• The Public Today
  • भारत:दैनिक संक्रमितको संख्या २५ हजारमा झर्‍यो


    एजेन्सी,भदौ २९ गते । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या घटेर झण्डै २५ हजारमा पुगेको छ। सरकारी अधिकारीहरुले मंगलबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ संक्रमित थपिएका हुन्।

    भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमितहरुको संख्या लगातार कमी हुँदै आएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ संक्रमित थपिएका थिए। त्यसैगरी, आइतबार २८ हजार ५९१ जना र शनिबार ३३ हजार ३७६ जना संक्रमित थपिएको तथ्यांक सार्वजनिक गरिएको थियो।

    पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ३३९ जनाको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये केरला राज्यमा मात्रै ९९ जनाको मृत्यु भएको छ। केरलामा थप १५ हजार ५८ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या तीन करोड ३२ लाख ८७ हजार ५७९ पुगेको छ भने कुल मृतकको संख्या चार लाख ४३ हजार २१३ पुगेको छ।

    पछिल्लो २४ घण्टामा झण्डै २५ हजार जना नयाँ संक्रमित हुँदा ३७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन्। नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकहरुको संख्यामा झण्डै १२ हजारले बढी देखिएको छ। दैनिक नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या बढी भएकाले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा कमी आएको छ।

    पछिल्लो विवरणअनुसार भारतमा अहिले तीन लाख ६२ हजार २०७ जना संक्रमित अवस्थामै रहेका छन्। यो संख्या दैनिक घट्दै गएको छ। भारतमा अघिल्लो दिन तीन लाख ७४ हजार २६९ जना संक्रमित अवस्थामै रहेको तथ्यांक सार्वजनिक गरिएको थियो। यो संख्या ८१ दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन्।


    क्याटेगोरी : अन्तराष्ट्रिय, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस