धनुषामा फुटबल प्रतियोगिता : उद्घाटन खेलमा उदयपुरमाथि काभ्रेको रोमाञ्चक जित

द पब्लिक टुडे
ढल्केवर, असोज ३ गते ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बृहत शान्ति फुटबल प्रतियोगिता—२०७८ सुरु भएको छ ।

इन्द्रजात्राको अवसरमा चारनाथ युवा क्लवको आयोजनामा धनुषाको विरेन्द्रबजारमा उक्त फुटबल प्रतियोगिता सुरु भएको हो ।

शनिवार एक समारोहबीच गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख रामबाबु यादवले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उद्घाटन खेलमा तेमलाल फुटबल क्लब काभ्रे र बेलासोत युवा क्लब उदयपुर भिडेका थिए । पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न नसकेको यस खेलमा खेलको अन्तिम समयमा काभ्रेले गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा काभ्रेलाई खेलको ६६ औं मिनेटमा मिक्की मगरले गोल गर्दै जित दिलाएका हुन् । ६६ औं मिनेटमा मिक्कीले गोल गर्नु अघि दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि बललाई पोस्टको दिशा दिन सकेका थिएनन् ।

शनिवारको खेलमा आफ्नो टिमलाई जित दिलाउन सफल भएका मिक्की नै म्यान अफ दी म्याच घोषित भए । उनलाई आयोजकले १५ सय नगदसहित कप प्रदान गरेका थिए ।

विगत २९ वर्षदेखि चारनाथ युवा क्लवले इन्द्रजात्राको अवसरमा फुटबल प्रतियोगिता गराउँदै आएका छन् ।

यस वर्षको प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सिन्धुली, सुनसरी, उदयपुर, बारा र काभ्रे गरी आठवटा टिम सहभागी भएको आयोजक चारनाथ युवा क्लवका अध्यक्ष संतोष जयसवालले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार शिल्डसहित ५१ हजार नगद र द्वितिय पुरस्कार शिल्डसहित ३१ हजार नगद राशी राखिएको छ ।

सो फुटबल प्रतियोगिता असोज ९ गतेसम्म हुने अध्यक्ष जयसवालले जनाए ।