ हो, किन फूललाई कुल्चेको, ढोग भने। बच्चीलाई फिर्ता रकम दिएँ। राती पूजामा खटिदाँ म थकित भएको थिएँ। त्यो दिन धेरै घाम थियो। बिहानै महादेव पूजाको फूल, अगरबत्ती नदीमा सेलाउन जान सकिनँ। साँझ सेलाउन जान्छु भन्दै पूजा गरेकै ठाउँमा ती सामग्री छोपी दिएँ। अनि म ओछ्यानमा पल्टिएँ।

त्यसपछि के भयो ? 
त्यो बच्ची घर पुगेपछि मरनीले पुजेको थियो, मलाई ढोग्न लगायो भनेर गाउँभरि भनेछ। त्यसपछिका दिनमा गाउँमा कोही बिरामी भए, मरनीले टुनामुना लगायो भन्दै आरोपमाथि आरोप लगाउन थाले। कसैलाई टाउको दुख्यो कि मरनीले जादु चलायो भन्दै बोक्सीको नजरले हेर्न थाले। दिन बित्यो, महिना सक्यो, साल लाग्यो। त्यसपछि मलाई गाउँलेले बोक्सी भनेर नामकरण गरिदियो।

बोक्सी आरोपले तपाईंमा कस्तो प्रभाव पर्‍यो ?
बजार जाँदा मेरो पछाडि मान्छेहरूले सीआईडी गर्न थाल्यो। वनमा जाँदा पिछा गर्न थाल्योे। मरनी कहाँ जान्छ, के गर्छ ? गाउँलेले बाटो ढुक्न थाल्यो। दसैं आउँदा त मानिसहरूले झनैं निगरानी गथ्र्यो, के गर्छ भनेर समात्ने र रामधुलाई गर्ने योजना बनाउँथ्यो। जे गर्छ उपरवाला मालिक (भगवान्)ले गर्छ। म बोक्सी भए पो ! मैले आफ्नो काम गरेर घर फर्किन्थें। अरूसँग के मतलब ?

तपाईंलाई नभएको आरोप लगाउने अवस्था कसरी आयो ?
घटनाअघि मेरो छोरो वीरेन्द्रले विवाह गर्‍यो। जन्ती घुमेर आएपछि भगवानको पूजा गर्ने चलन छ। मैले घरमा सत्यनारायण भगवान्को पूजा लगाएको थिएँ। गाउँलेहरू मेरो आँगनमा पूजा हेर्न आएको थियो। छिमेकी जोगिन्द्र साहको १० वर्षीय छोरो सञ्जय पनि आएको थियो। पूजामा आरतीका लागि कपुर चाहिने भयो। बच्चालाई अचरा (आँचल)मा बाँधेर राखेको दुई टकियाँ दिएर पसलमा पठाएँ। उसले कपुर किनेर आयो। एकै छिनमा बेहोस भएर आँगनमै ढल्यो। उसको शरीर टाइट भयो। बच्चा बेहोस हुनुको कारण थियो मिर्गी (छारे रोग)। मिर्गी छोडाउन कसैलाई आउँदैन थियो। एक जना छिमेकीले नाक र मुख छोपेर निको पार्न खोज्यो। त्यसपछि अस्पताल लाँदालाँदै त्यो बच्चाको मृत्यु भयो। 

त्यसपछि ‘मरनी बोक्सी छ। उसैले तिम्रो छोरो मार्‍यो’ भनेर छिमेकीले जोगिन्द्रलाई उस्कायो। मृत्युको कारण खोज्न जानुको साटो उसले धामीझाँक्रीलाई घरमा बोलायो। भारतबाट धामीझाँक्री बोलाउन गाउँबाट सहमतिपत्रमा हस्ताक्षर संकलन गरियो। जोगिन्द्रको पक्षमा हुनेले धामी ल्याउने सहमति दियो। अरूले दिएन। 

म त्यति खेर स्वंयमसेविका नै थिएँ। सबै बच्चालाई भिटामिन ए, पोलियो थोपा, जुकाको औषधी खुवाउँथेंँ। गर्भवती तथा सुत्केरीलाई अस्पताल पठाउँथेँ। म बोक्सी भएको भए कसैको बच्चालाई जति खेर पनि मार्न सक्थें नि ! बुझ्नेले सहमति दिएन। तर, अन्धविश्वासमा रुमलिएकाहरू मलाई बोक्सी साबित गर्नतिर लागे। मान्छे कोही बोक्सी हुन्छ ? जमाना कहाँबाट कहाँ गइसक्यो, हामी अझै जंगली युगमै छौं।

घटनाक्रम कसरी अघि बढ्यो ?
इन्डियाबाट धामीझाँक्री गाउँमा ल्याइयो। राती धामीले मरनी डाइन छैन भन्यो। तर, छिमेकीले जसरी हुन्छ उसलाई बोक्सी छ भनेर निकाल्नै पर्छ भन्ने अडान राखे। भोलिपल्ट बिहान मलाई बोक्सी घोषणा गर्न जुक्ति निकाल्यो। गाउँमा पूजा लगाउने कुरा भयो। त्यहीअनुसार गाउँमा डिगडिगियो (झ्याली) पिटाइयो। भोलि जो प्रसाद खान आउँदैन उसलाई ५० हजार जरिवाना गरिनेछ भनियो। म त भाग्ने कुरै थिएन। मलाई नै बोक्सी ठहर गर्न यत्रो तानाबाना बुनिएको थियो।

पूजा कहाँ लगाइएको थियो ?
 गाउँको स्कुलमा पूजा लगाइयो। त्यो दिन खाना खान ढिलो भएको थियो। बिहानको ११ बज्दै थियो। पूजा सकिएपछि मलाई प्रसाद खान पटकपटक बोलाउन मान्छे आयो। मैले खाना खाएर आउँछुु भनें। मानेनन्। भोकै स्कुलमा पुगेँ। निकै घाम लागेको थियो। गाउँभरिका महिला लाम लागेको थियो। प्रसाद खाएर कोही बोक्सी होइन भनेर लिएको परिक्षा पास हुन दिदीबहिनीहरू पुगेका थिए। त्यो भीडमा म पनि मिसिएँ।

‘पहेलो साडी लगाएको महिला नै मरणी हो’ भनेर गाउँलेले धामीझाँक्रीलाई चिनायो। अरूका लागि रातो कपडाले छोपेर राखेको आरीको प्रसाद दियो। मलाई भने सानो माटोको भाँडोको प्रसाद दियो। मैले खाएँ। दुई खाले प्रसाद वितरण गरेको मेरो जेठी बुहारीले देख्यो। गहुँ, सखर मिसाएर बनाइएको प्रसाद भोकै पेटमा खाएँ। मलाई त्यही बस्नु भन्यो। म ‘किन यहाँ बस्ने, बस्दिनँ। खाना खाएरको आएको छैन’ भनेर त्यहाँबाट घर हिँडे। 

मलाई बोक्सी सावित गर्न लिएको परीक्षापछि धेरैले स्कुलमा कुरो खोलेका थिए। स्वंयमसेविका साथीहरूले पनि बोक्सी हो कि होइन भनेर जाँचेको थाहा भयो। म बिडी खान्थेंँ। त्यसैमा मलाई मन्त्र लगाएर जाँच गरेको सुन्दा अच्चममा परें। स्कुलमा भीडभन्दा टाढा गएर साथीहरूसँग कुरा गर्दा मरनी बोक्सी ठहरियो भाग्दै छ भनेर हल्ला फैलायो।

मलाई लखेटन थाल्यो। त्यहाँका केही गाउँलेले बचायो। त्यहाँबाट म घर फर्केर आउँदा मेरो आँखा देख्न छोड्यो। बेहोस् भएँ। मेरो होस् हबासै हरायो। भुइँमा लडें। उता स्कुलमा बोक्सीकै बिषयमा लिएर मरापिटी (कुटपिट) सुरु भयो। छिमेकीले मरनी डाइन नांगै आगनमा नाचिरहेको छ भने घरको छतबाट हल्ला गर्‍यो। मरनी घरबाट भाग्छ भनेर दैलोमा मान्छे खटायो। त्यो भीड मेरो घरको दैलोको ढोका तोडेर भित्र पस्यो।

त्यो भीडले तपाईंलाई के गर्‍यो ?
मलाई घरबाट निकालरे कोखामा हान्न थाल्यो। मेरो आँखा खुल्यो। मलाई कुटिरहेका मान्छेहरूलाई चिनें। मलाई कुटपिट गर्दै पञ्चाय कार्यालय (तत्कालिन गाविस) नजिकैको पोखरी किनारमा लग्यो। जहाँ पायो त्यही कुट्न थाल्यो। छाताको नोखले मेरो आँखामा हिर्कायो। त्यतिकैमा प्रहरीको गाडी आयो। आँखाको छेउबाट रगत बग्दै थियो। महिलाहरूले आँचलमा भिजाएर मेरो मुखमा पानी हालिरहेको थियो। प्रहरीले मलाई कुटनेहरूलाई पक्रेर भ्यानमा हाल्यो। थानामा लग्यो। मलाई सिडिओले जलेश्वर अस्पताल पठायो। गाउँबाट मान्छेको भागाभाग भयो।

तपाईंले आफूलाई कुट्नेहरूविरुद्ध प्रहरीमा उजुरी गर्नुभयो कि भएन ?
दर्जनभन्दा बढी मान्छेहरूविरुद्ध मैले प्रहरीमा उजुरी गरेँ। उनीहरू धरौटी राखेर छुट्यो। मेरो मुद्दामा कसलाई कारवाही भयो, मलाई आजसम्म थाहा छैन। सबै त्यसै घुमिरहेका छन्।

घटनापछि अरूले तपाईंलाई के भने ? 
मलाई देशभरिकाले चिन्न थाल्यो। गाउँमा काठमान्डुल (काठमाडौं) र जिल्लाबाट धेरै पत्रकार आयो। मेरो फोटो खिच्यो। पत्रिकामा मेरो दुःख छाप्यो। महिना दिनसम्म पत्रकारहरूले मेरो खबर लेखिरह्यो। अहिले दुनियाँले मेरोबारे जान्छन्, यो मेरो जीवनको ठूलो खुसी हो।

अरू दिदीबहिनीलाई के सल्लाह दिनुहुन्छ ?
ममाथि जुन प्रकारको घटना भयो, यस्तो घटना कुनै महिलालाई नहोस्। बोक्सी आरोपमा कसैले केही गरे आवाज उठाउन भन्दै आइरहेको छु। सभासम्मेलन होस् या बैठक समय लिई मैले आफ्नो घटना सुनाएर अरूलाई त्यसबिरुद्ध जुटन भन्दै हिँडिरहेको छु। २० वर्षको समयलाई फर्केर हेर्दा ममाथि घटना हुँदा बोक्सीविरुद्धको कानुन बन्यो। कुनै महिलामाथि डाइन भनेर होच्याउने, कुटपीट गर्ने, मलमुत्र खुवाउनेलाई कारबाही हुन्छ। 

आफन्तले पनि बोक्सी हो कि होइन भनेर जाँचे। बोक्सी ठहरिए काटेर घरमै तरहारा खनेर गाड्नेसम्म भने। त्यो कुरो सम्झिँदा आँसु आउँछ। घरमा बोलाएर किरिया (कसम) खुवायो। छोरा लगाएर किरिया खाएर भनें, ‘म बोक्सी होइन’ अनि मृत्युको मुखबाट उम्के। कसम नखाएको भए मलाई विष पिलाएर उनीहरूले माथ्र्योे। एन्डोसेल भन्ने विष किनेर ल्याएको मैले देखेको थिएँ। 

बोक्सीबिरुद्धको कानुन त बन्यो, पीडितले न्याय पाइरहेका छ कि छैनन् ?
बोक्सी आरोपको घटना अझै पनि गाउँमै पञ्चायती गरेर लुकाइन्छ। यस्तो हुनु हँुदैन। यस्यो भयो भने घटना गराउनेहरूको मनोबल बढेर जान्छ। पञ्चहरूले कानुन बुझ्नुपर्छ। जसरी आफूलाई कसैले कुबोली बोल्दा मन दुःख, कुट्दा दुःख छ। अरूलाई पनि त्यस्तै पीडा हुन्छ भने बुझ्नुपर्छ। मेरो आत्मा जस्तै अरुको आत्मा हुन्छ सबैले बुझ्न जरुरी छ। म यही चाहिँ रहेकी छु। अरुलाई अहिले दुःख दिदाँ  मर्दा नर्कमा बास हुन्छ। सहयोग र माया गर्दा जिउँदोमै स्वर्गमा पुगेको आनन्द मिल्छ। हामीले कसैलाई दुःख दिन्छौ भने त्यो उपरबालाले हिसाब गरिरहेको  हुन्छ। त्यसैले कसैले कसैलाई अन्याय गर्नु हुँदैन। मान्छेले मान्छे मारेर के पाउँछ ? मावन जीवन धेरै अनुपम छ।

तपाईं त निर्वाचनमा उम्मेदवार पनि बन्नुभयो। कसरी अवसर पाउनुभयो ?
२०६४ सालमा सबै जनाले चुनावमा लडाइदियो। जनमोर्चा नेपाल पार्टीबाट आफ्नै क्षेत्रबाट संविधानसभा सदस्य चुनाव लडेको थिएँ। चुनाव चिन्ह तारा थियो।  टोलटोलमा एक महिनासम्म भोट मागेंँ। मलाई हराउन विपक्षी पार्टीका नेताहरूले गुण्डा खटायो। बाटोमा बाँसको भाँटा लिएर हामीमाथि आक्रमणको प्रयास भयो। मधेसी भएर पहाडी पार्टीमा लागेको भन्दै मलाई मार्ने योजना बनाएको थाहा पाएँ। यो खबरको प्रहरीप्रशासनले पनि सुइको पायो।

त्यसपछि के भयो ?
प्रशासनले हामीलाई खाजा खुवाएर राति ८ बजे सिमरदहीबाट स्कर्टिङ गरी महोत्तरीको बर्दिबास पठायो। चुनावमा मेरो साढे चार सय भोट आयो। जित्न सकिनँ। तै पनि म धेरै खुसी भएको थिएँ। मलाई सबैले चिन्यो। नेताहरूले बधाई दियो। असुरक्षाका कारण १ महिना बर्दिबासमै बसें।

तपाईंको नाम कसरी मरनी राखिएको रहेछ ?
मेरो विवाह ८ वर्षकै हुँदा भयो। बुवाको नाम लक्ष्मी साह र आमाको नाम रामसखी देवी हो। पाँच सन्तान छोरो जन्मेपछि एकपछि अर्को बित्दै गयो। त्यसपछि छैटौं सन्तानका रूपमा म छोरीका रूपमा जन्मेंँ। मेरो दाजुहरू सबै मरेको कारण यो पनि बाँच्दैन भनेर रिसाएर मरनी नाम राखियो। अर्काको घर नपठाए मरनी पनि अरु छोराजस्तै मर्छ भनेर छिटो अरूको घर पठाउन मेरो विवाह गरियो। त्यसपछि जन्मेका २ भाइ र एक बहिनी बाँचेंँ।

बाल्यकालमै विवाह भएको कसरी थाहा पाउनुभयो ?
विवाह गरेर ससुराली (घर) आउँदा मैले केही जानिनँ। पाँच वर्षपछि बल्ल मैले थाहा पाए की मेरो विवाह भयो। बुझ्ने भएपछि बुवाआमासँग झगडा गरेँ। मैले एक अक्षर पढ्न पनि पाइनँ। 

त्यति बेला छोरीलाई पढाउने गरिन्थ्यो कि थिएन ?
पहिले बेटी पढ्नु हँुदैन भन्थेंँ। त्यही रुढीवादी संस्कारको सिकार भएँ। गरिबका छोरीहरू स्कूल जाने ? अनहेर हुन्छ , धनीहरू भन्थें। तर, त्यही धनीले आफ्ना छोरीहरू स्कुल पढ्न पठाउँथेँ। पहिला त्यस्तो जवाना थियो।

बुढेसकाल लाग्यो, अब कसरी जीवन चलाउनुहुन्छ ?
मेरो जीवनबारे सरकारले सोच्नुपर्छ। मरनीको जिन्दगी कसरी चल्छ ? कसरी बस्छ ? म एक गरिब परिवारको छु। १३  धुर घडेरी र चार कठ्ठा खेत छ। १२ जनाको परिवार छ। वर्षमा ९ महिना खान पुग्दैन। वृद्ध भत्ता पनि पाउँदैन। मेरो ६४ वर्ष उमेर भयो, ७० वर्ष नपुगी पाइँदैन। मेरो लागि काठमाण्डुलबाट पाँच पैसा पनि राहत आएन। अब कमाउन सक्दिनँ। सरकारले मेरो नाममा किन सोच्दैन, विचार गर्दैन ? 

परिवार कसरी चल्दै छ ?
जेठो छोरो विनोद कमाउन विदेश गएको छ। कान्छोराको छोरो काठमाडुलमा नारिवल बेच्दै छ। ऊ केही महिना पहिले एक्कासि बिरामी भयो। उसको उपचारमा ७ लाख लाग्यो। घडेरी र खेत बैंकमा राखेर ऋण लिएपछि बल्लतल्ल बाँच्यो। ऋण कहाँबाट तिर्ने ? चिन्तामा छु। नातिनी भरखरै १० कक्षा पढिरहेको छ। स्टाफ नर्स पढ्ने भन्छे। ऋण तिर्ने कि नातिनी पढाउने समस्यामा छु। मैले नपढे पनि छोराछोरी नातिनातिनालाई पढाइरहेको छु। 

-अन्नपूर्ण पोस्टबाट